प्राबिधिक शिक्षाकालागि सामुदायिक बिद्यालयमा सिटिईभिटिको स्वीकृति

1K

प्राबिधिक शिक्षाकालागि सामुदायिक बिद्यालयमा सिटिईभिटिको स्वीकृति

कपिलबस्तु , भदौ । कपिलबस्तु जिल्लाको एक मात्रै सामुदायिक बिद्यालयमा प्राबिधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद (सिटिईभिटि)ले तीन वर्षे डिप्लोमा इन सिभिल ईञ्जिनियरिङ् अध्यापनकालागि स्वीकृति दिएको छ । जिल्लाको दक्षिणी भेगमा पर्ने सुद्धोधन गाउँपालिका वडा नं. ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय औरहिया(मुडफुटवा) लाई उक्त कार्यक्रमको स्वीकृति प्रदान गरेको हो । सिटिईभिटीले नेपाल अधिराज्यका ९७ बिद्यालयमा बालिबिज्ञान, पशुबिज्ञान, सिभिल ईञ्जिनियरि तथा कम्प्युटर ईञ्जिनिरिङ लगायतका बिषयमा प्राबिधिक शिक्षा कार्यक्रमकालागि स्वीकृति प्रदान गरेको छ ।

उक्त बिद्यालयले सोमबार बिद्यालयमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गराउनुको साथै दक्षिणी भेगका बिद्यार्थीको लागि एउटा अवसर प्राप्त भएकाले अवसरको सदुपयोग गर्न आह्वान गरेको छ । उक्त कार्यक्रमकालागि प्रदेश पाँचमा १८ बिद्यालयले स्वीकृति पाएका छन् । त्यमध्ये कपिलबस्तु जिल्लामा एक मात्रै दक्षिणी भेगको राष्ट्रिय माध्यमिक बिद्यालय हो । जिल्लाको दक्षिणि भेगमा सञ्चालन भएका बिद्यालयको तुलनामा अब्बल बिद्यालय ठहरिएको कारण नै सिटिईभिटिले प्राबिधिक शिक्षा सञ्चालनको अनुमति दिएको बताउँदै बिद्यालयका प्राचार्य लालचन्द्र पाण्डेले सिटिईभिटिले उक्त कार्यक्रम सञ्चालनकालागि निर्धारण गरेको मापदण्ड पुरा गरेको बताउनु भयो ।

सिटिईभिटिले उक्त कार्यक्रम सञ्चालनकालागि आवेदनका आधारमा बिद्यालय छनौट गरि गत असारबाट मापदण्ड अध्ययन गरेको थियो भने उक्त अध्ययनपछि हालै मात्रै कक्षा सञ्चालनको स्वीकृति प्रदान गरेको हो । ४८ बिद्यार्थीकालागि सिट निर्धारण गरि स्वीकृति प्रदान गरिएको उक्त कार्यक्रम सञ्चालनकालागि ल्याव सहित १६ वटा कक्षा कोठा, पाठ्यक्रममा आधारित सबैप्रकारका ल्याव, अनिवार्य हुनुपर्दछ । सिटिईभिटिको मापदण्ड पुरा गर्नकालागि बिद्यालयको आफ्नै स्रोत प्रयाप्त नभएकाले गाउँपालिकाबाट सहयोग प्राप्त भएपनि प्रयाप्त नभएको प्रचार्य पाण्डे बताउनु हुन्छ ।

कार्यक्रम सञ्चालन गर्नकालागि शिक्षकलाई तलव खर्च मात्रै वार्षिक २० लाख रुपैंया लाग्छ भने ल्याव सञ्चालनकालागि पहिलो वर्ष २० लाख लाग्ने र प्रत्येक वर्ष दुई ढाई लाख रुपैंयाको सामान थप्नुपर्ने उहाँले जानकारी गराउनु भयो । त्यसबाहेक प्रशासनिक खर्चको हिसाव किताव छुट्टै हुने उहाँ बताउनु हुन्छ । तीन वर्षे सिभिल ईञ्जिनियरिङ्कालागि सिटिईभिटिले ३ लाख रुपैंया शुल्क निर्धारण गरेको छ । तर कपिलबस्तुको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयले तीन वर्षको १ लाख २० हजार रुपैंया मात्रै शुल्क निर्धारण गरेको छ । टिभिईभिटिले कम शुल्कमा पढाउने १० बिद्यालयलाई जनही १० लाख रुपैंया अनुदान दिने भएकाले त्यसमा पर्नकालागि बिद्यालयले यो रणनीति अपनाएको हो ।

सिटिईभिटिको मापदण्ड अनुसार अहिले स्वीकृति प्राप्त बिद्यालयले बिद्यार्थीलाई फारम वितरण गरिरहेका छन् । यहि भदौको २० गतेसम्म फारम भर्ने कार्यक्रम छ भने लगत्तै प्रवेश परिक्षा गरि सिट क्षमता अनुसार बिद्यार्थी छनौट हुनेछन् । कार्यक्रममा बोल्दै सुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले आफ्नो गाउँपालिकामा प्राबिधिक शिक्षा कार्यक्रम सञ्चालनको स्वीकृति प्राप्त भएकाले उक्त कार्यक्रम सञ्चालनकालागि गाउँपालिकाले सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष सुधा पाण्डे उक्त बिद्यालयको व्यबस्थापन समिति अध्यक्ष हुनुहुन्छ । गाउँपालिकाकी उपाध्यक्ष पाण्डे बिद्यालय व्यबस्थापन समितिमा भएकाले पनि प्राबिधिक शिक्षा सञ्चालनकालागि गाउँपालिकाबाट एथेष्ट सहयोग प्राप्त हुने बिद्यालयको अपेक्षा छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पौडेलले पहिलेको तुलनामा शिक्षामा धेरै सुधार भएको बताउँदै अहिले बिद्यालय भर्ना नभएका बिद्यार्थी नभएको उल्लेख गर्नुभयो । उहाँले दक्ष र प्राबिधिक जनशक्ति उत्पादनकालागि गाउँपालिकामा कार्यक्रम आउनु बिद्यार्थीकालागि एउटा राम्रो अवसर भएकाले अवसरको सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।

२०२३ सालमा स्थापना भएको उक्त बिद्यालयले २०६१ मा माबि सञ्चालन गरेको थियो भने ०६६ मा उच्च माध्यमिक बिद्यालय सञ्चालन गरेको थियो ।