Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • सरकारले जनमत गुमाउँदै गए परिणाम उल्टिने : अध्यक्ष दाहाल

    January 6, 2019



    बुटवल, २२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धिलाई असफल पार्ने अनेकौं प्रयास भईरहेको बताउँदै सरकारले जनमत गुमाउँदै गए परिणाम उल्टिन पनि सक्ने बताउनु भएको छ ।

    पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेकपा अधयक्ष प्रचण्डले प्राप्त उपलब्धिलाई उल्ट्याउनकालागि अनेकौं प्रयत्नहरु भईरहेको बताउँदै उहाँले जनमत गुमाउँदै गए परिणाम प्रतिक्रान्तिको पक्षमा जाने बताउनु भएको हो । पराजित शक्तिहरु उपलब्धि उल्ट्याउनकालागि दशौं गुणा शक्तिशाली भएर आएको बताउँदै उहाँले कमजोरीलाई आत्मसाथ गरी जनमत कायम राख्न नसकिए अवस्था प्रतिकुल आउन सक्ने औंल्याउनु भयो ।

    ‘अहिले निकै ठूलो अवसर छ, चुनौती पनि छ ।’ उहाँले प्रधानमन्त्री केपी ओली तर्फ ईंगित गर्दै भन्नुभयो–‘जनतालाई परिणाममा समृद्धि दिएर कम्युनिष्ट आन्दोलनलाई अंगाडी बढाउन सक्ला ? सबैको चासो र चिन्ता छ ।’

    बुटवलका पुराना पत्रकार कर्णबहादुर कार्कीले प्रकाशन सुरु गरेको ‘लोक अभियान’ पाक्षिक पत्रिकाको आईतबार बुटवलमा लोकार्पण गर्दै उहाँले क्रान्ति पूर्ण रुपमा सफल भईनसकेको र ऐतिहासिक उद्देश्यमा एक हुन नसके ठूलो दुर्भाग्य हुने बताउनु भयो ।

    उहाँले दोस्रो विश्वयुद्ध पछि आक्रामक बनेको कम्युनिष्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुगेको उल्लेख गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अंगाडी बढाउन आवश्यक रहेको बताउँदै कम्युनिष्ट आन्दोलनले उठाएका एजेण्डालाई स्थापित गर्नकालागि रणनैतिक रुपमा समाजवादको मोडालिटी पनि नयाँ आविश्कार गर्नुपर्ने भनाई राख्नुभयो ।

    कार्यक्रममा बोल्दै उक्त पत्रिकाका प्रकाशक तथा सम्पादक कर्णबहादुर कार्कीले वर्तमान राजनीतिलाई गतिदिनकालागि दाहालकै आग्रहमा पत्रिका प्रकाशन सुरु गरेको बताउनु भयो । त्यस्तै लेखक दिल साहनीले पत्रकारिता सत्ताको चौकीदार र प्रतिपक्षको भूमिकामा रहनुपर्नेमा जोड दिनुभयो । उनले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउन आवश्यक रहेको पनि बताए ।