उपत्यका बाहिर पहिलो पटक तिलोत्तमामा बिएससी ईन्भारमेन्ट

601

उपत्यका बाहिर पहिलो पटक तिलोत्तमामा बिएससी ईन्भारमेन्ट

बुटवल, २० साउन । बिज्ञान र व्यवस्थापन विषयमा पश्चिम नेपालको उत्कृष्ट क्याम्पसका रुपमा स्थापित तिलोत्तमा क्याम्पसले काठमाण्डौ बाहिर पहिलो पटक विज्ञान विषयमा वातावरणीय शिक्षाको कक्षा संचालन गर्ने भएको छ । पोखरा विश्व विद्यालयबाट संवन्धन लिएर २०५६ सालदेखि बीबीएको अध्यापन गदै आएको तिलोत्तमा क्याम्पसले यसै शैक्षिक शत्रदेखि स्नातक तहमा विज्ञान विषयमा वातावरणीय शिक्षाको पढाई संचालन गर्न लागेको क्याम्पसले आईतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा क्याम्पसका प्राचार्य रामचन्द आचार्यले वातावरणीय प्रभाव मुल्यांकनमा देखिएको समस्या समाधान गर्न आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले वातावरणीय शिक्षाको अध्यापन गर्न लागिएको जानकारी गराउनु भयो । बि.एस.सी इन्भारमेन्ट साईन्स अध्ययनकालागि उच्च माबिमा बिज्ञान बिषय पढेको हुनु पर्ने र सबै बिषयमा कम्तिमा सी ग्रेड अनिवार्य हुनु पर्ने उहाँले जानकारी गराउनु भयो ।

बि.एस.सी इन्भारमेन्ट साईन्स अध्यापनकालागि विश्वबिद्यालयले ४८ जना बिद्यार्थीको कोटा निर्धारण गरेको छ भने जसमा ५ जना बिद्यार्थीलाई विश्वबिद्यालयले पूर्ण छात्रबृत्ति प्रदान गर्नेछ । बाँकी ४३ जना क्याम्पस स्वयमले बिद्यार्थी भर्ना गर्न पाउने छ । चार वर्षे कोर्षको ८ सेमेस्टरमा पढाई हुने बि.एस.सी इन्भारमेन्ट साईन्स अध्ययनकालागि कलेजले पहिलो वर्षका बिद्यार्थीलाई ५ लाख रुपैंया शुल्क निर्धारण गरेको छ । पत्रकार सम्मेलनमा क्याम्पस संचालक समितिका अध्यक्ष रामचन्द्र ढकालले पछिल्लो समयमा विकास निमार्णका कार्य गर्दा वातावरण विज्ञको आवस्यकतालाई मध्यनजर गरी क्याम्पसले वातावरणीय शिक्षाको पढाईलार्ई अगाडि बढाएको बताउनुभयो ।

अहिले भैरहेका बिकास निर्माणका काममा बातावरणीय प्रभावको मुल्याङ्कन नगराई काम गर्ने प्रबृत्तिले हरेक निर्माण बातावरणमा नकारात्म प्रभाव परिरहेको उहाँको भनाई छ । सरकारले पनि प्रत्येक स्थानीय तहमा कम्तिमा एक जना वातावरण मुल्याङ्कन विद हुनुपर्ने प्रावधान अंगाडी सारेको छ भने हरेक भौतिक पूर्वाधार निर्माणमा वातावरणीय पक्षको मुल्याङ्कन अपरिहार्य छ । तर अहिले मुलुकमा वातावरण विदको अभाव छ । यस कारणले पनि वातावरणी शिक्षा अध्ययन गर्ने बिद्यार्थीकालागि नेपालमै अवसरको उच्च सम्भावना देखिएको सञ्चालक समितिका अध्यक्ष ढकालले बताउनु भयो ।

विस २०५३ सालमा यस क्षेत्रका प्राज्ञिक व्यक्तिहरुको सक्रियतामा शुरु गरिएको तिलोत्तमा क्याम्पस पश्चिम नेपालको मात्र नभई उत्कृष्ट शैक्षिक नतिजा दिने समग्र नेपालकै शैक्षिक प्रतिष्ठानका रुपमा स्थापित भएको छ ।