तिलोत्तमा : शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा प्राथमिकता

752

तिलोत्तमा : शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा प्राथमिकता

मणिग्राम, १५ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ मा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबारबाट सुरु भएको पाँचौं नगरसभाको पहिलो बैठकमा चालु आर्थिक वर्षका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नगरसभा सदस्य, राजनीतिक दल, विभिन्न संघ–संस्था तथा सरोकारवालाहरुको उपस्थिति रहेको नगरसभा उद्घाटन कार्यक्रममा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बासुदेव घिमिरेले आगामी आर्थिक वर्ष तिलोत्तमा नगरको लागि ‘तीव्र विकासको वर्ष’ हुने बताउनुभयो । नगर सरकारको नीति तथा कार्यक्रम ‘समृद्ध नगर ः खुशी नगरबासी’ को आकांक्षा पूरा गर्ने दिशातर्फ केन्द्रित रहने बताउँदै नगर प्रमुख घिमिरेले नागरिकले अनुभूति गर्नेगरी विकासको प्रतिफल वितरण, शिक्षा र स्वास्थ्यमा गुणात्मक सुधार, क्रमागत आयोजना सम्पन्न, कृषि, पर्यटन, उद्योग, व्यापार, लगानीको वातावरण निर्माणलगायतका विषयलाई नीति तथा कार्यक्रमले समेटेको बताउनुभयो ।

सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि चालु आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा क्षेत्रमा हालसम्म सम्पादन भएका क्रियाशलापहरु समेटि ‘सार्वजनिक विद्यालय सवलीकरण कार्यक्रम’ घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी २ वर्ष भित्र सामुदायिक र संस्थागत विद्यालय बीचको दुरी समान गर्ने, ‘फल्स सिलिङ’ राखेर विद्यार्थीलाई टिनको प्रत्यक्ष छानामुनी बस्नुपर्ने बाध्यताको अन्त्य गरिने तिलोत्तमाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘स्वस्थ नगरबासी ः स्वस्थ नगर’ भन्ने नाराका साथ गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्ने कार्यमा नगरपालिका क्रियाशील रहने उल्लेख गर्दै नगर प्रमुख घिमिरेले स्वास्थ्य चौकीमा रहेका प्रयोगशालाहरुको दिगोपनको लागि प्रयोगशाला व्यवस्थापन कोष खडा गरी सेवालाई निरन्तरता प्रदान गरिने र रक्तसेवा सहयोग कार्यक्रम मार्फत रगत प्राप्त गर्दा लाग्ने ल्याव शुल्कको शोधभर्ना दिइने बताउनुभयो ।

कृषि तथा पशुपालनमा अनुदानका विभिन्न कार्यक्रम अघि सारिएको नीति तथा कार्यक्रममा किसानलाई उत्पादनमा आधारित अनुदान दिने नीति अवलम्वन गरिने जनाइएको छ । उद्योग संचालकले वातावरण प्रदुषण कम गर्ने खालका प्लान्ट जडान गरि वातावरण प्रदुषण कम गरेमा र आफ्नो उत्पादन प्लाष्टिकमा प्याक नगरि कपडा वा कागज जस्ता वस्तुमा प्याक गरी सप्लाइ गरेमा त्यस्ता उद्योगलाई नगरपालिकाले लिने व्यवसाय करमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइने नगर सरकारको नीति कार्यक्रममा समेटिएको छ ।

वडा नं. १० मा ‘तिलोत्तमा उद्योग ग्राम’ स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने, खरको छाना मुनि भएका घर परिवारलाई जस्तापाताको छानामुनी ल्याउन कार्यविधि बनाएर अनुदान दिइने नीति तिलोत्तमा नगरपालिकाको छ ।