Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • सरकारले आफ्नो धज्जी आफै उडायो : बैद्य

    December 4, 2018


    बुटवल, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बुटवलमा सम्पन्न बैठकले सशक्त आन्दोलन गर्ने सहित ६ बुदे निणर्य गरेको छ । मंसिर १२ गतेदेखि १७ गतेसम्म बुटवलको ढवाहमा बसेको बैठकले गरेका निणर्य मंगलवार बुटवलमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको हो ।

    बैठकले राष्ट्रियता, जनतन्त्र,जनजीविका, हत्या, हिंसा, बलात्कार, भ्रष्ट्राचार, कर बृद्धि, सीमा अतिक्रमण लगायतका विषयलाई लिएर देशव्यापी सशक्त संघर्ष गर्नेदेखि बिभिन्न दिवस मनाउनेलगायतका निणर्य गरेको छ । निणर्य सार्बजनिक गर्न मंगलवार वुटवलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी महासचिव मोहन बैद्यले वर्तमान केपी ओली नेतृत्वको सरकार न बामपन्थी न कम्युनिष्ट पार्टी कसैको नभई संसदीय भुलभुलैयाको सरकार भएको टिप्पणि गर्नुभयो ।

    उहांले दुई तिहाई बहुमतको सरकार भएपनि सरकारसंग कुनै भिजन नभएको बताउनु भयो । राष्ट्रबादको दुहाई दिएर सरकारमा पुगेपनि नेपाली सिमा मिचिदा एक शब्द पनि नवोलेर सरकारले आफ्नो धज्जी आफै उडाएको छ बैद्यले भन्नुभयो । महासचिव वैद्यले साम्राज्यवाद र नवउदारवादको चंगुलमा फस्ने दल वामपन्थी र कम्युनिष्ट हुन नसक्ने बताउनुभयो ।

    यो सरकारबाट शान्ति र स्थिरता आउंछ भन्नु पनि बेकार कुरा भएको भन्दै वैद्यले १२ बुंदे विस्तृत शान्ति सम्झौता अनुसार काम नभएकाले शान्ति प्रक्रिया पूरा नभएको तर्क गर्नुभयो । युद्धकालका घटनालाई जोडेर थुपै्र व्यक्तिमाथि मुद्दा अझै कायम रहेको, वहिर्गमित लडाकू, घाइते र अपांगहरुको उचित व्यवस्थापन र भरणपोषण नभएको, शहीदहरुको पनि उचित सम्मान नभएकाले राजनीतिक क्रान्ति पूरा नभएको वैद्यले बताउनुभयो ।

    युद्धकालमा सेना र प्रहरीबाट विद्रोह गरेकाहरुको कारवाही पनि फुकुवा नभएको प्रसंग कोट्याउंदै उहांले पुष्पकमल दाहाल र बाबुराम भट्टराईले राजनीतिक क्रान्ति पुरा भयो भनेर हिंडेपनि त्यो पुरा नभएको दावी गर्नुभयो । चुनाव जित्न तत्कालिन एमाले र माओवादी केन्द्रले वाम गठवन्धन भनेर चुनाव लडेका र जनताले पनि भ्रममा परेर जिताएपनि व्यवहारमा यो सरकार वामपन्थी र कम्युनिष्ट दुबै नभएको तर्क गर्नुभयो ।

    संसदीय व्यवस्था विरुद्ध युद्ध गरेका प्रचण्ड अहिले त्यही व्यवस्थामा रमाएर युगान्तकारी परिवर्तन भन्दै जनतालाई धोका दिएको आरोप पनि वैद्यले लगाउनुभयो । माओवादी युद्ध संसदीय व्यवस्थाविरुद्ध र नयां जनवादी क्रान्तिका पक्षमा भएको स्मरण गर्दै वैद्यले प्रचण्डहरु घुमिफिरी रुम्जाटार भनेजस्तै संसदीय व्यवस्थामै फर्किनु विडम्वना भएको बताउनुभयो ।

    चुनावका बेला धेरै ठूला आश्वासन बांडेपनि वर्तमान सरकारले विकास र समृद्धि ल्याउन नसक्ने पनि वैद्यले बताउनुभयो । विकास वजेट खर्च गर्न, ब्यापार घाटा घटाउन, राष्ट्रियता संरक्षण गर्न र शान्ति सुरक्षा कायम गर्न नसकेको वर्तमान सरकारले कसरी विकास र समृद्धि ल्याउन सक्छ प्रतिप्रश्न गर्नुभयो । राष्ट्रवादको दुहाई दिएर चुनाव जितेर सरकारमा पुगेको पार्टीले भारतले बनाएको कालापानीको नक्सा प्रयोग गर्नु, १० हजार वर्ग किलोमिटर भन्दा बढी नेपाली भूमि भारतबाट मिचिंदा, सीमा स्तम्भ फालिंदा पनि चुप लागेर बस्नुले नेकपा र केपी ओलीको राष्ट्रवाद उदांगो भएको टिप्पणी गर्नुभयो । क्रान्तिकारी कम्युनिष्टबीच एकताको पक्षमा आफूहरु रहेपनि तत्काल नेत्रविक्रम चन्द नेतृत्वको नेकपासंग एकता संभव नरहेको वैद्यले स्पष्ट पार्नुभयो ।

    पत्रकार सम्मेलनमा पार्टीका नेताहरु परि थापा र प्रेम सुवेदीले वैठकले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवाललाई लिएर चरणवद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको जानकारी गराउनु भयो । यस्तै राष्ट्रिय स्वाधीनताका पक्षमा मेची महाकाली राष्ट्रिय जनजागरण अभियान संचालन, संयुक्त मोर्चाको पहलमा चैत २४ गते जनआन्दोलन दिवस पारेर जनपरिचालनसहित काठमाडौं केन्द्रीत कार्यक्रम र आम हड्तालसम्मका कार्यक्रम गर्ने वैठकले निर्णय गरेको समेत उहांहरुले जानकारी गराउनु भयो ।