गुठी विधेयक खारेजी माग गर्दै काठमाडौंमा उर्लियो जनसागर

530

गुठी विधेयक खारेजी माग गर्दै काठमाडौंमा उर्लियो जनसागर

काठमाडौं ।सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन गरिएको छ।

विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर सुरू भएको र्‍याली माइतीघर मण्डलतर्फ अघि बढ्दा सवारी आवागमनमा भने समस्या भएको छ। सडकमा प्रदर्शनकारीले गुठी विधेयक खारेजीको नारा लगाइराखेका छन्।

गुठियार तथा नेवा देय: दबुलगायतको आह्वानमा गुठी विधेयक खारेजी माग गर्दै प्रदर्शन गरिएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै मंगलबार विधेयक फिर्ता लिएकी थिइन्।

प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुले सरकारको नेतृत्व गरिरहेको र आन्दोलनमा उत्रिएकाहरुलाई भाडाका आन्दोलनकारी भनेका प्रधानमन्त्री विरुद्ध आक्रोश पोखेका छन् ।

आफूहरु भाडाका प्रदर्शनकारी नभई स्वतस्फूर्त रुपमा संस्कृति जोगाउनको लागि आन्दोलनमा उत्रिएको भन्दै प्रधानमन्त्री विरुद्ध उनीहरुले आक्रोश पोखेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका थिए ।