नेकपाको पार्टी कार्यालय ‘रातो घर’मा प्रहरी हस्तक्षेप, ब्यानर र झण्डाहरु हटाईयो

620

नेकपाको पार्टी कार्यालय ‘रातो घर’मा प्रहरी हस्तक्षेप, ब्यानर र झण्डाहरु हटाईयो

,बुटवल, ४ चैत । नेकपा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आफ्नो कार्यालयको रुपमा प्रयोग गर्दै आएको ‘रातो घर’ बाट प्रहरीले पार्टीको झण्डा र बोर्ड हटाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डमा रहेको रातो घरमा सोमवार दिउसो राष्ट्रिय बाणिज्य बैंकका कर्मचारी सहित पुगेको प्रहरीले कार्यालयमा लगाएको ताला तोडेर पार्टीको नाम लेखिएको मुख्य ब्यानर सहित झण्डाहरु जफत गरि लगेको छ ।

हालै सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिवन्ध लगाउदै उसका गतिविधि माथि नियन्त्रण गर्ने निर्णय गरेको थियो ।
प्रहरीले पार्टीको झण्डा र ब्यानर हटाएर कार्यालय भवन नियन्त्रणमा लिएपछि सो भवनमा बाणिज्य बैंकले ताला लगाएको छ । अब सो भवनको भोगाधिकार बाणिज्य बैंकले गर्ने र प्रहरीले सुरक्षा प्रदान गर्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताउनुभयो ।

जनयुद्ध कालमा राष्ट्रिय बाणिज्य बैंकको कार्यालय रहेको सो भवन माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादीले सुरुदेखि आफ्नो पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आईरहेको थियो । पार्टी विभाजन भएपछि विप्लव माओवादीले यो भवनलाई कार्यालयका रुपमा प्रयोग गर्दै आएको थियो ।