निधनले सञ्चारक्षेत्र शोकमग्न

739

निधनले सञ्चारक्षेत्र शोकमग्न

बुटवल ,३२ साउन /  रुपन्देहीका पत्रकार डायलसन अधिकारीको सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटनामा निधन भएपछि जिल्ला शोक मग्न भएको छ। दुई दशकदेखि बुटवलमा पत्रकारिता गरेका अधिकारीको शनिबार विहान सप्तरीमा भएको सवारी दुर्घटनामा परि मृत्यु भएको हो।

पत्रकार अधिकारीको निधनको खबर लगत्तै रुपन्देहीका सञ्चारकर्मीहरु स्तब्ध भएका छन्। विस २०५५ सालदेखि निरन्तर बुटवललाई कार्यथलो बनाएर कर्मठ पत्रकारिता गरेका उनको निधनले सञ्चार क्षेत्रमा अतुलनीय क्षति पुगेको छ। नेपाल प्रेस युनियन केन्द्रिय समिति , जिल्ला समिती रुपन्देही  र नेपाल पत्रकार महासंघ लगाएतले पत्रकार अधिकारीको अकल्पनीय निधनले स्तब्ध भएको जनाएका छन

 छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै घटनाबाट असल कलमजीवी गुमाउनु परेको उल्लेख गरिएको छ। शोक वक्तव्यमा युनियन रुपन्देहीका सल्लाहाकार एव केन्द्रिय प्रतिनिधि र   महासंघका केन्द्रीय सभासद अधिकारीको निधनले स्तब्ध एवं मर्माहत बनाएको उल्लेख गर्दै शोकाकुल परिवाजनप्रति धर्यधारण गर्न आग्रह गरिएको छ।

अधिकारीले देउराली दैनिकबाट पत्रकारिता आरम्भ गरेका थिए। उनी रेडियो नेपालको रुपन्देही संवादाताका रुपमा हालसम्म कार्यरत थिए। रेडियो लुम्बिनी हुँदै रेडियो नमस्तेको स्टेशन म्यानेजरको भूमिकामा काम गरेँ। एक बर्षयता भने उनले इलगअन मिडिया प्रालिबाट सञ्चालित अनलाइन मिडिया सञ्चालनमा ल्याएका थिए। अधिकारीको निधनले रुपन्देहीका सञ्चारकमीहरुले एक असल र इमान्दार पत्रकार गुमाएको भन्दै सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन्।

तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनको प्रचार प्रसारका लागि उनी पूर्व लागेका थिए। अन्य चार जना घाइते छन्। दुर्घटनामा परी तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेल, वडाध्यक्षहरू सोहन चौधरी र टामनाथ पाण्डे, चालक अशोक भण्डारी घाइते छन्। घाइतेको विराटनगरमा उपचार भइरहेको छ। आगामी असोज ९ गते आयोजना हुने लगानी सम्मेलनका लागि निम्तो दिन र तिलोत्तमामा लगानीका लागि आह्वान गर्न नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीको नेतृत्वमा टोली पूर्वी नेपाल तर्फ गएको थियो। टोलीमा तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा व्यापार संघसमेतको सहभागितामा टोली पूर्वका जिल्लाहरुको भ्रमणमा निस्केको थियो।

टोलीमा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपि कंडेल, नगरपालिकाका उपसचिव गंगारम आचार्य, लगानी सम्मेलनका सचिवालय सदस्य तथा वडा अध्यक्षहरु टामनाथ पाण्डे, गणेश न्यौपाने, कृष्ण पौडेल, चेतनारायण भण्डारी, सोहन थारु, नगर कार्यपालिकाका सदस्य संगिता गुरुङ र राधा शाही सहभागी छन्।

पत्रकारको तर्फबाट भने मृतक अधिकारी र गोरखापत्रका लक्ष्मण पौडेल यात्रामा थिए। फरक फरक गाडीमा भएका कारण सँगै यात्रामा निस्किएको साथी गुमाउँदा निकै पीडा भएको पत्रकार लक्ष्मण पौडेलले बताए। उनले आफू पनि दुर्घटनमा परेको गाडीमा चढिसकेको तर बस्न अप्ठ्यारो हुने भएपछि अर्को गाडीमा चढेको बताए। ‘सँगै बस्ने सल्लाह भएको थियो, बस्न नमिल्ने भएपछि अर्को गाडीमा चढे, त्यसको १० मिनेटमै दुर्घटना भयो’, पत्रकार पौडेलले भने। गाडी अनियन्त्रित भएर पल्टिँदा सहयात्री गुमाउनु परेको उनले सुनाए।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ का ४२ वर्षीय अधिकारीको परिवार शोकाकुल बनेको छ। श्रीमती मृत्यूको खबरसँगै बेहोस छिन्। अधिकारी श्रीमती, एक छोरी र एक छोराका साथ तिलोत्तमा शंकरनगरमा बस्थेँ भने वुवा कपिलबस्तुको बुद्धभुमी नगरपालिका इमिलिया मा बसोबास गर्छन। अधिकारीको शव आइतबार मात्रै रुपन्देही ल्याइने परिवारजनले बताएका छन्।