Wednesday 24th April 2019
  • New title for a=>html, img=>alt
  • क्षयरोगका कारण अघिल्लो आर्थिक वर्षमा २३८ को मृत्यु

    March 24, 2019


    बुटवल, १० चैत । प्रदेश नम्बर ५ को रुपन्देही क्षयरोगका विरामी धेरै भएको जिल्लाका रुपमा देखिएको छ । प्रदेश नम्बर ५ मा रहेका १२ जिल्ला मध्ये रुपन्देहीमा क्षयरोगका विरामी धेरै छन् । प्रदेश ५ मा ७ हजार २९ जना क्षयरोगका विरामी पत्ता लागेका मध्ये रुपन्देहीमा मात्र १ हजार ४ सय ८६ जना विरामी रहेको प्रदेश नम्बर ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    प्रदेशको रुकुममा सबैभन्दा कम ५२ जना विरामी पत्ता लागेका छन् भने रुपन्देहीपछि दाङमा १ हजार १ सय ६४ र त्यसपछि ८ सय ४४ फेला फेला परेको बाँके तेस्रो नम्बरमा रहेको छ । फेला परेका विरामी मध्ये सबैभन्दाबढी १५ देखि २४ उमेरका रहेका छन् । आर्थिक वर्ष २०७४÷७५ को आकडा अनुसार यो अवधिमा प्रदेश ५ मा २३८ जनाले ज्यान गुमाएको तत्थ्याङ्क छ ।

    संक्रमित भएका मध्ये मृत्यु हुनेको दर ४ प्रतिशत छ । क्षयरोग संक्रमण भएका विरामीमा कपिलबस्तुमा सबैभन्दा बढीले ज्यान गुमाएका छन् । कपिलबस्तुमा क्षयरोगको संक्रमण भएका विरामीमा ४३ जनाले र रुपन्देहीमा १२ जनाले गएको आर्थिक वर्षमा ज्यान गुमाएका हुन् । मानिस मृत्युमा क्षेयरोग सातौं नम्बरमा रहेको वरिष्ठ जनस्वास्थ्य प्रशाशक रोषनलाल चौधरीले बताउनु भयो ।

    क्षयरोगका विरामी पत्ता नलाग्ने र पत्ता लागेकाहरु उपचारको पहुँचमा आउन नसक्नु ठुलो चुनौती देखिएको प्रदेश पाँच स्वास्थ्य निर्देशनालयका निर्देशक दिनेशकुमार चापागाईले बताउनु भयो । नेपालमा क्षयरोगका विरामी उपचार सफलताको दर ९१ प्रतिशत रहेपनि उपचारकै पहुँचमा नआउने र विचमै औषधी सेवन नगर्दा विरामीको संख्या बढ्ने गरेको बताईन्छ । निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेश ५ मा ६ सय ९० क्षयरोगको उपचार केन्द्र, १ सय १५ प्रयोगशाला र ११ वटा जीन एक्सपर्ट केन्द्रबाट क्षयरोगको उपचार तथा निदान सेवा प्रदान गरिदै आएको छ ।

    तरपनि उपचारको पहुँचमा नआउने र निजी स्वास्थ्य संस्थाबाट विरामीले उपचार गर्ने गरेका कारण उपचारमा नियमितता नहुने र समस्या आउने गरेको बताईन्छ । यसैबीच नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगका विरामी थपिने गरेका छन् भने प्रदेश ५ मा ३२ हजार ४ सय ७४ जना क्षयरोगका विरामी पत्ता लागेको निर्देशनालयले दिएको तथ्याङकले देखाएको छ ।

    यसैबीच प्रदेस ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले म क्षयरोग रोक्न प्रतिवद्ध छु भन्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ । विश्व क्षयरोग विरुद्धको दिवस मार्च २४ को अवसरमा प्रदेश ५, स्वास्थ्य निर्देशनालयद्वारा आईतबार बुटवलमा आयोजना गरिएको गरिएको अन्तरक्रिया कार्यक्रममा मन्त्री बरालले सबैको सहयोग सहकार्यबाटमात्र प्रदेशलाई क्षयरोग मुक्त प्रदेश बनाउन सकिने बताउनु भयो । उहाँले खानपान, रहनसहन र घुमफिर गर्दा ब्यक्ति आफै स्वास्थ्यका बारेमा सचेत हुन आग्रह गर्नुभयो ।

    हजारौ स्वास्थ्यकर्मी परिचालन गर्दा र निशुल्क औषधी उपचारगर्दा पनि विरामीको संख्या बढ्ने र मृत्युको दर घटाउन नसकिनु आफैमा समस्या भएको बताउँदै मन्त्री बरालले नयाँ केस कसरी पत्ता लगाउन सकिन्छ भन्ने विषयमा छलफल भईरहेको बताउनु भयो । विश्व स्वास्थ्य संगठनले यो वर्ष ‘ईट्स टाईम फर एक्नस…’ भन्ने नारा तय गरेको छ भने नेपालमा पनि ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नारा तय गरिएको छ ।

    विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको दीर्घकालिन क्षयरोग निवाहरण रणनीति (२०१५–२०३५) लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय क्षयरोग कार्यक्रमले अवलम्बन गरि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना (२०१६–२०२१) तयार गरि कार्यान्वयमा ल्याएको छ । यसले क्षयरोग कार्यक्रममा देखिएका चुनौतीहरुको सामना गर्दै आशातित प्रतिफल हासिल गर्न मद्दत पुगने अपेक्षा गरिएको छ ।