Wednesday 21st November 2018
  • New title for a=>html, img=>alt
  • रुपन्देहीमा स्क्रव टाईफसका बिरामीको संख्या बढ्दै

    November 1, 2018


    कबिन्द्र नेपाल/ बुटवल, १५ कात्तिक । रुपन्देहीमा स्क्रव टाईफसबाट दुई जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउन यता जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका १०३ जना स्क्रव टाईफसका बिरामी मध्ये २ जनाको ज्यान गएको लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिनुभयो ।

    रुपन्देही जिल्लामा सरकारी तथा नीजि गरी १८ वटा अस्पताल छन् । यो तथ्यांक भने ५ वटा अस्पतालको मात्रै हो । सूचना अधिकृत रेग्मीका अनुसार बुटवलका लुम्बिनी अञ्चल अस्पताल, बुटवल हस्पिटल प्रालि, गौतमवुद्ध सामुदायिक मुटु अस्पताल, खत्री नर्सिंङ होम र मणिग्रामको क्रिमसन अस्पतालमा उपचारका लागि आएका १०३ जना स्क्रप टाईफसका बिरामी मध्ये २ जनाको ज्यान गएको हो ।

    जिल्लामा भएजती सबै अस्पतालको रेकर्ड नआएकाले जिल्लाको वास्तविक तथ्यांक भने यो होईन । सबै अस्पतालको रेकर्ड आयो भने स्क्रप टाईफसका बिरामीको संख्या हजार नाघ्न सक्ने लुम्बिनी अञ्चल अस्पतालको अनुमान छ ।
    त्यस्तै पाल्पाको मिसन अस्पतालमा उपचार गराईरहेका स्क्रव टाईफसका बिरामीमध्ये ५ जनाले ज्यान गुमाएका र त्यसमा दुई जना बिरामी रुपन्देहीका छन् ।

    रुपन्देहीका बिभिन्न अस्पतालमा उपचार गराईरहेका बिरामी मध्ये मृत्यु भएकाहरु एक जना रुपन्देही बुटवल र अर्को कपिलबस्तुको भएको पनि उहाँले बताउनु भयो । यसले रुपन्देही जिल्लामा स्क्रव टाईफसको समस्या बढ्दै गएको उहाँ बताउनु हुन्छ । मुसाको शरीरमा हुने एक किसिमको किर्नाले टोकेकर स्क्रव टाईफस हुने गर्दछ ।यो झाडी तथा फोहोर स्थानमा पनि हुन्छ ।

    फिजिसियन डा. सुदर्शन थापाका अनुसार स्क्रव टाईफस आँखाले देख्न नसकिने ओरेन्सीया सट्सुगामुसी नामको व्याक्टेरीयाको संक्रमणबाट हुने गर्दछ । स्क्रव टाईफस भएको बिरामीमा सुरुसुरुमा ज्वरो आउने तथा टोकेको ठाउँमा घाउ तथा दाग समेत देखिन सक्छ । त्यस्तै टाउको दुख्ने, शरीरमा बिमिरा आउने, खोकी लाग्ने, स्वासप्रस्वास, दिमाग तथा किड्नीमा समेत समस्या देखिन सक्छ । र बिरामीको पहिचान नहुने तथा उपचार नपाउने भएमा मृत्यु समेत हुन सक्ने उहाँले बताउनु भयो ।

    बिरामीमा रोगको समयमै पहिचान हुन सक्यो र उपचार भयो भने यो सामान्य रोग हो । यसको औषधी पनि खासै महंगो नभएको र हप्ता १० दिनको औषधी सेवनले समस्या समाधान हुने उहाँ बताउनु हुन्छ । अन्तर्राष्ट्रिय तथ्यांक अनुसार विश्वमा स्क्रव टाईफसको कारण रोग लागेका बिरामी मध्ये १० प्रतिशतको ज्यान जाने गरेको छ ।

    नेपालमा सन् २०१२ तिरबाट देखिन थालेको स्क्रव टाईफसका बिरामीको संख्या वर्षेनी बढ्दै गएको छ । अंघिल्लो वर्ष रुपन्देही जिल्लामा ८९ जना स्क्रव टाईफसका बिरामी देखिएका थिए । जसमध्ये उपचारकै क्रममा ४ जनाले ज्यान गुमाएको तथ्यांक लुम्बिनी अञ्चल अस्पतालसंग छ । चालु आर्थिक वर्षको ४ महिना पुरा नहुँदै १०३ जना बिरामी भेटिनुले पनि यसको संख्या बढ्दै गएको पुष्टी गर्छ ।