सुस्तामा पुल निर्माणले गति लिन सकेन

1.1K

सुस्तामा पुल निर्माणले गति लिन सकेन

नवलपरासी, २२ बैशाख । जति बेला भारतीय अतिक्रमित भूमि सुस्तालाई नेपाली भूमिसंग सोझै जोड्ने गरी नारायणी नदीमा झोलुङ्गे पुल निर्माणको लागि ठेक्का लाग्यो, त्यति बेला सुस्ताका बासिन्दामा खुसीको सीमा थिएन । लाग्थ्यो उनीहरुलाई एउटा युद्ध जितेका छौं । तर, त्यो खुसीको सपना विपनामा परिणत हुने दिन नजिकिंदासम्म पनि पुल निर्माणको कामले खासै गति लिन सकेको छैन । यसले सुस्ताबासीको आशामा तुसारापात भएको छ ।

नेपाल सरकारसंग सधैं माग गर्दै आउने उनीहरुको माग मध्येको प्रमुख माग भारतले अतिक्रमण गरेको भूमि फिर्ता पाउनु पर्ने पहिलो नम्बरमा हुने गर्दथ्यो भने दोस्रो नम्बरमा नारायणी नदीमा पुल निर्माण गर्नुपर्ने हुन्थ्यो । उनीहरुले सके पक्की पुल, नभएर झोलुङ्गे पुल निर्माण गरिदिन माग गरेका थिए ।

सुस्ताबाट नेपालका अन्य भूभाग आउंन नारायणी नदीमा डुंगा तर्नुपर्ने बाध्यता छ । ढुंगा नभए भारतीय भूमि भएर जानु पर्ने बाध्यता छ । भारतले सीमामा कडाई गरिदिने र नारायणी नदीमा पानीको सहत बढ्दा डुंगा चलाउन पनि समस्या भएर आवतजावतमै समस्या हुने गर्दछ । जसले गर्दा पनि उनीहरुले नेपाली बजारमा र नेपालको अन्य भूभागसंग सहजै जोडिनका लागि नारायणी नदीमा पुल निर्माणको माग गरेका हुन् ।

नेपाल सरकारले झोलुङ्गे पुल निर्माण गरिदिने भएपछि उनीहरुको खुसीको सीमा थिएन । सम्झौता अनुसार काम अंगाडी बढेको भए गत असोज महिनादेखि नै झोलुङ्गे पुलबाट यात्रा हुने थियो । नारायणी नदीमा पुल निर्माण भए सुस्ताबासीलाई आवात जावतमा सहज हुने मात्र नभई सुस्ताको सुस्ता क्षेत्र आर्थिक रुपमा पनि समृद्ध हुदै जाने सुस्ता गाउंपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भयो । तर, सरकारले ठेक्का लगाएको चार बर्ष वितिसक्दा पनि पुल निर्माणको कामले गति लिन सकेको छैन ।

आर्थिक बर्ष ०७३÷७४ सम्ममा निर्माण गरिसक्ने गरी जिम्मा लिएको पुल ०७४÷७५ सम्म पनि काममा शून्य मै छ । कामले गति नलिएपनि स्थानीय सरकारले ठेक्केदारलाई पटक पटक ताकेता परेपछि ०७६÷७७ सम्ममा सक्ने ठेक्केदार कम्पनीले प्रतिवद्धता गरेको छ । पश्चिम नवलपरासीको पक्लिहवाबाट सुस्ता गाउंपालिकाको सुस्ता जोड्ने गरी झोलुङ्ग पुल निर्माणको लागि केभी एण्ड पशुपति कन्सट्रक्सन कम्पनीले जिम्मा लिएको हो ।

पछि उक्त पुल बनाउने जिम्मा त्रिशुली एण्ड साहारा जे भीले लिएका हो । अहिलेसम्म जमिनमुनीको पाइलिङ् गर्ने काम पनि नसकेको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनु भयो । उहाँका अनुसार ठेकेदारले अहिले ३ वटा पिल्लरको पाइलिङ् (जमिन मुनिको काम) सकेको छ । जब कि पुलको डिजाइनमा १४ वटा भन्दा बढी पिल्लर राख्नु पर्ने गरी डिजाइन गरिएको छ ।

सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले पुल निर्माण हुन सके सुस्ताबासीका आधा समस्या समाधान हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो–‘सधै भारतीय बाटो प्रयोग गरेर बजार आउजाउ गर्नु पर्दैन भने सुस्तामा उत्पादिन उखु, भेली जस्ता सामग्रीहरु सजिलै नेपाली बजारसम्म ल्याउन सकिन्छ ।’

नवलपरासीको सुस्तामा २२ करोड ८० लाखको लागतमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । उक्त पुल१ हजार पांच सय ७१ मिटर लम्बाई र १ दशमबल ७ मिटर चौडाईको हुनेछ । काममा ढिलासुस्ती गरेको ठेक्केदार कम्पनीले निर्माण स्थलमा विद्युतको सहज आपूर्ति गरिदिन माग गरेको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनु भयो । ‘काम गर्छ भन्ने विश्वास दिएको भए बिद्युत आपूर्तीको व्यबस्था मिलाउन हुन्थ्यो, कामको गति शुन्य भएकाले बिश्वास गर्ने आधार देखिँदैन ।’– अध्यक्ष पाण्डेले भन्नुभयो ।