प्रदेश राजधानी बुटवलमा हर्न बजाउन निषेध

653

प्रदेश राजधानी बुटवलमा हर्न बजाउन निषेध

बुटवल, १ मंसिर । प्रदेश पाँचको राजधानी बुटवलमा सवारी चलाउँदा हर्न बजाउन निषेध गरिएको छ । मंसिर १ गते शनिवार देखि राजधानी रहेको बुटवल शहरलाई शनिवार विशेष समारोहको आयोजना गरी हर्न निषेधित शहरका रुपमा घोषण गरिएको हो ।

ठूला वा साना सवारी साधनले हर्न बजाउंदा ध्वनी प्रदूषण भएकोले हर्न निषेधित क्षेत्र घोषणा गर्नु परेको प्रदेश नम्बर ५ का वरिष्ठ प्रहरी उपरिक्षक नर बहादुर केसीले बताउनु भयो । शहरमा संचालन हुने सवै सवारी साधनले हर्न बजाउंदा ध्वनी प्रदूषण भएकाले पहिलो चरणमा प्रदेश राजधानी बुटवलमा हर्न निषेधित क्षेत्र घोषणा गरिएको र यसलाई क्रमिक रुपमा प्रदेशका सवै जिल्लामा अभियानका रुपमा लागु गरिने वरिष्ठ प्रहरी उपरिक्षक केसीले बताउनु भयो ।

बुटवल उपमहानगरपालिका र ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ५ को सम्युक्त प्रयासमा पहिलो चरणमा प्रदेशको राजधानी बुटवल शहरलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ५ का प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले बताउनु भयो ।

शहरमा सडक सांघुरा हुंदै गएकाले त्यसमा अगाडी र पछाडीका गाडीले हर्न बजाउंदा बजार नै कोलाहल सरह हुने गरेकोले हर्न निषेधित शहरकोे अभियान संचालन गर्नुपरेको प्रहरी उपरिक्षक चन्दले बताउनु भयो । प्रहरी र बुटवल उपमहानगरपालिकाले विभिन्न संघ संस्थाहरुसंग समन्वय गरि उनीहरुको सहयोगमा नै हर्न निषेधित क्षेत्र घोषणा गरिएको प्रहरीले जनाएको छ ।

हर्न निषेधित क्षेत्रका रुपमा तिनाउ पुल देखि गोलपार्क, राजमार्ग चौराह हुदै वेसक्याम्प सम्मको नगर क्षेत्रमा शनिवार देखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । यो अभियान एक महिना सम्म सचेतना मुलक ढं्रगले संचालन गरिने र त्यसपछि हर्न वजाउनेलाई नियमानुसार कारवाही गरिने छ ।