Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • ट्याङ्करको लकिङ् सिष्टममा सुधार गर्न सुझाव

    December 5, 2018


    बुटवल, १९ मंसिर । नेपाल आयल निगमको अनुगमन टोलीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लकिङ् सिष्टममा केही सुधार गर्न सुझाव दिएको छ । नेपाल आयल निगमको ईञ्जिनियरिङ् विभागका प्रमुख राजिव शर्माको नेतृत्वमा बुधबार रुपन्देहीमा आएको अनुगमन टोलीले ट्याङ्करमा खासै कैफियत नभेटिएपनि लकिङ् सिष्टममा देखिएका त्रुटिहरु सुधार गर्न सुझव दिएको हो ।

    उक्त टोलीले बुधबार करिव २० वटा ट्याङ्करमा छड्के अनुगमन गरेको थियो । त्यसमध्ये २÷३ वटा ट्याङ्करमा लक नखुलोस भन्नकालागि प्लेट लामो बनाउन सुझाव दिईएको अनुगमनको नेतृत्व गर्नुभएका नेपाल आयल निगम ईञ्जिनियरिङ् विभागका प्रमुख शर्माले बताउनु भयो । ‘लकिङ् सिस्टम सुरु गर्यो ।’ उहाँले भन्नुभयो–‘यो के कस्तो छ, पहिले भएका त्रुटिहरु सुधार भए÷भएनन् र यसमा सुधार गर्नुपर्ने कुराहरु के के छन् भन्ने कुराहरु हेरेका हौं ।’

    यस क्षेत्रमा करिव २२० ट्याङ्करले पेट्रोलियम पदार्थ ढुवानी गर्ने निगमले जनाएको छ । ढुवानी गर्ने ट्याङ्करबाट तेल पूरा परिमाणमा नआएपछि नेपाल आयल निगमले विगत ५ महिनादेखि लकिङ् सिष्टम सुरु गरेको थियो । लकिङ् सिष्टम सुरु गरेको सुरुका महिनामा पूरा परिमाणमा पेट्रोलियम पदार्थ आएपनि त्यसपछिका महिनामा भने पेट्रोलियम पदार्थ पूरा परिमाणमा नआउने गरेको डिलर व्यबसायीहरुले गुनासो गरेका थिए ।

    बिराटनगरमा ईन्धन चोरी भएको घटना बाहिर आएपछि यस क्षेत्रमा यहि मंसिर १३ गतेदेखि केही सुधारका संकेतहरु देखा परेको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष प्रेम न्यौपानेले बताउनु भयो । बिराटनगरमा लकिङ् गरिएको ट्यांकरबाट डिजेल चोरी भएपछि निगमको केन्द्रीय कार्यालयले आन्तरिक छानबिन गर्न सुरु गरेको हो ।

    सोही अनुसार बुधबार निगमको केन्द्रीय टोलीले नेपाल आयल निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारी मातहत आउने ट्याङ्करमा छड्के चेकिङ् गरेको हो । उक्त टोलीले नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारीका अधिकारीहरुसंग पनि यस बिषयमा परामर्श लिनुका साथै साथै यसलाई कसरी सधार गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको छ ।

    कार्यालयले नियमित रुपमा ईन्धन बोक्ने सवारी साधनमा छड्के चेकिङ् गर्ने र अनियमितता गरेका पाईएमा त्यस्तालाई तुरुन्तै कारवाही गर्न सकिने बिषयमा समेत छलफल भएको ईञ्जिनियर शर्माले बताउनु भयो ।