प्रादेशिक अस्पताललाई रिफरल सेन्टरका रुपमा बिकास गरिने

1.4K

प्रादेशिक अस्पताललाई रिफरल सेन्टरका रुपमा बिकास गरिने


बुटवल, फागुन । प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेश भित्रका प्रादेशिक अस्पतालहरुलाई रिफरल सेन्टरको रुपमा बिकास गर्ने गरी सरकारले योजना बनाएको बताउनु भएको छ ।

प्रदेश भित्रका अञ्चल अस्पतालहरुलाई सबै किसिमको उपचार गर्न सकिने गरि बिकास गर्न सरकार लागि परेको बताउँदै मन्त्री बरालले जिल्ला अस्पतालमा उपचार हुन नसकेका बिरामी रिफर गर्ने र रिफर भएर आएका बिरामीका अन्यन्त्र जान नपर्ने गरी अस्पताललाई सुविधा सम्पन्न गर्नकालागि प्रदेश सरकारले गर्न सक्ने सबै काम गर्ने र प्रदेश सरकारको बजेटले नभ्याउने कुरामा संघीय सरकारसंग समन्वय गर्ने उहाँले बताउनु भयो ।

लुम्बिनी प्रादेशिक अस्पताल (साविक लुम्बिनी अञ्चल अस्पताल)मा बुधबार सिटी स्क्यान सेवाको शुभारम्भ गर्दै मन्त्री बरालले भन्नुभयो–‘हामी एउटा सिटी स्क्यान सेवा सुरु गर्दा पनि खुसी मान्नुपर्ने अवस्थामा छौं, यसरी सुरु गरिएको सेवा सर्वसुलभ रुपमा सर्वसाधारणलाई उपलब्ध गराउन पनि हामीलाई उत्तिकै चुनौती छ ।’ अस्पतालमा भएका समस्या समाधानकालागि प्रदेश सरकार तयार रहेको बताउँदै सेवाको चुस्तता र गुणस्तरीय सेवाकालागि अस्पताल प्रशासन, कर्मचारी तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

त्यस्तै उहाँले प्रदेशका १२ जिल्ला मध्ये जिल्ला अस्पताल नभएको रुकुम पूर्वको जिल्लामा चाँडै नै जिल्ला अस्पताल स्थापना गरिने र त्यो सहित बाँकी ११ जिल्लाका जिल्ला अस्पतालको स्तर बृद्धि गरि सर्वसाधारणकालागि स्वास्थ्य सेवाको सुनिश्चितता प्रदान गरिने बताउनु भयो ।

कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीले सम्भव भएसम्मका सबै उपचार सरकारी अस्पतालबाट दिन सकियोस भन्ने मन्त्रालयको चाहना रहेको बताउनु भयो । उहाँले अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति लगायतका सुधार गर्नुपर्ने कुराहरु सुधारकालागि प्रदेश सरकारले योजना बनाएर अंगाडी बढेको बताउनु भयो ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालले उक्त अस्पतालबाट वार्षिक ३ लाख १५ हजार मानिसलाई स्वास्थ्य सेवा प्रदान गरिएको बताउँदै तथ्याँकका आधारमा काठमाण्डौको बिर अस्पताल पछिको दोस्रो अस्पताल भएको उल्लेख गर्नुभयो ।

उहाँले शुभारम्भ गरिएको सिटी स्क्यान सेवाबाट यस क्षेत्रका धेरै मानिसलाई सेवा दिन सकिने बताउँदै नीजि अस्पतालहरुले सञ्चालन गरेको सेवामा भन्दा धेरै सस्तोमा सेवा प्रवाह गरिने बताउनु भयो । अहिले २५२ शैयाबाट स्वास्थ्य सेवा उपलब्ध गराईएको र आगमी पाँच वर्ष भित्रमा ८ सय शैया सञ्चालन गर्न सकिने क्षमताको अस्पताल बन्ने बताउँदै उहाँले उक्त सेवा प्रवाह गर्न सकिने अस्पताल निर्माणकालागि सरकारलाई समेत आग्रह गर्नुभयो ।

त्यस्तै अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट तथा रेडियोलोजी विभागका प्रमुख रेडियोलोजीष्ट डा. राजेन्द्र खनालले साविकको लुम्बिनी अञ्चलमै सरकारी तवरबाट पहिलो पटक सिटी स्क्यान सेवा सुरु भएको बताउँदै अव क्रमिक रुपमा एमआरआई सेवा समेत सञ्चालन गर्न अपरिहार्य रहेको बताउनु भयो । उहाँले सय शैयाको अस्पताललाई ३ सय शैयामा पु¥याईएपछि समस्या समाधानको अपेक्षा गरिएपनि पूर्वाधार बिकास नहुनु र प्रयाप्त जनशक्तिको अभावका कारण समस्या जहिको त्यहिँ रहेको बताउनु भयो ।