एमाले ढुक्क छ पहिलो हुन्छ : एमाले नेता नागेन्द्र चौधरी

1.2K

एमाले ढुक्क छ पहिलो हुन्छ : एमाले नेता नागेन्द्र चौधरी

हामी त दुई ती महिनादेखि नै चुनावी अभियानमा छौं । विनाकारण २ नम्बर प्रदेशको चुनाव सारेर सत्तापक्ष र राजपाको मिलेमतोमा मधेसी जनतामाथि बिभेदपूर्ण व्यवहार गरियो । आखिर यत्तिकै चुनावमा जानु थियो भने अरु ठाउँमा चुनाव हुँदा २ नम्बर प्रदेश मात्र किन छुट्याइयो ? यसको जवाफ जनताले मागेका छन् ।

दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमा एमालेले सबै उम्मेदवारको तय गरिसकेको अवस्था छ । हाम्रा साथीहरु चुनावी अभियानमै छन् । बाढी र डुबानको चपेटामा मधेस पर्दा एमालेका नेता कार्यकर्ता मैदानमा थिए । बिचारको हिसाबले मधेसमा एमाले एकातिर र अरु दल एकातिर छन् । त्यसैले पनि एमालेको पक्षमा मधेसका मधेसी, पहाडे, थारु, मुस्लिम र दलितहरुको ठूलो पंक्ति उभिएको छ ।

मधेसी जनता एमालेको पक्षमा छन् भन्ने कुरा दोस्रो चरणको स्थानीय चुनावले पुष्टि गरिसकेको छ । प्रदेश १, ५ र ७ का तराई मधेसका जिल्लामा एमाले नै पहिलो भएको छ । अब २ नम्बरमा पनि एमाले पहिलो हुन्छ । हामीसँग मजबुत संगठन, राष्ट्रिय हितको पक्षमा पार्टीको अडान र मधेसको विकासमा एमालेले गरेका र गर्न खोजेका कामका बारेमा मधेसी जनतलाई प्रष्ट पार्दै गएका छौं ।

हामीले प्रदेश नम्बर २ मा ४५ प्रतिशत सिट जित्ने अपेक्षा राखेका छौं । अरुले जस्तो असम्भव र महत्वाकांक्षी लक्ष्य राखेका छैनौं । २ नम्बर प्रदेश भनेको मधेसवादी दलहरुको पनि आधार क्षेत्र हो । उनीहरुले पनि केही सीट जित्छन् । कांग्रेस र एमालेकै बीचमा मुख्य प्रतिस्पर्धा हुने हो । कतिपय ठाउँमा राजपा र फोरमसँग पनि हाम्रो प्रतिस्पर्धा हुने अनुमान गरेका छौं ।

एमाले राजमार्ग क्षेत्रमा मात्र बलियो छ भन्नेहरु पनि छन् । तर, हामी सर्लाहीको सदरमुकाम मलंगवा, रौतहट सदरमुकाम गौर, बारा सदरमुकाम कलैया र पर्साको बीरगञ्ज महानगरपालिकामा चुनाव जित्दैछौं । सिराहा र राजविराजमा समेत एमालेले चुनाव जित्दैछ भन्ने कुरा मधेसका एमाले बिरोधीहरुले स्वीकार गर्न थालेका छन् । हामी बीरगन्ज महानगरपालिका सहित तीन मध्ये कम्तिमा २ उपमहानगरपालिका जित्छौं ।

दुई नम्बर प्रदेशका ८ जिल्लामध्ये कम्तिमा ४ जिल्लामा एमाले पहिलो दल बन्छ । अहिले एमालेमा राजपा र माओवादीमात्र होइन कांग्रेसका पनि प्रभावशाली नेता कार्यकर्ताहरु प्रवेश गरिरहेका छन् । मधेसको दलित बस्तिमा एमाले बाहेक अरु दलप्रति तीब्र घृणा छ । मुस्लिमको पक्षमा एमाले मात्र छ भन्ने कुरा त महानगरसहितका धेरै नगरमा हामीले मुस्लिम उम्मेदवार खडा गरेका छौं ।

हामीले कांग्रेस बाहेक अन्य दलसँग आवश्यकताका आधारमा स्थानीय तहमा तालमेल खुला गरेका छौं । तर, कांग्रेस जस्तो तालमेलविना चुनावै लड्न नसक्ने दल एमाले होइन । एमाले एक्लै चुनाव लडेर जित्ने सामथ्र्य राख्छ ।

संविधान संशोधन असफल भएपछि एमालेलाई मधेसमा गाह्रो हुन्छ भन्नेहरु गैरआवासीय मधेसी -एनआरएम) हरु मात्र हुन् । तराई मधेसका जनताबीच हामी गइरहेका छौं । त्यो संविधान संशोधन पारित गराउन ल्याइएकै थिएन । मधेसका जनताको कुनै पनि अधिकार त्यसबाट स्थापित हुने पनि होइन । कांग्रेस र राजपाका नेताहरुको फेस सेभका लागि ल्याइएको थियो ।

मधेसी जनताले को आफ्नो मित्र हो भन्ने बुझिसकेका छन् । मधेसको सबैभन्दा दुश्मन कांग्रेस हो । जहिले पनि भोटका लागि मधेसको दोहन गर्ने र मधेसी जनतालाई अधिकार नदिने तथा बिकास हुन नदिने कांग्रेस हो । एमाले ढुक्क छ, २ नम्बर प्रदेशमा ६० सीटभन्दा बढी ल्याएर हामी पहिलो हुन्छौं ।

प्रदेश नम्बर २ को चुनावमा सन्दर्भमा एमालेको चर्चा बिरोधीहरुले खुबै गरिरहेका छन् । उनीहरु सबैले मुख्य दुश्मन एमालेलाई नै देख्नु र त्यसरी एमालेको बिरोध गर्नु एक प्रकारले हाम्रा लागि राम्रो पनि हो । जो बलियो छ, बलियो बिरुद्ध कमजोरहरु एकजुट हुन्छन् । अहिले प्रदेश नम्बर २ को चुनावका सन्दर्भमा कांग्रेस माओवादीदेखि राजपासम्म एमालेलाई निषेध गर्नेखालका गतिविधि गर्दैछन् ।

प्रदेश नम्बर २ भन्ने बित्तिकै यो मधेस प्रदेश हो । एमालेलाई मधेस विरोधी भनेर जति प्रचार गरिए पनि मधेसी जनताले त्यसको जवाफ चुनावबाटै दिनेछन् ।अनलाइनखबरबाट