मोटरसाईकल सहित पहिरोले बगाउँदा एकको मृत्यु

862

मोटरसाईकल सहित पहिरोले बगाउँदा एकको मृत्यु

बुटवल, २८ असार । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डमा पर्ने पाल्पाको तिनाउ गाउँपालिका दोभान स्थित सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोले चलीरहेको मोटर साईकल बगाउँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको लु ५० प ४६७१ नम्बरको मोटर साईकलमा सवार पाल्पा निस्दी गाउँपालिका मित्यालका ३१ वर्षीय मोटरसाईकल चालक धनबहादुर सुनारीको मृत्यु भएको प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालयका बुटवलका सई बिष्णु पाण्डेले जानकारी दिनुभयो । बुटवल–पाल्पा सडकको दोभानको हेडबक्स र रामापिथेकस बिचहुँदै माथिबाट खसेको ढुंगा सहितको पहिरोले उक्त मोटरसाईकल बगाएको थियो ।

पहिरोमा परेका सुनारीको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेना खटिएको थियो । सुनारीको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । दिउँसो करिब तीन बजेतिर घट्ना भएको थियो । माथिबाट पहिरो झरीरहेकाले सिद्धार्थ यातायात पूर्ण रुपमा अवरुद्ध थियो । जसका कारण बुटवल हुदै पाल्पा, गुल्मी स्याडजा, पोखरा, वागलुङ लगायतका जिल्ला जाने सवारी साधन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।