Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • ‘लोकतन्त्र र प्रेस स्वतन्त्रताकालागि काँग्रेस बलियो हुनुपर्छ’

    November 19, 2018


    बुटवल, ३ मंसिर । नेपालमा नेपाली काँग्रेस र पत्रकारबिच अन्तर सम्बन्ध रहेको नेपाली काँग्रेसका नेताहरुले बताएका छन् । नेपाली काँग्रेसले स्वतन्त्र पत्रकारिताको नीति अवलम्बन गरेको र पत्रकारको पेशागत मर्यादाकालागि पनि स्वतन्त्र पत्रकारिता आवश्यक रहेको उनीहरुले बताए ।

    नेपाल प्रेस युनियन रुपन्देहीले आईतबार रुपन्देहीको देवदहमा आयोजना गरेको दीपावली विशेष शुभकामना आदान प्रदान तथा भैलो कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले वर्तमान सरकार दुई तिहाईको दम्भमा भएका कारण लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई संस्थागत गर्न समस्या भएको बताउनु भयो । उहाँले दुई तिहाईको दम्भमा सरकारले गरेका कुकृत्यलाई बाहिर ल्याउन पनि पत्रकारलाई आग्रह गर्नुभयो ।

    मेयर खत्रीले अहिले मुलुकमा काँग्रेस कमजोर भएकै कारण लोकतन्त्र र प्रेस स्वतन्त्रता पनि कमजोर हुँदै गएको बताउँदै पत्रकार र प्रेस स्वतन्त्रतालाई बलियो बनाउनकालागि पनि नेपाली काँग्रेस बलियो हुन आवश्यक रहेको भनाई राख्नुभयो ।

    उहाँले देवदह नगरपालिकामा नेपाली काँग्रेस अल्पमतमा रहँदा रहँदै पनि पार्टीलाई लज्जाबोध हुन नदिनेगरी काम गरिरहेको जानकारी गराउनु भयो । उहाँले देवदहको बिकासकालागि यातायात सञ्जाल बिस्तार, एकिकृत शहरी बिकासका कामहरु, देवदह चक्रपथका कामहरुलाई अल्पकालिन, मध्यकालिन र दीर्घकालिन रणनीति अपनाएर काम अंगाडी बढाएको जानकारी दिनुभयो ।

    त्यस्तै नगरपालिकाले देवदहलाई बुद्ध मावलीको परिचय गराउन तथा त्यसको प्रचार प्रसार हुनेगरी बुद्ध दर्शनमा आधारित बिद्यालय पाठ्यक्रम बिकास तयार गरेको र अंघिल्लो शैक्षिक सत्रदेखि नै पठन–पाठन सुरु गरिएको, नगरवासीको स्वास्थ्यको पहुँच बढाउन सबै वडामा स्वास्थ्य चौकी निर्माण अभियान सुरु गरिएको तथा कृषि तथा पशुपालनका माध्यमबाट नगरलाई आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका अंगाडी बढेको जानकारी गराउनु भयो ।

    नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य पार्वती न्यौपाने, महाधिवेशन प्रतिनीधि रामकृष्ण पौडेल, वडा नं. १० का वडा अध्यक्ष तथा महासमिति सदस्य यकबहादुर सुनार, काँग्रेस जिल्ला सदस्य मायाँ गौतम, देवदह नगर समितिका सभापति गुणाखर भुर्तेल, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकाल, नेपाल शिक्षक संघका झविन्द्रप्रसाद पाण्डे, नेपाल प्रेस युनियन रुपन्देहीका पूर्व सभापति रामराज पोखरेल, युनियन रुपन्देहीका उपसभापति कबिन्द्र नेपाल, कोषाध्यक्ष झबिन्द्र देवकोटा लगायतले भनाई राख्नुभएको थियो ।

    नेपाल प्रेस युनियन रुपन्देहीले सदस्य कल्याणकाली कोष अभिबृद्धिकालागि आर्थिक संकलन गर्ने उद्देश्यले बिभिन्न स्थानमा शुभकामना आदान प्रदान तथा भैलो कार्यक्रम गरेको थियो । सोही सन्दभर्मा आईतबार साझ बुटवलको अभरपथ सिंह कम्प्लेक्स परिषर र अस्पताललाईमा भैलो कार्यक्रम गरेको छ । यस अंगाडी रुपन्देहीको सैनामैना र तिलोत्तमा नगरपालिकामा पनि भैलो कार्यक्रम गरेको थियो ।