प्रतिवेदनले मात्रै शिक्षाको सुधार गर्दैन : मन्त्री बराल

619

प्रतिवेदनले मात्रै शिक्षाको सुधार गर्दैन : मन्त्री बराल

बुटवल, २३ भदौ । प्रदेश नम्बर ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले महिनै पिच्छे आयोग बनाउने र प्रतिवेदनको थुप्रो लगाएर शिक्षामा प्रतिफल हासिल गर्न नसकिने बताउनु भएको छ । उहाँले चार÷चार महिनमा शिक्षा सम्वन्धि प्रतिवेदन तयार पारेर शैक्षिक सुधारको अपेक्षा गर्नु निरर्थक हुने बताउनुभयो ।

राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन (एन प्याब्सन) रुपन्देहीले बुटवलमा गरेको एसईई परीक्षामा उर्तिण विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै मन्त्री बरालले शैक्षिक गुणस्तर र शिक्षामा सुधारका लागि ठोस र मुर्त रणनीतिक कार्य बाहेकको विकल्प नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘विद्यालयका दैयनीय भौतिक अवस्था, भौतिक अवस्थाका आधारमा शौचका लागि अन्यत्र जानुपर्ने बाध्यता र फेशबुकमा भुल्ने शिक्षकले नै शिक्षामा अपेक्षित प्रतिफल पाउन नसकिएको हो, यसमा सुधार आवश्यक छ, यसका लागि प्रतिवेदन होईन ठोस र मुर्त रणनीति आवश्यक छ ।’

उहाँले शैक्षिक सुधारका लागि सबैको सहकार्य र योगदानका आधारमा अपेक्षित प्रतिफल हासिल गर्न सकिने उल्लेख गर्दै निजी विद्यालय मुनाफा आर्जका लागि भन्दापनि सेवामुखि भावनामै चल्न आवश्यक रहेको बताउनु भयो । उहाँले संघीय संरचनामा गएको मुलुकमा तुरुन्तै उपलब्धीको अपेक्षा पर्नु भन्दापनि अहिले योजना निमार्णको बर्ष भएकाले क्रमिक रुपमा प्रदेश सम्वृद्ध हुदै जाने भनाई राख्नुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका प्रवक्ता मित्रमणि खनालले प्रदेशलाई साक्षर बनाउने कुरामा बहस चलिरहेको जानकारी दिनुभयो । उहाँले दश जिल्लाहरु साक्षरबनीसकेको बताउदै निकट भविष्यमै साक्षरहुन बाँकी कपिलबस्तु र बाकेलाई साक्षर बनाउने योजना रहेको बताउनु भयो ।

एन प्याब्सन रुपन्देहीका अध्यक्ष देउप्रकाश राईको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य कृष्ण पौडेल, फोरमका नेता महेन्द्र यादव, रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, एन प्याब्सनका उपाध्यक्ष बालाकृष्ण तिवारी लगायतले प्रदेशलाई शैक्षिक गुणस्तरको गन्तब्य बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

एन प्याब्सनका सचिव जेवि क्षेत्रीको संचालनमा भएको कार्यक्रममा निजी तथा संस्थागत विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट जीपीए ल्याउने ४७ जना विद्यार्थी, विद्यालय, सम्वन्धित विषयका शिक्षक र अभिभावकलाई सम्मान गरिएको थियो ।