कसरी बन्यो ६ महिनामै भिआइपी प्याराफीट ?

822

कसरी बन्यो ६ महिनामै भिआइपी प्याराफीट ?

काडमाण्डौ, ६ बैशाख । विहिबार देखि नेपालगञ्जमा सुरु भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरैको ध्यान रंगाशालाको प्याराफिट तर्फ मोडियो । ६ महिना अघिसम्म नाम निसाना केही नभएको प्याराफिट रातारात कसरी बन्यो भन्नेमा कतिपय आश्चार्यमा परे । नेपालमै पहिलो पटक उच्च प्रविधिको सामाग्रीबाट निर्माण गरिएको प्याराफिट हेर्दैमा आकर्षक त छँदै छ । ३ हजार ५ सय जना अट्ने क्षमताको यो प्याराफिट ६ महिनामै निर्माण सम्पन्न भएको छ । इच्छाशक्ति, जाँगर र क्षमतावान् ठेक्कदारको हातमा आयोजना परे ढिलासुस्तीको मारबाट बच्न सकिन्छ भन्ने पाठ पनि सिकाएको छ ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु गर्न ६ महिना मात्रै बाँकी थियो । यस पटकको प्रतियोगिता प्रदेश नम्बर ५ मा गर्ने भनिए पनि आवश्यक पुर्वाधार नहुँदा सवै अन्योलमा थिए । नेपालगञ्जको रंगशाला स्वरुपमा रंगशाला देखिएपनि कुनैपनि संरचना बनेका थिएनन् । प्याराफिट निर्माणको त ठेक्का सम्झौता समेत भएको थिएन ।

प्याराफिट निर्माणका लागि सुनकोशी÷वल्र्ड वाइड जेभी कन्स्ट्रक्सनले २१ करोडमा निर्माण ठेक्का जिम्मा लिएको थियो । असोज महिना आन्तरिक प्रक्रिया र तयारीमा वितेपनि कार्तिक महिनाबाट प्याराफिट निर्माणका लागि युद्धस्तरमा काम सुरु गरिएको थियो । नजिकिदो खेलकुद प्रतियोगिताको मिति आफैँमा दवावपुर्ण त थियो नै, प्याराफिट निर्माण प्रविधि नेपालमै नौलो भएकाले चुनौती पनि उत्तिकै थियो ।

अनेकन चुनौती र दवाबलाई छिचोल्दै रातदिन गरी प्याराफिट निर्माण सम्पन्न गरिएको सुनकोशी÷वल्र्ड वाइड जेभी कन्स्ट्रक्सनका अध्यक्ष आङकाजी शेर्पाको अनुभव छ । ‘नेपालमै पहिलो पटक भएकाले यस्तो प्याराफिट बनाएको अनुभव कसैसंग थिएन’ शेर्पाले भन्नुभयो, ‘यद्यपी सोचेभन्दा आकर्षक र बलियो भिआइपी प्याराफिट बनाउन सफल भयौँ ।’ भिआइपी प्याराफिटमा प्रयोग भएका सम्पुर्ण पार्टपुर्जाहरु चीनबाट झिकाइएको हो ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ५ गते उद्घाटन गर्ने मिति तोकिएपछि निर्माण कार्य २४ सै घण्टा बनाइएको थियो । यदी बैशाख ४ गते रातीसम्म प्याराफिट निर्माण सम्पन्न भएको थिएन भने भोलीपल्ट ५ गते राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएर उद्घाटन हुने कार्यक्रम खल्लो हुन सक्थ्यो । ५ गते विहानसम्म पनि कामदारहरु बाँकी रहेका सरसफाईमा व्यस्त देखिन्थे ।

राखेप सदस्य सचिव विष्ट भन्नुहुन्छ, हामी ठुलो ‘प्रेसर’मा थियौँ, ‘रंगशाला निर्माण नहुँदै ठुलो जोखीम मोलेर प्रतियोगिताको मिति तोकेका थियौँ । ठेक्केदार कम्पनिको सक्रियताले ५ गतेको उद्घाटन सत्रलाई सोचेभन्दा धेरै भब्य बनाउन सक्यौँ ।’ नेपालका अधिकांश सरकारी योजनाहरु ठेक्कदारको लापर्बाहीले पटक पटक सर्ने र गुणस्तरहिन् परिणामले नैराश्य बनाउने गरेको छ । तर यो योजनाबाट भने अरुले पनि पाठ सिक्न जरुरी रहेको राखेप सदस्य सचिव विष्टले वताउनुभयो ।

अहिले विश्वका अधिकांश आधुनिक रंगशालामा बनाइएका प्याराफिटमा यस्तै प्रकारका प्रविधिको प्रयोग गरिएको छ । रेडिमेड पार्टपुर्जा भएकाले यसलाई फुकालेर अन्यत्र लैजान समेत सहज हुन्छ । सरकारले सातवटै प्रदेशमा निर्माण हुने रंगशालामा यही प्रविधि प्रयोग गर्ने योजना बनाएको छ । ती मध्य सवैभन्दा ठुलो क्षमताको प्याराफिट पोखरा रंगशालामा निर्माण हुँदैछ । उक्त प्याराफिटमा १८ हजार ५ सय जना मानिस अटाउँछ । इटहरीमा पनि निर्माणका लागि ठेक्का सम्झौता भइसकेको राखेप सदस्य सचिव विष्टले जानकारी दिनुभयो ।