बिना दर्ता सञ्चालित बुटवलका तीन ट्राभल एजेन्सीमा सिल

620

बिना दर्ता सञ्चालित बुटवलका तीन ट्राभल एजेन्सीमा सिल

बुटवल, १२ असार । बुटवलमा बिना दर्ता सञ्चालन भएका तीन वटा ट्राभल एजेन्सीमा अनुगमन समितिले सिल गरिदिएको छ । जिल्ला अनुगमन समिति रुपन्देही मंगलबार बुटवल उपमहानगरपालिका भित्र सञ्चालन भएका २० वटा ट्राभल एजेन्सीमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा बुटवल ट्राफिकचोकमा रहेको सुपर स्टार ट्राभल एण्ड टुर्स, बुद्ध एडभेन्चर ट्राभल एण्ड टुर्स र चौराहा रहेको रेसुङ्गा ट्राभल एण्ड टुर्स बिना दर्ता सञ्चालन गरेको पाईएकाले सिल गरिएको बाणिज्य कार्यालय रुपन्देहीका प्रमुख वेदप्रकाश उपाध्यायले जानकारी दिनुभयो ।

त्यस्तै चौराहामा रहेको नेपाल मनकामना, राना होलिडेज र ईटाभट्टीमा रहेको सुपादेउराली ट्राभल एण्ड टुर्सले प्रकृया पुरा गरेर मात्रै सञ्चालन गर्ने सहमतिमा बन्द गराईएको अनुगमनमा सहभागि बाणिज्य कार्यालय रुपन्देहीका शाखा अधिकृत लक्ष्मण लम्सालले जानकारी दिनुभयो । उनीहरुले दर्ता प्रकृया अंगाडी बढाएको र गल्ती स्वीकार गरी आफै सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेकाले प्रकृया पुरा गरेर मात्रै सञ्चालन गर्ने सहमतिमा तत्कालकालागि बन्द गराईएको उहाँले जानकारी गराउनु भयो । अनुगमन गरिएका माध्ये ११ वटामा त्रुटीहरु भेटिएको र बाँकी ९ वटा नियमित रुपमा सञ्चालनमा रहेको उहाँले बताउनु भयो ।

ट्राभल एजेन्सी सञ्चालनकालागि कम्पनी रजिस्टारको कार्यालयमा कम्पनी दर्ता गरि जिल्लामा घरेलु तथा पर्यटन कार्यालयको स्वीकृती लिएमा मात्रै सञ्चालन गर्नुपर्ने व्यबस्था छ । लुम्बिनी र राप्ती कार्यक्षत्र रहेको पर्यटन कार्यालय रुपन्देहीमा त्यसरी प्रकृया पुरा गरी १३४ वटा ट्राभल एजेन्सी सञ्चालनमा रहेको पर्यटन कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख भिमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

५ वर्ष दर्ता अवधी रहने ट्राभल एजेन्सी दर्ता गर्न कम्पनी रजिस्टारको कार्यालयमा प्रकृयागत रुपमा सामान्य खर्च लाग्ने र जिल्लामा सञ्चालन स्वीकृती लिँदा ५ लाख रुपैंयाको बैंक ग्यारेन्टी तथा २५ हजार १ सय रुपैंया पर्यटन कार्यालयमा राजश्व बुझाउनु पर्छ । विदेशी पर्यटक आउँदा उनीहरुलाई एजेन्सीहरुले दुःख दिए भने उनीहरुको नेपाल प्रतिको धारणा परिवर्तन हुन सक्ने भएकाले एजेन्सीहरुलाई रेगुलेसन गर्नकालागि कम्पनी दता तथा सञ्चालन स्वीकृत अनिवार्य भएको पर्यटन कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख क्षेत्रीले बताउनु भयो ।

जिल्लाका बाणिज्य कार्यालय, पर्यटन कार्यालय, पर्यटन प्रहरी, इलाका प्रसासन कार्यालय बुटवल, ट्राभल एजेन्सीहरुको सस्था नाटाका प्रतिनिधिको सहभागितामा ट्राभल एजेन्सीहरुमा अनुगमन गरिएको हो । केही दिनअघि भैरहवा क्षेत्रका ट्राभल एजेन्सीमा यसैगरी अनुगमन गरि बिना दर्ता सञ्चालन गरिएका ३ वटा बन्द एजेन्सी बन्द गराईएको थियो ।