एनबिआर फेसबुक ग्रुपले बाड्यो अनाथ बिद्यार्थीलाई न्यानो कपडा

327

एनबिआर फेसबुक ग्रुपले बाड्यो अनाथ बिद्यार्थीलाई न्यानो कपडा


बुटवल, पुस । सामाजिक सञ्जाल फेसबुक ग्रुप नेपलिज ब्रदर्श रुप (एनबिआर) ले ‘न्यानो बाँडौ, खुसी साटौं’ अभियान अन्तरगत देशका बिभिन्न बिद्यालयमा पुगेर अनाथ बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

अभियान अन्तरगत एनबिआरले शनिबार नवलपरासीको बर्दघाट–३ कर्मैया स्थित ज्ञानोदय प्राथमिक बिद्यालय र पाल्पाको तानसेन नगरपालिका बन्दिपोखरा स्थित गार्गी माध्यमिक बिद्यालयमा अध्ययन गर्ने अनाथ बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

नवलपरासीको बर्दघाट ३ कर्मैयामा आयोजित कार्यक्रममा सोही वडाका वडा अध्यक्ष रुद्रप्रसाद न्यौपानेले बिद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै सामाजिक सञ्जालको एउटा ग्रुपमा संगठित भएका युवाले चलाएको अभियान स्रहानीय रहेको बताउनु भयो । उहाँले अनाथ बालबालिकाको लागि अभिभावको रुपमा संस्थाले काम गरेको भन्दै प्रशंसा समेत व्यक्त गर्नुभयो ।

त्यस अवसरमा ज्ञानोदय प्राथमिक बिद्यालयमा अध्ययन गर्ने ११ जना अनाथ बालबालिकालाई ट्रयाकसुट, जुत्ता–मोजा तथा खानेकुरा प्रदान गरिएको एनबिआरले जनाएको छ । न्यानो कपडा वितरण कार्यक्रममा एनबिआर बुटवलका संयोजक राजु टण्डनले अनाथ बालबालिकाकालागि सानो भएपनि सहयोग होस र जाडोको समयमा ती बालबालिकाले जाडो महसुस गर्नु नपरोस भन्ने उद्देश्यले यस्ता बालबालिकालाई छनौट गरि सानो भएपनि सहयोग गरिएको बताउनु भयो ।

त्यस्तै एनबिआरका संस्थापक मुकुन्द पौडेलले सामाजिक गतिबिधिमा सक्रिय हुन र समाज सेवाकालागि सानो सानो सहयोग संकलन गरेर एकमुष्ट सहयोग प्रदान गर्नकालागि सञ्जाल बिकास गरिएको बताउनु भयो । त्यस अवसरमा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष मायाँराम थारु, प्रधानाध्यापक कृष्णप्रसाद चापागाई लगायतले एनबिआरलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सदस्य अस्विन खरेलले गर्नुभएको थियो ।

एनबिआरले शनिबार नै पाल्पाको तानसेन नगरपालिका बन्दिपोखराको गार्गी माध्यमिक बिद्यालयमा अध्ययन गर्ने ४५ जना अनाथ तथा असाहाय बालबालिकालाई पनि न्यानो कपडा वितरण गरिएको जनाएको छ । एबिआरले यस अंगाडी ‘न्यानो बाँडौ, खुसी साटौं’ अभियान अन्तरगत नै चितवनको ईच्छाकामना गाउँपालिकाका २ वटा बिद्यालयका ७४ जना बालबालिकालाई पनि न्यानो कपडा वितरण गरेको थियो ।

५ वर्ष अंगाडी ५÷६ जना युवावाट सुरु भएको यो फेसबुक ग्रुपमा अहिले स्वदेश तथा बिदेशमा समेत गरी ५२ हजार युवा सहभागि छन् । एनबिआर फेसबुक ग्रुपले यस अंगाडीका वर्षमा पनि यस्ता अभियान सञ्चालन गर्दै आएको छ ।