नर्सिङ्ग : पढाई नेपालमा, रोजगारी बिदेशमा

1.1K

नर्सिङ्ग : पढाई नेपालमा, रोजगारी बिदेशमा


मदन शर्मा/ बुटवल, माघ । पछिल्लो समयमा नर्सिङ्ग विषय पढ्ने विद्यार्थीहरु बाहिरी देशमा जाने एउटा लहर नै आएको छ । इन्टरमिडिएट गरेका अधिकांश युवतीहरुमा नर्सिङ्ग विषय पढेपछि अस्ट्रेलिया र अमेरिका जस्ता देशहरुमा गएर काम गर्ने, पैसा कमाउने र यसो गर्दा सजिलो माध्यमबाट जीवनयापन गर्न सकिन्छ भन्ने मनोविज्ञानले काम गरेको छ ।

अन्य शहरमा जस्तै रुपन्देहीमा पनि नर्सिङ्ग विषय पढाई हुने केही कलेजहरु रहेका छन् । जसमध्ये विएस्सी नर्सिङ्ग भैरहवा मेडिकल कलेज, सन्जीवनी कलेज बुटवल र देवदह मेडिकल कलेजमा पढाई हुन्छ । यस्तै स्टाफनर्सको पढाई भैरहवा मेडिकल कलेज, मायादेवि कलेज, सन्जीवनी कलेज र देवदह मेडिकल कलेजमा हुंदै आएको छ ।

के कति कारणले नर्सिङ्ग पढ्ने युवतीहरुमा यस्तो मनोविज्ञानको विकास भएको छ ? र किन नेपालमै बसेर काम गर्ने, आफ्नो घर दैलोमै बसेर समाज सेवा गर्ने, स्वदेशमै स्वास्थ्य क्षेत्रमा योगदान दिने जस्ता भावनामा कमि आएको छ ?
पछिल्लो समयमा युवतीहरु नर्सिङ्ग विषयप्रति आकर्षित भए पनि नेपालमा नर्सिङ्ग पढेका विद्यार्थीका लागि समयसापेक्ष सेवासुविधा नभएका कारणले गर्दा बिदेश जान लालायित देखिएको सन्जीवनी कलेज अफ मेडिकल साईन्सेजकी प्रधानाध्यापक सुमित्रा कोईराला बताउनुहुन्छ ।

‘लाखौं लगानी गरेर विद्यार्थीहरु नर्सिङ्ग पढ्न आउंछन् तर पढाई सक्दाको दिन योग्यता र क्षमता अनुसार ढुक्कसंग सबै सेवासुविधा सहित काम गर्न पाईन्छ भन्ने खालको परिस्थिति नेपालमा छैन । साथै विद्यार्थीले आफुले पढ्दा लागेको लगानी पनि उठाउन सक्ने परिस्थिति समेत नभएकाले नर्सिङ्ग पढेका धेरै जसो युवतीमा विदेश नै जानुपर्छ भन्ने मनोविज्ञानले काम गरेको पाइन्छ ।’ प्राचार्य कोईरालाले भन्नुभयो ।

नेपालका निजी तथा सरकारी अस्पतालमा दिनरात नभनी काम गरे पनि काम अनुसारको प्रयाप्त सेवासुविधा (तलव, उचित भत्ता, कामको सुरक्षा, आदि) उपलब्ध नहुंदा नर्सिङ्ग पढेका धेरै जसो युवतीहरु बिदेश तिर आकर्षित हुने गरेका छन् ।

अर्कोतर्फ रुपन्देही जिल्लामा संख्यात्मक रुपमा नर्सिङ्ग पढेका विद्यार्थीहरु धेरै भएपनि उनीहरुको गुणस्तरका बारेमा भने टिकाटिप्पणि हुने गरेको सुनिन्छ । बिएस्सी नर्सिङ्ग गरेका विद्यार्थीहरुमा किताबी ज्ञान राम्रो भए पनि प्राविधिक ज्ञानको कमिले गर्दा अनुभवि स्टाफ नर्स र अनमी गरेकाहरुको खोजी बढि हुने गरेको लुम्बिनी अञ्चल अस्पतालकी मेट्रोन दुर्गा पौडेल बताउनुहुन्छ ।


‘भर्खरै पढाई सकेर आएका नर्सहरुलाई ४÷५ महिना सिकाउनै लाग्छ । यसका लागि प्रत्येक कलेजले आफ्नै कलेजमा प्राविधिक अस्पताल राखेर विद्यार्थीहरुलाई प्राविधिक बिषयमा निपुण बनाउन सके नेपालमै राम्रो जागिर पाईने र राम्रो जागिरको लागि विदेसिनु पर्ने बाध्यताको अन्त्य हुन्छ ।’ मेट्रोन पौडेलले भन्नुभयो– ‘आफ्नो अस्पतालमा किताबी ज्ञान दिएर २÷३ महिना अन्य बाहिरी अस्पतालको प्राविधिक ज्ञानले मात्र नर्सहरु योग्य हुदैनन् ।’

