Wednesday 24th April 2019
  • New title for a=>html, img=>alt
  • पर्यटकको गन्तब्य बन्दै ‘राजापानी’

    February 7, 2019



    खेमानन्द पाठक / कपिलबस्तु , माघ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ३ मा पर्ने राजापानी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य बनेको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने पिपरा चोकबाट करीब ५ किलोमिटरको दुरिमा अवस्थित ऐतिहासिक महत्व बोकेको राजापानी क्षेत्र फरक विशेषताहरुले भरिएको छ ।

    राजापानी सामुदायिक वन उपभोक्ता समूहको करीव २७ हेक्टर क्षेत्रफलमा वाणगंगा नगरपालिकाको सुन्दर पार्कका रुपमा फैलिएको छ । यसलाई जिल्लाकै नमुना पार्कका रुपमा विकाश गर्ने लक्ष्यसहित काम अघि बढेको राजापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ढाकाराम अधिकारीले बताउनु भयो । ‘समितिले गुरुयोजना बनाएर काम अघि बढाएको छ ।’ उहाँले भन्नुभयो–‘बनभोज आउनेहरुलाई लक्षित गरी २० वटा सेड निर्माण गरिएको र थप निर्माणधिन अवस्थामा रहेको छ । पश्चिम र दक्षिणपट्टि हराभरा बनले घेरेको साथै पिकनिक स्पोट, खेलमैदान, पर्यटकहरु घुम्ने पार्क, चराचुरुङ्गीको चिरचिरावट सहितको यो मनोरम क्षेत्र रहेकाले पर्यटन गन्तब्य बन्न उन्मुख छ ।’

    पिकनिक (वनभोज) गर्न, घुमफिर गरी रमाउन एवं संघ संस्थाले वार्षिक कार्यक्रम आयोजना गर्न यो क्षेत्र सबैको रोजाइमा पर्ने गरेको छ । राजापानी पर्यटन क्षेत्रभित्र विभिन्न ठाउँमा बस्ने, खाना पकाउने, नाच्ने ठाउँको सुविधा समेत छ । चिल्ड्रेन पार्क, थप पिकनिक सेड, पक्की सडक निर्माणको क्रममा छन् । यस क्षेत्रमा बनभोज तथा घुमफिरको लागि कपिलवस्तु जिल्लाका बिभिन्न स्थान लगायत बाहिरी जिल्ला रुपन्देही, नवलपरासी, पाल्पा, अर्घाखांची, दाङबाट समेत आन्तरिक पर्यटक आउने गरेका छन् ।

    त्यसैगरी यो क्षेत्र भारतसंग सिधा सम्पर्कमा रहेको पकडी चाकरचौडा सडक खण्डमा पर्ने भएकोले नेपालको सिमानासंग जोडिएको भारतको सोहरतगढ, वर्डपुर नौगढ लगाएतका स्थानबाट समेत भारतीय पर्यटक घुम्नको लागि आउने गरेको अध्यक्ष अधिकारी बताउनुहुन्छ । साथै यसको प्रचार प्रसार तथा लुम्बिनी गुरुयोजनासंग जोड्न सकेको खण्डमा यहाँ हजारांै पर्यटक भित्रिने सम्भावना समेत छ । पर्यटकहरुको लागि आकर्षण गर्ने बिभिन्न पुर्वाधार निर्माण तथा प्राकृतिक सुन्दरतालाई उचित ब्यवस्थापन गर्न आवश्यक छ ।

    यस राजापानी सामुदायिक बन उपभोक्ता समूहको नामाकरण यस वन क्षेत्र भित्र रहेको ऐतिहासिक महत्वको मुल राजापानीको नामबाट गरिएको अध्यक्ष अधिकारी बताउनुहुन्छ । यो मुल परापुर्वकाल देखि निरन्तररुपमा सदावहार निस्कने र निरन्तर पानी बगीरहने गरेको पाईन्छ । अर्को तिर यो मुल बुद्धसंग समेत सम्बन्धित रहेको छ । गौतमबुद्धका बुवा राजा सुद्धोधन तिलौराकोट दरवार देखि आफ्नो ससुराली देवदह जाने क्रममा यो बनको बाटो भएर समेत जाने गरेको र जाने क्रममा यसै राजापानी मुलको पानी पिउनुको साथै यहाँ रहेको चौरमा विश्राम गर्ने गरेको समेत जानकारले बताउँछन् ।

