प्रदेश पाँच : कुल बजेटको ६३ प्रतिशत प्रगति

714

प्रदेश पाँच : कुल बजेटको ६३ प्रतिशत प्रगति

बुटवल, २ साउन । प्रदेश पाँचमा सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा लक्ष अनुसार काम गर्न सकेको छैन । गत आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटको ३७ प्रतिशत बजेट फ्रिज भएको प्रदेश लेखा नियन्त्रण कार्यालय बुटवलले जनाएको छ ।

प्रदेश लेखा नियन्त्रण कार्यालय बुटवलले बिहिबार पत्रकार सम्मेलन गरि सरकारले हासिल गरेको कार्य प्रगतिका बारेमा जानकारी गराएको हो । गत आर्थिक वर्षकालागि प्रदेश सरकारले बिनियोजन गरेको कुल बजेट २७ अर्व १६ करोड १७ लाख मध्ये १७ अर्ब १४ करोड ८४ लाख रुपैंया खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय बुटवलका प्रमुख लेखा नियन्त्रक दिपक ज्ञवालीले जानकारी गराउनु भयो ।

प्रदेश लेखा नियन्त्रण कार्यालयले प्रस्तुत गरेको तथ्यांक अनुसार सरकारले चालु तर्फ ६ अर्ब ८७ करोड ७१ लाख रुपैंया खर्च गरेको छ भने पुँजीगत तर्फ १० अर्ब २७ करोड १३ लाख रुपैंयाँ खर्च गरेको छ । गत आर्थिक वर्षमा सरकारले चालु तर्फ ९ अर्व ८२ करोड ६८ लाख र पुँजीगत तर्फ १७ अर्व ३३ करोड ४९ लाख रुपैंया विनियोजन गरेको थियो ।

जसमा चालु तर्फ ७० प्रतिशत, पुँजीगत तर्फ ५९ प्रतिसत र कुल बजेटको ६३ प्रतिशत बित्तिय प्रगति भएको प्रमुख प्रदेश लेखा नियन्त्रक ज्ञवालीले बताउनु भयो । उहाँले प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको अनुदान चालु खर्चका रुपमा लिईएको र समानीकरण बाहेक अन्य अनुदानको खर्च नभए बाँकी रहेको रकम फिर्ता हुने सम्भावना रहेकाले यो तथ्याँकमा केही घटबढ हुन सक्ने उल्लेख गर्नुभयो ।