शान्तिकै मार्गबाट समस्याको समाधान खोजौं : प्रमुख सचेतक खाँण

391

शान्तिकै मार्गबाट समस्याको समाधान खोजौं :  प्रमुख सचेतक खाँण

बुटवल, २ चैत । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले वार्ताको ढोका बन्द गरेर विप्लव नेतृत्वको नेकपालाई भूमिगत बनाउने काम गरेको आरोप लगाउँदै बार्ताको ढोका खोल्न र सो पार्टीलाई पनि शान्तिको मार्गमा आउन आग्रह गर्नुभएको छ । अव राज्य बिद्रोहलाई नेपाली जनताले थेग्न नसक्ने उल्लेख गर्दै उहाँले विद्रोह त्यागेर शान्तिको बाटोमा आउन आग्रह गर्नुभएको हो । उहाँले त्यसकालागि सरकारले पनि वार्ता संवादकै माध्यमबाट समस्याको समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका नेता खाँणसंग नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरकारले संवाद र छलफलको ढोका बन्द गरेर जवरजस्त भूमिगत बनाउने काम गर्न नहुने बताउनु भयो । ‘सरकारबाटै विप्लव नेकपालाई जवरजस्त भूमिगत बनाउने काम भएको छ ।’ उहाँले भन्नुभयो–‘विप्लव पनि विद्रोह छोडेर शान्तिपूर्ण राजनीतिमा आउनु पर्छ र सरकारले पनि शान्तिको बाटो बन्द गर्नु हुँदैन ।’

पूर्व मन्त्री समेत रहनुभएको नेता खाँणले नेपाली जनतामा रहेको संसदीय व्यबस्था प्रतिको भरोसालाई सबैले स्वीकार गरेर त्यसैका माध्यमबाट मुलुकको दीर्घकालिन बिकास खोज्नुपर्ने भनाई राख्नुभयो ।

मुलुकको एकता र अखण्डता प्रतिकुल हुनेगरी गतिबिधी गर्दै आएका सिके राउत मुल धारको राजनीतिमा आउनु राम्रो भएपनि सरकारसंगको संझौता पछि पनि पुरानै गतिबिधि गर्नुले आशंका उत्पन्न गराएको बताउनु भयो । उहाँले मुलुकको एकता र अखण्डता प्रतिकुल हुनेगरी जनमत संग्रह हुनै नसक्ने बताउँदै संविधानकै वरखिलाव हुनेगरी स्वयम सरकारले सम्झैता गर्नु राम्रो नभएको प्रतिकृया दिनुभयो । उहाँले भन्नुभयो–‘सरकार असफल नहोस, सरकार नचिप्लीयोस भन्ने हाम्रो भनाई हो ।’

फरक प्रसंगमा नेता खाँणले प्रदेश सभाले प्रदेश पाँचको राजधानी र नामाकरण चाडो टुंगो लगाउन पनि आग्रह गर्नुभयो । विश्व पर्यटनको केन्द्र लुम्बिनी, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय स्तरको बुटवल सम्मेलन केन्द्र, बिकास पूर्वाधार लगायत सबै कारणले प्रदेशको राजधानी पूर्ववर्ती देउवा सरकारले बुटवल तोकको स्मरण गर्दै सोही अनुसार प्रदेशको स्थायी राजधानी बुटवल र लुम्बिनी नाम राख्न पनि उहाँले आग्रह गर्नुभयो । प्रदेशको स्थायी राजधानीको अन्यौलले प्रदेशको दीर्घकालिन बिकासमा पनि प्रभाव पार्ने भनाई उहाँले राख्नुभयो ।

उहाँले अहिले ठूला ठूला आयोजनाहरु पनि टेण्डर बिना नै प्रधानमन्त्रीले तोक लगाउने गरी ल्याउन लागिएको विधेयकमा नेपाली काँग्रेसको असहमती रहेको बताउँदै त्यस्तो विधेयक आएमा बिकास निर्माणलाई नै गम्भिर प्रभाव पार्ने उल्लेख गर्नुभयो । युनियन रुपन्देहीको सभापति रेखा भुसालको सभापतित्वमा भएको कार्यक्रम उपसभापति कबिन्द्र नेपालको सञ्चालनमा भएको थियो ।