Wednesday 21st November 2018
  • New title for a=>html, img=>alt
  • ऐश्वर्य : प्रेम र ऐश्वर्यबीचको कमजोर लडाईं

    October 28, 2017


    अर्घेलो थापा

    काठमाडौं/ चलचित्र स्तरीय बन्नका लागि कुनै एक पक्षको मात्रै भूमिका पक्कै हुँदैन । फिल्म स्तरीय बन्न सबै तत्त्व उत्तिकै सन्तुलित र आकर्षक हुनैपर्छ । युवा निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र ‘ऐश्वर्य’ सानाठूला सन्तुलनको खड्कोका कारण उत्कृष्ट बन्न सकेको छैन । कुनै जमानाका ‘हिट’ अभिनेता रमेश उप्रेतीले निर्माण गरेको चलचित्र उनको जमानाभन्दा माथि उठ्न त सकेको छैन तर फिल्मका केही पक्ष भने चाखलाग्दा छन् ।

    चलचित्रको कथामा खासै नयाँपन केही छैन । काठमाडौंको व्यवसायी राघव जबरा (प्रशान्त ताम्राकार) लाई जसरी भए पनि ऐश्वर्य (पैसा) चाहिएको छ । उता प्रतिस्पर्धी समीर (रमेश उप्रेती) भने अरूको विश्वास जितेरै कमाउन चाहन्छ । तर पैसा मात्रले पनि पुगेको छैन समीरलाई । यी दुईको व्यावसायिक प्रतिस्पर्धा एकातिर छ, अर्कोतिर समीर आफ्नै कम्पनीको ग्रान्ड ओपनिङमा आउने मोडल दीपिका प्रसाईंसँग एकाएक प्रेममा पर्छ । अर्कातिर आफ्नो वृत्ति (करीअर) लाई अगाडि बढाउन आफ्नो प्रेमीसँग पनि सम्झौता नगर्ने दीपिकाको कमजोरीलाई प्रशान्तले आफ्नो फाइदाका लागि प्रयोग गर्छ । यिनै कथाबीच अल्झिएको ‘प्रेम’ र ‘धन’ को रेस कसरी अगाडि बढ्दै जान्छ भन्ने बुझ्न फिल्म नै हेर्नुपर्ने हुन्छ ।

    चलचित्रका संवाद राम्रा छन् तर प्लट कच्चा र कमजोर छ ।

    फिल्ममा पनि मोडलकै भूमिकामा देखिएकी दीपिका प्रसाईंले आफ्नो डेब्यु चलचित्रबाट अभिनयमा गतिलै सम्भावना देखाएकी छिन् । उनको अभिनय झुर र बनावटी लाग्दैन । तर मुख्य भूमिकामा देखिएका रमेश उप्रेतीको अभिनय औसतमै सीमित हुन पुगेको छ । उनको पात्रको प्रवृत्ति फेरिइरहन्छ तर उनी पूरै फिल्ममा एकनासको अभिनयमा देखिन्छन् । बरू खलनायकको भूमिकामा देखिएका प्रशान्त ताम्राकारको अभिनय र संवादशैलीले उनको अभिनयलाई अझै बोल्ड बनाएको छ । फिल्मकी अर्की मुख्य अभिनेत्री केकी अधिकारीलाई केटाकेटीपन देखिने भूमिका पात्रअनुसार सुहाउँदो लाग्छ ।

    फिल्मको मुख्य कमजोरी यसको कथामै छ । धेरैजसो पटकथा र द्वन्द्व उत्पन्न गर्ने कारण चित्तबुझ्दा छैनन् । चलचित्रको पहिलो हाफ साह्रै धीमा गतिमा अगाडि बढ्छ । शुरुका केही दृश्य किन र के प्रयोजनका लागि राखिएका हुन् भन्ने कुरा छुट्याउनै गाह्रो पर्छ । निर्देशकले पात्रसँग जोडिएका यस्ता स–साना विषयलाई कथामै ख्याल गर्नुपर्ने थियो । यद्यपि फिल्मका संवाद भने आकर्षक र सुहाउँदा छन् । तर कच्चा पटकथामा स्तरीय संवाद हुँदैमा फिल्म राम्रो बन्छ भन्ने छैन । लेखकले यसको पटकथालाई अझै चम्किने गरी माझ्न सकेको भए फिल्मको गुणस्तर उँचो हुने थियो ।

    फिल्मको पार्श्वध्वनि सुहाउँदो लाग्छ । गीत संगीत राम्रा छन् । त्यस्तै चलचित्रको छायांकन पक्षले भने फिल्मलाई देख्दा ‘राम्रो’ बनाएको छ । राजेश श्रेष्ठ र सुदीप बरालले फिल्मलाई कथा सुहाउँदो किसिमले क्यामेरामा उतारेका छन् ।

    फिल्मको केही पक्षले भने आनन्द दिन्छ । जस्तो कि, दीपिका र प्रशान्तको बोल्ड अभिनय, केकी अधिकारीको चरित्र, सटीक संवाद र रमेश उप्रेतीको एक्सन दृश्य ।

    साथै चलचित्रको प्रेमकथा पनि अस्वाभाविक लाग्दैन । सबै वर्गले रुचाउलान् भन्ने उद्देश्यले निर्माण गरिएको चलचित्रलाई केही घण्टाको रमाइलोका रूपमा लिने दर्शकलाई यो चलचित्रले ह्याङ्ग नगर्न सक्छ । निरन्तर चलचित्र हेरिरहने र मसालेदार सिनेमा मन पराउने दर्शकका लागि पनि यो चलचित्र रोजाइको चलचित्र बन्न सक्छ ।{लोकान्तरबाट}