    शुरुमा यो मुलको जे जस्तो नाम रहेता पनि राजा सुद्धोधनले पानी पिउने र विश्राम गर्ने गन्तब्य बनाए पश्चात यो मुलको नाम राजापानी रहेको भन्ने भनाई छ । यसै कुरालाई मध्यनजर गर्दै यस सामुदायिक बनले यो मुलको संरक्षण र यससंग रहेको ऐतिहासिक महत्वलाई समेत उजागर गर्ने अभिप्रायले पर्यटनको शुरुवात गर्न थालेको छ । हालसम्म विभिन्न संघ संस्थाबाट सहयोग भईरहेतापनि यसलाई थप व्यवस्थित गर्ने गुरुयोजना बनाएर काम अगाडी बढाएकाले थप सहयोग आवश्यक रहेको अधिकारी बताउनुहुन्छ ।

    यस राजापानी सामुदायिक बनको बन ब्यवस्थापन तथा पर्यटन सञ्चालनका सन्दर्भमा स्थानीय तथा बाह्य बिभिन्न निकायहरुसंग समन्वय र सहकार्यहरु भईरहेको वन व्यवस्थापन गर्ने उपभोक्ता समुहका अध्यक्ष अधिकारी बताउनुहुन्छ । वि.स. २०६९ सालमा बन बिभाग मार्फत मुल संरक्षणको लागि रु. तिन लाख बिनियोजन, जिल्ला बिकास समितिले २०७० सालमा पोखरी निर्माणको लागि रु. पाँच लाख बजेट निकासा, वाणगंगा नगरपालिकाले आ.ब.२०७४÷२०७५ मा रु. एघार लाख बजेट विनियोजन गरी वाल उद्यानको काम शुरु गरिएको र आ.ब.२०७५÷२०७६ मा स्नान गृह सहितको शौचालय निर्माणका लागि रु.तेह्र लाख बजेट विनियोजन गरेको थियो ।

    आ.ब. २०७३÷२०७४ मा लुम्बिनी पर्यटन प्रवद्र्धन बिकास समितिबाट बिश्रामस्थल निर्माणका लागि रु. पाँच लाख प्रदान गर्नुका साथै यस आ.ब.२०७५÷२०७६ मा मुलको पानी ब्यवस्थापन पोखरी निर्माण तथा माछा पालनको लागि माछा जोन संग पोखरी निर्माणको लागि सम्झौता भएको अध्यक्ष अधिकारीले जानकारी गराउनु भयो । यो क्षेत्र समतल स्थानमा समुन्द्र सतह देखि ११० मिटर देखि १२५ मिटरको उचाईमा रहेको छ । यस वनमा ग्रावेल, कालो, दोमट तथा चिम्टाईलो खालको माटोहरु पाइन्छ । नेपाल पर्यटनको प्रसस्त सम्भावना रहेको क्षेत्र हो ।

    नेपालको आर्थिक सम्बृद्धिमा पर्यटन क्षेत्रको महत्वपुर्ण योगदान रहेको तथ्यले बताएको छ । लुम्बिनीसंग नजिकमा रहेको कपिलवस्तु जिल्ला र त्यसमा एउटा मुल जो बुद्धसंग सम्बन्धित रहेको छ । यसलाई जिल्लाको एउटा महत्वपुर्ण पर्यटनको गन्तब्य बनाउन बिभिन्न निकायको साथ र सहयोग आवश्यक रहन्छ । नेपालमा पर्यटनको बिकासमा टेवा पु¥याउने राज्यको महत्वपुर्ण निकायले सहयोगको आवश्यक वातावरण तयार गरेमा आर्थिक संबृद्धिमा टेवा पुग्ने छ ।