Wednesday 21st August 2019
  • New title for a=>html, img=>alt
  • तिलोत्तमा नगरपालिकाको एकिकृत शहरी बिकास योजना

    August 11, 2019



    बुटवल, २६ साउन । तिलोत्तमा नगरपालिकालको दीर्घकालिन बिकासकालागि निर्माण गरिएको एकिकृत शहरी बिकास योजना नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सिद्धार्थ ईन्ष्टिच्युट अफ रिसर्च एण्ड कन्सल्टेन्सी सर्भिस प्रालिले एक वर्ष लगायर तर्जुमा गरेको तिलोत्तमा नगरपालिकाको एकिकृत शहरी बिकास योजना आईतबार एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई हस्तान्तरण गरिएको हो ।

    सिद्धार्थ इन्स्टिच्यूट अफ रिसर्च एण्ड कन्सल्टेन्सी सर्भिस प्रा.लि. ले तर्जुमा गरेको एकीकृत सहरी विकास योजना प्रदेश पाँचका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो । योजना सार्वजनिक गर्नुअघि कन्सल्टेन्सीका अध्यक्ष लिलाबहादुर केसीले तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेलाई योजना हस्तान्तरण गर्नुभएको थियो ।
    उक्त तिलोत्तमा नगरपालिकाको एकिकृत शहरी बिकास योजनामा प्रमुख प्राथमिकता कृषिलाई दिईएको छ । त्यस्तै उद्योग व्यापार र पर्यटनलाई प्राथमिकताको क्रमशः सूचिमा राखिएको छ । तीस बुँदे लक्ष्य किटान गरिएको उक्त गुरुयोजनामा पाँच वर्षको विस्तृत र १५ वर्षको पूर्वाधार बिकासको योजना बनाईएको सिद्धार्थ ईन्ष्टिच्युट अफ रिसर्च एण्ड कन्सल्टेन्सी सर्भिस प्रालिका सदस्य चिरञ्जिवी भण्डारीले बताउनु भयो ।
    सन्तुलित रुपमा द्रुत गतिमा अंगाडी बढ्नकालागि योजनावद्ध रुपमा नगरको भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, वित्तिय, पर्यटकीय क्षेत्रका साथै वातवरणीय पक्ष एवं विपद् व्यबस्थापन र संस्थागत क्षमता अभिबृद्धि समेतका समग्र क्षेत्रलाई समेटेर नगरपालिकाले योजना निर्माणको अवधारणा अंगाडी सारेको थियो । त्यसैका आधारमा उक्त कन्सल्टेन्सीले एकिकृत शहरी बिकास योजना बनाएको उहाँले बताउनु भयो । योजना सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशका १०९ वटै पालिकालाई योजनाबद्ध विकासका लागि प्रदेश सरकारले आह्वान गरेको बताउनु भयो ।
    त्यस्तै उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले योजनाले सडकलाई मुख्य प्राथमिकतामा राखेकाले सडक निर्माणमा कसैले संकीर्ण सोंच राख्न नहुने र यसका लागि सबै नगरबासीको साथ अपरिहार्य रहेको बताउनु भयो । प्रदेश सांसद दधिराम न्यौपानेले एकीकृत सहरी विकास योजनाले विकासको मार्गदर्शन तय गरकाले यसलाई कार्यान्वयन गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

    प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले योजनाबद्ध विकासले मात्रै लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै तिलोत्तमा नगरपालिकाले सार्वजनिक गरेको एकीकृत सहरी विकास योजना नगर विकासका लागि कोसेढुंगा हुने विश्वास व्यक्त गर्नुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मुलुककै नमुना नगर बनाउने उद्देश्यका साथ नगरपालिका अगाडि बढेको भन्दै एकीकृत सहरी विकास योजना प्रभावकारी ढंगले कार्यान्वयन गरिने बताउनु भयो ।

    कन्सल्टेन्सीका अध्यक्ष लिलाबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाई, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा लगायतले भनाई राख्नुभएको थियो । आगामी १५ वर्षका लागि सडक निर्माणतर्फ १६ अर्व एक करोड ६० लाख खर्च हुने योजनाले अनुमान गरिएको छ । यसमा ९९ किलोमिटर सडक थप हुनेछ । त्यस्तै तिलोत्तमा रिङरोड, मेगासिटी, तिनाउ कोरिडोर र रोहिणी कोरिडोर सहितको रिङरोड निर्माण गर्ने लक्ष्य पनि लिइएको छ । योजना अनुसार प्रादेशिक बसपार्क, औद्योगिक ग्राम, राष्ट्रिय रंगशाला, फोहर व्यवस्थापन केन्द्र, अटो भिलेज जस्ता विषयलाई पनि प्राथमिकतामा परेका छन् ।