Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • सकियो तिलोत्तमा व्यापार मेला

    December 4, 2018


    मणिग्राम, १८ मंसिर । ‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार बिबिधीकरण’ भन्ने नाराका साथ रुपन्देहीको तिलोत्तमामा सञ्चालन गरिएको तिलोत्तमा औद्योगिक व्यापार मेला सकिएको छ ।

    उद्योग व्यापार संगठन रुपन्देहीको तिलोत्तमा शाखाको मुख्य आयोजना तथा उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा यही मंसिर ६ गतेदेखि संचालित महोत्सवको समापन गर्दै प्रदेश पाँचका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले नेपाल कृषिमा आधारित अर्थतन्त्रमा निर्भर रहेकाले अब सरकारले कृषिलाई प्राथमिकता दिने र नीजी क्षेत्रलेपनि त्यसमा सहयोग गर्न उनले आग्रह गर्नुभयो । उहाँले उत्पादक र उपभोक्ता बीचको प्रत्यक्ष मिलन बनाउन महोत्सवको महत्वपूर्ण भूमिका हुने पनि उल्लेख गर्नुभयो ।

    ४ सय स्टल रहेको महोत्सवमा २० करोडको आर्थिक कारोवार भएको र २ लाख ५० हजार दर्शकले अवलोकन गरेको महोत्सव मुल आयोजक समिति संयोजक तथा उद्योग व्यापार संगठन रुपन्देहीको तिलोत्तमा शाखा अध्यक्ष सत्यब्रत ज्ञवालीले जानकारी गराउनु भयो ।

    त्यस्तै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले नीजी क्षेत्रले आयोजना गर्ने महोत्सवहरुमा सरकारी क्षेत्रको सक्रिय भूमिका हुनुपर्ने बताउनु भयो । उहाँले उद्योग मैत्री कानुन निर्माण गर्ने, उत्पादन मैत्री, उद्योग मैत्री वातावरण तयार गर्न पनि सरकारसंग माग गर्नुभयो ।

    कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आगामी दिनमा महोत्सव गर्नकालागि सरकारी जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । महोत्सवमा रिडिको ऋषिकेश मन्दिर, रुरु क्षेत्र, कालिगण्डकी बाट गुल्मी, पाल्पा र स्यांजा जोडने झोलुंगे पुल, पाल्पाको रानीमहल, रानीमहल भित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पश्चात देखिने दृश्यलाई डिजिटल प्रबिधिबाट अवलोकनको व्यवस्था मिलाईएको थियो भने लुम्बिनी सम्बन्धि फोटो प्रदर्शनी, तिलोत्तमा नगरपालिका भित्र रहेका नेपाल सरकारको सूचीकृतमा परेका पर्यटकीय क्षेत्रहरुको अवलोकन लगायतका पर्यटन प्रवद्र्धनका कार्यक्रम गरिएको मेला सचिवालय संयोजक अनिल कुमार ज्ञवालीले जानकारी दिनुभयो ।

    समापन कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमादेवी काफ्ले, नेकपा नेता विश्वराज बराल अनुप, राजपाका केन्द्रीय प्रबक्ता प्रशान्त गुप्ता, नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, रुपन्देही व्यापार संघका उपाध्यक्ष दिल्ली नारायण भण्डारी, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधब भण्डारी, लुम्बिनी प्रेश क्लबका महासचिव नरेस केसी, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल लगायतले भनाई राख्नुभएको थियो ।