Wednesday 21st November 2018
  • New title for a=>html, img=>alt
  • तरकारी व्यबसाय गरेर मनग्य आम्दानी

    August 7, 2018


    खेमानन्द पाठक/
    कपिलबस्तु, २२ साउन । मानिस सफल हुन ईच्छाशक्ति र जाँगर अनिवार्य छ । हाम्रो समाजले आर्थिक रुपमा सवल व्यक्तिलाई उच्च दर्जामा राख्ने गर्दछ । त्यसैकारण आर्थिक स्थिती सुधारका लागि युवाशक्ति दिनप्रतिदिन बिदेश पलायन भईरहेका छन् । आर्थोपार्जनकालागि आफ्नै माटोमा पसिना बगाउने युवा सायद बिरलै होलान् । कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं. ११ चेतीयाका दिनानाथ अर्याल गाउँमै बसेर खेती किसानी गर्ने बिरैलै मध्येका एक हुन् ।

    आफ्नो आर्थिक स्थिती सुधार गर्नकै लागि अहिका युवापिढीले परिवार छाडेर बैदेशिक रोजगारी वा नेपालमै पनि सरकारी जागिर वा गैरसरकारी संस्था धाईरहेका छन् । तर परिवारसंगै बसेर पनि अर्थोपार्जन गर्न सकिन्छ भन्ने सन्देश दिनानाथले दिएका छन् । आफ्नो परिवार छाडेर हिड्न सायद कसैलाई मन हुँदैन । दिनानाथले पनि अफ्ना परिवार छाडेर हिड्नु भन्दा खेती किसानी गरेरै धन कमाउने सपना देखे, र कृषि व्यबसाय अवलम्बन गरे । अहिले उनको दिनचर्या व्यबसायिक तरकारी खेतीमा बितेको छ । लामो समयदेखि तरकारी खेती गरेर मनग्य धन कमाएर गाउँमा नमुना किसान बनेका दिनानाथ मौषमी तथा वेमौषमी तरकारी उत्पादनमा तल्लिन छन् ।

    व्यबसायिक तरकारी खेती गर्नकालागि प्रयाप्त जमिन छैन दिनानाथसंग । तर पनि उनले आँट गरेर जग्गा लिजमा लिए । लिजमा दिएको जगगामा मौषमी तथा वेमौषमी रुपमा लौका, भिन्डी, वोडी, काँक्रा, चिचिन्ना, टमाटर, खुर्सानी, करेला, घिरौला उत्पादन गर्दै आएका छन् । अर्गानिक तरकारी उत्पादनकालागि दिनानाथले बाख्रा तथा भैसी समेत पालेका छन् । बाख्रा तथा भैसीको गोवर मलको रुपमा प्रयोग गर्ने र त्यसमा रासायनिक मलको प्रयोग नगर्ने दिनानाथले तरकारी तथा बाख्राबाट समेत आम्दानी गर्दै आएका छन् ।

    त्यसरी उत्पादन भएको तरकारी अर्गानिक र ताजा हुने भएकाले धेरैजसो ग्राहकहरु घरमै पुगेर खरिद गर्ने दिनानाथ बताउँछन् । बढी भएको तरकारी नजिकैको बजारमा बिक्रि गर्ने दिनानाथले बाख्रा तथा तरकारीबाट सरदर बार्षिक ५ लाख रुपैंया कमाउने गरेको बताए ।
    श्रीमति र दुई छोराछोरीको अभिभावक दिनानाथको तरकारी व्यबसायमा परिवारको पनि सहयोग मिलेको छ । मिहेनत गर्न सके घरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने प्रेरणाका स्रोत बनेका छन् उनी चेतीयामा । आफूले गरेको व्यबसाय हेर्न आउनेलाई खेती गर्ने तौरतरिका सिकाएर हौसला र उत्साह दिएर पठाउने गरेका छन् ।

    उनले गाउँबाट पैसाकमाउन पलायन भएकालाई फर्केर व्यबसायिक कृषि पेसामा लाग्न सुझाव दिएका छन् । उर्जाशिल समय व्यबसायिक तरकारी खेतीमा बिताएका दिनानाथ बाँकी जीवन पनि यहि पेसामा नै बिताउने बताउँछन् ।