‘सरकारी अस्पतालमा आउने नर्सहरु लोकसेवा पास गरेर आउने हुदां उनीहरु योग्य हुने र उनीहरुको तलव र अन्य सेवासुविधा पनि राम्रो छ । तर अन्य पाउनुपर्ने भत्तामा भने एकरुपता छैन । नर्सहरुले पाउने हेजार्ड भत्ता मासिक ३०० रुपैया मात्र छ जुन एकदमै न्यून हो ।’ मेट्रोन पौडेलले गुनासो गर्नु भयो ।

स्थानीय अस्पतालहरुमा स्थानीय कलेजमै पढेका नर्सहरुलाई प्राथमिकता दिएर काममा लगाउने वातावरण मिलाउन सकेमा पनि नर्सहरुलाई कामकै खोजीमा वाहिरी जिल्ला वा विदेश जानु पर्ने बाध्यात्मक अवस्थामा केही कमी आउन सक्छ । रुपन्देहीमा धेरै नर्स उत्पादन भएपनि बुटवल स्थित लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अधिकांश नर्सहरु पूर्वका जिल्लावाट सरुवा भएर आएका मेट्रोन पौडेलले बताउनु भयो ।

अर्कोतर्फ समयसापेक्ष रुपमा नर्सहरुको दरवन्दी नबढाईएका कारण अहिले कुनै पनि अस्पतालमा कार्यरत एउटा नर्सले २० देखि २२ जनासम्म विरामी हेर्नुपर्ने अवस्था छ । जसले गर्दा उनीहरुमा कामको भार संगै मानसिक तनाव जस्ता समस्या देखिने र कामको गुणस्तरमा कमी आउने गरेको छ । लोकसेवामा भएको कोटा प्रणालीले गर्दा एकातर्फ योग्य नर्सहरुले काम पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ स्वदेशमा योग्यता र क्षमता अनुसारको काम नपाए पछि उनीहरु विदेशको मुख ताक्न बाध्य हुनेगरेको अञ्चल अस्पतालकी मेट्रोन पौडेल वताउनु हुन्छ ।

बुटवलमा रहेका अधिकांश निजि अस्पतालहरुमा कार्यरत कतिपय नर्सहरुले योग्यता अनुसार सेवा सुविधा पाएका छैनन् भने कतिपय नर्सहरुलाई स्वयमसेवकको रुपमा काममा लगाईएको छ । काम पाएकाहरुको पनि ज्यादै न्यून तलव, भत्ता छ भने कार्यक्षेत्रमा सुरक्षाको अनुभूति छैन ।

यस्ता विविध समस्याले गर्दा उनीहरुमा नेपालको रोजगारी प्रति वितृष्णा जाग्नु र उपलब्धी केही नभएपछि बाहिरी देशतर्फ आकर्षित हुनु स्वभाविक भएको अञ्चल अस्पतालकी नर्सिङ्ग अधिकृत ज्योती पौडेलले बताउनुभयो । यसको निवारणको लागि प्रत्येक विद्यालयहरुमा एउटा नर्सको ब्यवस्था अनिवार्य गराउने, जसले गर्दा विद्यार्थीले नर्सको आवश्यक्ता र महत्व बुझने, नर्सहरुले कार्यक्षेत्रमा सुरक्षित महसुस गर्ने र उनीहरुलाई रोजगारीको पनि राम्रो वातावरण तयार हुने उहाँको सुझाव छ ।

नर्सिङ्ग पेशामा प्रयाप्त दरवन्दी नहुनु, योग्यता अनुसारको काम नपाउनु, तलब र भत्ता कम हुनु, यो पेशालाई सरकारले महत्वका साथ नहेर्नु र महिला स्वयं आफैले आफ्नो लागि आवाज नउठाएका कारण पनि यस्तो समस्या सिर्जना भएको प्रदेश ५ सामजिक विकास मन्त्रालयकी नर्सिङ्ग अधिकृत थुमा पुन बताउनुहुन्छ ।

यसको निवारणका लागि प्रदेश ५ ले स्वास्थ्य नीति बनाउने काम आगाडि बढाएको छ । स्वास्थ्य नीतिमा अहिले देखिएका सबै समस्यालाई समेटिने र प्रदेशमा भएका नर्सिङ्ग जनशक्तिलाई प्रदेश भित्रै खपत गर्ने नीति अवलमवन गरिने हुदा यस प्रदेशका नर्सहरुलाई अब रोजगारीकै खोजीमा बाहिर भौतारिनु पर्ने बाध्यताको अन्त्य हुने नर्सिङ्ग अधिकृत पुनले बताउनु भयो ।