कानुन निर्माण पुरा भएपछि सहकारी व्यबस्थित हुन्छ : मन्त्री पौडेल

832

कानुन निर्माण पुरा भएपछि सहकारी व्यबस्थित हुन्छ : मन्त्री पौडेल

बुटवल, २१ असार । शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा विषयत सहकारी मर्जरलाई जोड दिईएको छ । ९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा बचत तथा ऋण सहकारी संघ रुपन्देहीले आयोजना गरेको सहकारी एकिकरण, आवश्यकता र चुनौती विषयक गोष्ठिमा विषयगत सहकारी मर्जरकालागि जोड दिईएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश पाँच भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीलाई सुदृण र मजबुद बनाउनकालागि विषयगत सहकारी एकिकरण गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले तीन खम्बे अर्थनीतिमा सहकारीलाई प्रमुख खम्बा मानेकाले प्रमुख खम्बा बलियो बनाउनकालागि पनि विषयगत सहकारी मर्जरको विकल्प नभएको उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले मुलुकको संक्रमणकालिन अवस्था र संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारले बनाउनु पर्ने कानुनहरु निर्माण गर्न केही समय लागेका कारण सहकारी व्यबस्थापनमा केही समस्या भएपनि कानुन निर्माणसंगै सबै प्रकारका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय सहकारी महासंघका महासचिव चन्द्रप्रसाद ढकालले नीतिगत तहबाट वेलावेलामा फोर्स मर्जरको कुरा सुनिने गरेको बताउँदै सहकारी आफैमा स्वतन्त्र र स्वायत्त संस्था भएकाले एकिरण र विभाजन पनि सदस्यहरुको आवश्यकता र चाहनाको आधारमा हुनु पर्ने भनाई राख्नुभयो । उहाँले सहकारी आपसमा एकिकरण हुँदा राज्यको नीति प्रवद्र्धन र नियमनाकालागि पनि सहज हुने भएकाले एकिकरणमा जाँदा सुविधा दिईनु पर्ने बताउनु भयो । सहकारी मर्जर हुँदा सुदृण र बलियो पनि हुने भएकाले सरकारले एकिकरणकालागि प्रेरित गर्नुपर्ने उहाँले भनाई राख्नुभयो ।

महासंघका लेखा संयोजक दामोदर अधिकारीले नेपालमा झण्डै ३५ हजार सहकारी रहेको तथ्याँक प्रस्तुत गर्दै यो संख्या अत्यधिक भएको बताउनु भयो । उहाँले बचत तथा ऋण सहकारी बढी भएकाले बचत तथा ऋण सहकारीलाई मर्जरका लागि अधिक प्रेरित गरिनु पर्ने भनाई राख्नुभयो । सरकार नियमन प्रवद्र्धनमा कमजोर, स्थानीय तहमा क्षमताको अभाव तथा प्रदेशमा कानुनको अभाव रहेको उल्लेख गर्दै व्यक्तिगत टकराव, राजनीतिक स्वार्थ, नेतृत्वको होडबाजी, राष्ट्रिय अनुकुल नीतिको अभाव, व्यक्तिगत स्वार्थ, संस्थाको असमान हैसियत लगायतका कुराहरु एकिकरणकालागि चुनौतीका बिषय रहेको उहाँले बताउनु भयो ।

बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी संघका केन्द्रीय सदस्य कृष्ण नेपाल, संघका सल्लाहकार खगराज शर्मा, कृषि सहकारी संघका केन्द्रीय सञ्चालक नरबहादुर घर्ती, जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष डोलप्रसाद अर्याल, बचत तथा ऋण सहकारी संघका जिल्ला उपाध्यक्ष कृष्ण चौहान लगायतले सहकारी ऐनले निर्दिष्ट गरे अनुसार सहकारीको मजबुद गराई उत्पादनमा कसरी जोड्नकालागि विषयगत सहकारीलाई मर्जर गर्न सकिन्छ सबैले सोंच्नुपर्ने भनाई राख्नुभएको थियो । त्यसै अवसरमा संघले प्रकाशन गरेको दिवस विशेषांक सहकारी बुलेटिन बिमोचन गरिएको थियो ।