राष्ट्रिय कर सप्ताहमा उत्कृष्ट करदातालाई सम्मान

697

राष्ट्रिय कर सप्ताहमा उत्कृष्ट करदातालाई सम्मान

भैरहवा, ७ मंसिर । ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने नाराका साथ आयोजित सातौं राष्ट्रिय कर दिवस एवं कर सप्ताह कार्यक्रम विभिन्न कार्यक्रमका बिच शुक्रबार सकिएको छ । राजस्व वृद्धिमा टेवा पुराउने र करदाताहरुलाई कर शिक्षा दिने उदेश्यले मुलुकभर यहि मंसिर १ देखि ७ गतेसम्म कर सप्ताह मनाईएको थियो । विगत सातवर्षदेखि प्रत्येक वर्षको मंसिर १ देखि ७ गतेसम्म राष्ट्रिय कर दिवस तथा कर सप्ताहको आयोजना हुदै आएको छ । गतवर्ष ‘हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणमा दिगो भर’ भन्ने नाराका साथ करदाता दिवस मनाएको थियो ।

कर सप्ताहमा रुपन्देही जिल्लामा बुटवल क्षेत्रका ४ र भैरहवा क्षेत्रका २ गरी ६ वटा संस्था एवं व्यवसायीहरु सम्मानित भएका छन् । आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा आर्थिक बर्ष २०७३÷०७४ मा सबै भन्दा बढी आयकर दाखिला गर्ने मध्ये जनउत्थान बचत तथा ऋण सहकारी संस्था समानित भएको छ ।

प्रदेश पाँचका आर्थिक मामीला मन्त्रालयका सचिव थानेश्वर गौतमले मुलुक संघीय संरचनामा गएपछि दोहोरो तेहोरो कर लिएको भन्ने गुनासो व्यापक रुपमा चर्चा भईरहेकोप्रति गंभीर भएको र सर्वसाधारणले पनि कर र शुल्क छुट्टाछुट्टै हो भन्ने कुरा बुझ्न आग्रह गर्नुभयो । करदाता र कर प्रशासनविचको सम्वन्ध मैत्रीपुर्ण बनाउनुपर्ने, कर सम्वन्धी जनचेतना वढाउनुपर्ने, मुस्कान सेवा प्रभावकारी बनाउनु पर्नेमा सचिव गौतमले जोड दिनुभयो ।

कर भनेको बाध्यकारी हुन्छ जसरी पनि सरकारलाई तिर्नु पर्दछ, समयमै कर नतिरे दण्ड जरीवाना लगाएर जसरीपनि असुल उपर गरेर छोड्छ । शुल्क भनेको सेवाग्राहीले सेवा लिए वापत तिनुपर्ने हुन्छ । सरकारले कर बाध्यकारी भन्दा पनि स्वतफूर्त तिर्ने वातावरण वनाउनुपर्ने वताउदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर थापाले कर बढाउनुभन्दा करको दायरा फराकिलो पार्नुपर्ने धारणा राख्नुभयो ।

आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अर्जुन ढकालले कर प्रशासन अटोमेसनमा गएको र अब उद्योगी व्यवासायी सवैले ई–सेवाबाट घरमै वसीवसी आफै करका सेवाहरु लिने र कर रकम तिर्नसक्ने व्यवस्था आएको हुदा ईमान्दार भएर कारोवार गर्न आग्रह गर्नुभयो । यसैगरी आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत देवीप्रसाद भण्डारीले ईमान्दारसंग काम गर्नेलाई कुनै दुःख नहुने तर वेईमान गरी कर छल्नेलाई कडा कार्वाही हुने चेतावनी दिनुभयो ।

यसैगरी उद्योग वाणिज्य महासंघ प्रदेस ५ का अध्यक्ष गुणनीधि तिवारी, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, चार्टर एकाउन्टेन्ट शिवहरी शर्मा, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनीधि भण्डारी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले सरकारले उद्योग सञ्चालन गर्ने वातावरण मैत्री नीति लिएर कर निर्धारण गर्न आग्रह गर्दै व्यबसायी मैत्री कर निर्धारणले कर असुली पनि सहज हुने बताउनु भएको थियो ।

कर सप्ताहको समापन्नका अवसरमा उत्कृष्ट करदाता, उद्योगी, व्यापारी, कर्मचारीलाई सम्मान गरिएको कर अधिकृत टिकाराम चालिसेले बताउनुभयो । मुुलुकमा धेरै परिर्वतनसंगै नया–नया कार्यालयहरु स्थापना हुनेक्रम बढेपनि सरकारको ढुकुटी बढाउने राजस्व कार्यालय नवलपरासीमा स्थापना नहुदा आफूहरु अचम्मित भएको स्थानीय व्यापारी बैजनाथ चौधरीले गुनासो गरे ।

नवलपरासीमा आन्तरिक राजस्व कार्यालय भैरहवा र बुटवलले राजस्व संकलन, करदाता शिक्षा अभियानमुलक कार्यक्रमहरु गर्दै आएका छन् । नवलरासीका उद्योगी व्यापारीहरुले उद्योग वाणिज्य संघलाई दवाव दिदै परासीमा राजस्व कार्यालय स्थापनाको माग गरिरहेका छन् ।