रिब्दीकोट ख्याहा–रुपन्देही सम्पर्क समाजमा रक्तदान

746

रिब्दीकोट ख्याहा–रुपन्देही सम्पर्क समाजमा रक्तदान

बुटवल, ३ भदौ । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहा–रुपन्देही सम्पर्क समाजको आयोजनामा नियमित कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरिएको छ । मंगलबार रुपन्देहीको शंकरनगरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको संस्थाका उपाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक जगदिश न्यौपानेले जानकारी दिनुभयो ।

रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, सल्लाहकार तथा शुभचिन्तकहरुले रक्तदान गरेका थिए । कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाका वडा अध्यक्ष विष्णु गैरेले संस्था स्थापना भएको छोटो समयमा नै सामाजिक काममा सक्रियता प्रदर्शन गरेको भन्दै स्रहाना व्यक्त गर्नुभयो ।

उहाँले संस्थाले ख्याहा र रुपन्देहीमा रहेका ख्याहालीलाई जोड्न पुलको काम गर्न सुझाव दिनुभयो । त्यसको लागि आफूले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष तुलसीराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार तथा समाजसेवी गिरीराज गैरे (राजु), सल्लाहकार मेघराज न्यौपाने, गोपाल पराजुली लगायतले संस्थाले गरेका गतिबिधि सहित रक्तदान कार्यक्रमको बारेमा चर्चा गर्नुभएको थियो ।

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहा र त्यस ठाउँबाट रुपन्देहीमा आई बसोबास गरेका व्यक्तिहरु बिच आपसी सद्भाव तथा भाईचारा अभिबृद्धि गर्ने तथा ख्याहा र रुपन्देहीको बिचमा समन्वय गर्ने गरी गत वर्ष मात्रै ख्याहा–रुपन्देही सम्पर्क समाज स्थापना गरिएको अध्यक्ष तुलसीराम पराजुलीले जानकारी दिनुभयो ।

संस्था स्थापना भएपछि संस्थाको उद्देश्य अनुसारका काम सहित सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय असक्तहरुकालागि सहयोग प्रदान गर्ने तथा ख्याहालीहरुका बिचमा सद्भाव अभिबृद्धिकालागि तीज मिलन कार्यक्रम गरिएको उहाँले जानकारी गराउनु भयो । सामाजिक कामलाई निरन्तर रुपमा अंगाडी बढाईने उहाँको भनाई थियो ।