रुपन्देहीका पाँच बिद्यालयका बिद्यार्थीलाई सैन्य तालिम

830

रुपन्देहीका पाँच बिद्यालयका बिद्यार्थीलाई सैन्य तालिम

कबिन्द्र नेपाल
बुटवल, ११ पुस । रुपन्देहीका पाँच बिद्यालयका बिद्यार्थीलाई नेपाली सेनाले सैन्य (राष्ट्रिय सेवा दल) तालिम प्रदान गरेको छ । बुटवलको कालिका माध्यमिक बिद्यालय, कान्ति माध्यमिक बिद्यालय, तिलोत्तमाको दुर्गादत्त माध्यमिक बिद्यालय, जनजागृती माध्यमिक बिद्यालय र सिद्धार्थनगरको भैरहवा नमुना माध्यमिक बिद्यालयका बिद्यार्थीलाई नेपाली सेनाले सैन्य तालिम प्रदान गरेको हो ।

एक बिद्यालयबाट ३६ जना छात्रछात्रालाई तालिम प्रदान गर्ने गरी रुपन्देहीका पाँच बिद्यालयलाई स्वीकृति माग भएबमोजिम तालिम प्रदानका लागि स्वीकृति प्रदान गरिएको रुपन्देहीका जिल्ला शिक्षा अधिकारी रामचन्द्र खनीयाले जानकारी दिनुभयो । त्यसबाहेक अन्य सबैकुरा नेपाली सेनामा निहित हुने भएकाले जिल्ला शिक्षा कार्यालयलाई केही जानकारी नहुने उहाँले बताउनु भयो ।

राष्ट्र बिकासको अभियानमा युवालाई स्वतस्फूर्त सहभागि गराउने उद्देश्यले २०२२ सालमा राष्ट्रिय सेवा दल स्थापना भएको थियो । सोही अनुसार नेपाली सेनाले राष्ट्रिय सेवा दल ऐन २०२७ मा आधारित भएर सिनियर तथा जुनियर डिभिजनका सैन्य तालिम सञ्चालन गर्दै आएको छ ।

रुपन्देहीका पाँच बिद्यालयमा सञ्चालन गरिएको तालिम जुनियर डिभिजनको हो । उक्त तालिममा १४ देखि १६ वर्ष उमेर समूहका ९० जना छात्र र ९० जना छात्रा गरी १८० बिद्यार्थी सहभागि छन् । सिनियरतर्फ १८ देखि २२ वर्ष उमेर समुहका हुनेछन् ।

बुटवलको कालिमा माबि, कान्ति माबि र तिलोत्तमाको दुर्गादत्त माबि तथा जनजागृती माबिमा रामनगर व्यारेक जवरजंग गणले तालिम प्रदान गरेको तथा भैरहवाको भैरहवा नमुना माबिमा नं. २ चण्डीप्रसाद गणले तालिम प्रदान गरेको रुपन्देहीका पाँच बिद्यालयमा भएका तालिमका संयोजक नेपाली सेनाका जम्दार भरत अधिकारीले जानकारी दिनुभयो ।

युवामा सैन्य तालिमको बढ्दो मागका कारण गत आर्थिक वर्षदेखि नेपाल सरकारले तालिमलाई विशेष प्राथमिकतामा राखेको कालिका माध्यमिक बिद्यालयका बिषय शिक्षक राजु शर्मा भुसालले बताउनु भयो ।

उक्त जुनियर तहको सैन्य तालिममा डिल, खुकुरी डिल, मास पिटी, टाईगनटु, डान्स, पब्लिक स्पिलिङ्, अनुशासन लगायतका कुरा सिकाएर देशमा स्वयम सेवक तयार पारेर पठाउने जम्दार अधिकारी बताउनु हुन्छ ।

जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिएका बिद्यालयबाट बिद्यार्थी छनौट गर्ने र छनौट भएका बिद्यार्थीलाई पहिलो चरणमा पढाईमा बाधा नपर्नेगरी बिद्यालयमै ७९ दिनको तालिम प्रदान गरिने र दोस्रो चरणमा सेनाको व्यारेकमा लगेर २१ दिनको तालिम प्रदान गरिने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय सेवा दलको तालिमबाट बिद्यार्थीको नियमित पठनपाठनमा कुनै बाधा नपार्ने गरी बिदाको समय मिलाईने पनि उहाँले बताउनु भयो ।

यस्तो प्रकारको सैन्य तालिम छिमेकी मुलुकहरु भारत तथा चिनमा पनि हुन्छ । भारत तथा चिनमा हुने सैन्य तालिममा बिद्यार्थीलाई हतियार सहितको तालिम प्रदान गरिने भएपनि यहाँका बिद्यालयमा सञ्चालन गरिएको जुनियर डिभिजन सैन्य तालिममा हतियार बिहिन तालिम प्रदान गरिएको सेनाले बताएको छ । सिनियर डिभिजन तालिममा भने हतियार सहित तालिम प्रदान गरिने बताईएको छ । सिनियर डिभिजनको तालिम बिशेषगरी काठमाण्डौमा सञ्चालन हुन्छ । रक्षा मन्त्रालय अन्तरगत नेपाली सेनाले अहिले सैन्य तालिम ७४ जिल्लामा सञ्चालन गरेको छ ।

कालिका माध्यमिक बिद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले सैन्य तालिमले बिद्यार्थीलाई अनुशासित बनाउने र देशको प्रेमभाव बढाउने भएकाले सबै बिद्यालयमा तालिम चलाए धेरै राम्रो हुने बताउनुभयो ।