ट्राफिक ब्यवस्थापन सामाग्री हस्तान्तरण

471

ट्राफिक ब्यवस्थापन सामाग्री हस्तान्तरण

बुटवल, फागुन । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले सडक दुर्घटना न्युनिकरण गर्न ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवललाई सडक स्पिड ब्रेकर तथा कोन हस्तान्तरण गरेको छ ।

बैंकको ११ औं बर्ष प्रवेशकोे अवसरमा मंगलवार कालिकाचोकमा एक कार्यक्रमका बीच बंैकका सस्थापक अध्यक्ष थानेश्वर पौडेल, सञ्चालक मोहन चापागाई, सस्थापक सञ्चालक श्रीकृष्ण पोखरेल र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दलाई स्पीड ब्रेकर तथा कोन हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक चन्दले बुटवल भैरहवा सडक ६ लेनको भएपनि सबै ठाउँमा आकाशेपुल नभएकाले ठाउँ ठाउँमा जेब्रा क्रसिंग राख्दा दुर्घटना भईरहेकाले यस्ता स्पिड ब्रेकर दुर्घटना न्युनिकरणका लागि पहिलो उपाय भएको बताउनु भयो । उहाँले सडक पार गर्दा जेब्रा क्रसिंगको प्रयोग गर्न र सवारी चालकले पनि जेब्रा क्रसिंगमा यात्रुलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । प्रहरी उपरीक्षक चन्दले बुटवलको कालिकानगर क्षेत्रमा मासिक पाँच छ वटा दुर्घटना भईरहेको उल्लेख गर्दै स्पिड ब्रेकर राखेपछि त्यस्ता दुर्घटना न्युनिकरण हुने बताउनु भयो ।

स्थानीय समाजसेवी तथा पुर्व वडाअध्यक्ष होम बहादुर गलामीले कालिकानगर क्षेत्रमा दुर्घटना बढेपछि सहयोगीहरु खोजी रहेको अवस्थामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफै सडक स्पिड ब्रेकर व्यवस्थापनका लागि सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो । स्थानीय अम्विका पराजुलीले आफ्नै आखाँ अगाडी दुर्घटना हुदा कसरी रोक्ने भन्ने चिन्ता बढिरहेका बेला बैंकले सडक स्पिड ब्रेकर राखेर स्थानीयको मन जितेको बताउनु भयो ।

सो अवसरमा बंैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नारा अवलम्वन गरेको बंैकले स्थानीय क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ भनेर दुर्घटना न्युनिकरणका लागि सहयोग गरेको बताउनु भयो ।

२०६५ फाल्गुण ११ गते बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन डेभलपमेण्ट बैंक लिमिटेड, गुल्मी जिल्लाको तम्घासमा केन्द्रीय कार्यालय रहेको रेसुङ्गा विकास बैक लिमिटेड र प्युठान जिल्लाको विजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी बिकास बैंक लिमिटेड मर्ज भै बनेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले यही फागुन ११ गते स्थापनाको १० बर्ष पुरा गरी ११ बर्षमा प्रवेश गर्न लागेकोे छ ।