नयाँ शक्ति संगठन सुदृणीकरण र राजनीतिक ध्रुवीकरण अभियानमा

623

नयाँ शक्ति संगठन सुदृणीकरण र राजनीतिक ध्रुवीकरण अभियानमा

बुटवल, २० मंसिर । नयाँ शक्ति पार्टी नेपालले प्रदेश पाँचमा संगठन सुदृणीकरण र राजनीतिक ध्रुवीकरण अभियान सुरु गरेको छ ।

पार्टीको केन्द्रीय संरचना निर्माण संगै प्रदेश तहमा समेत यहाँको आवश्यकताका आधारमा पार्टी गतिबिधि अंगाडी बढाउनुकासाथै पार्टीलाई समेत मजबुद बनाउने गरी संगठन सुदृणीकरण र राजनीतिक ध्रुवीकरणको अभियान सुरु गरिएको प्रदेश पाँचका संयोजक कमल खनालले बताउनु भयो ।

नयाँ शक्ति पार्टी नेपाल प्रदेश पाँचले बिहिबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरि पार्टीले अंगाडी सारेका गतिबिधिका बारेमा जानकारी गराउनुका साथै पार्टीले अवलम्बन गर्नुपर्ने कुराहरुमा पत्रकारसंग सुझाव लिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश संयोजक खनालले कुनै ठूला पार्टीसंग भन्दा पनि सामाजिक आन्दोलनमा लागेका व्यक्तिहरुलाई वैकल्पिक शक्तिका रुपमा उदाउँदै गरेको नयाँ शक्तिमा कसरी समाहित गराउन सकिन्छ भन्ने रहेको बताउनु भयो । त्यस्तै पार्टीलाई वैकल्पिक शक्तिका रुपमा कसरी स्थापित गराउन सकिन्छ, यहाँका जनताको जीवनस्तर कसरी सुधार गर्न सकिन्छ, त्यस्ता राजनीतिक एजेण्डा पार्टीले उठान गर्ने उहाँले बताउनु भयो ।

पार्टीले ‘पाँच महिना, पाँच काम र पाँच परिणाम’को अभियान अंगाडी सारेको बताउँदै प्रदेश समितिका प्रवक्ता मनिकर कार्कीले राजनीतिक संघर्षको एउटा श्रीङ्खला समाप्त भएपनि संविधानमा भएका व्यबस्थाहरु नागरिकले अनुभूति गर्न पाए÷पाएनन्, पार्टीको अवको संघर्ष त्यसतर्फ हुने बताउनु भयो ।

संविधानमा गरिएको व्यबस्था अनुसार भएको संघीयताको सिमांकन सिद्धान्तका आधारमा नभएको र व्यक्तिको तजविजका आधारमा भएको सिमांकनले मुलुकमा फेरी अर्को समस्या ल्याउन सक्ने नयाँ शक्ति पार्टीले औंल्याएको छ । त्यस्तै बाबुको परिचय नखुलेसम्म नागरिकता नपाउने व्यबस्था हुन नहुने पनि उसले उल्लेख गरेको छ ।

मुलुक संघीयतामा गईसकेपछि पनि प्रहरी प्रशासन, कर्मचारी, अदालत सबै पुरानै व्यबस्था अनुसार रहन्छ भने व्यबस्था परिवर्तनले मात्रै नागरिकले त्यसको अनुभूति गर्न नसक्ने प्रवक्ता कार्कीले बताउनु भयो ।

त्यस्तै कर्मचारीलाई राजनीति गर्ने छुट हुन नहुने, संवैधानिक आयोग, निर्वाचन प्रणाली सबै पुरानै व्यबस्थाले परिवर्तनको कुनै झल्को आउन नसकेको नयाँ शक्तिले औंल्याएको छ । कार्यक्रममा प्रदेशका प्रचार प्रसार तथा प्रशासन विभागका प्रमुख पंकज राईले मुलुकको समग्र परिवर्तनकालागि नयाँ शक्तिले वैकल्पिक शक्तिका रुपमा काम सुरु गरेको बताउँदै त्यस अभियानमा साथ र सहयोग गर्नकालागि प्रत्रकार, नागरिक समाज सबैलाई आग्रह गर्नुभयो ।

त्यस अवसरमा पत्रकारहरुले सो पार्टीले अहिलेसम्मका राजनीतिक परिपार्टी भन्दा माथि उठेर राजनीतिक सोच, बिचार र चिन्तनमा समेत परिवर्तन गर्न सुझाव दिएका थिए ।