Tuesday 18th June 2019
  • New title for a=>html, img=>alt
  • वाइडबडी घोटला लुकाउन ढाकछोप आयोग : पौडेल

    January 6, 2019



    नवलपरासी, २२ पुस । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सरकार वाइडबडी विमान खरिदमा भएको घोटालालाई ढाकछोप गर्न आयोग गठन गरेको टिप्पणी गर्नुभएको छ । उहाँले लेखा समितिले बुझाएको प्रतिवेदन संसदमा प्रस्तुत नहुँदै बाहिर आउनु र त्यसको लागि छानविन गर्ने नाममा सरकारले ढाकछोप आयोग बनाएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो–‘यो छानविन समिति होईन, कुनै आयोग होईन, केवल ढाकछोपकालागि हो ।’

    उहाँले अहिलेको सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको बताउँदै अहिलेको कम्युनिष्ट सरकारभ्रष्टचारी नै भ्रष्टचारीको सरकार भएको उल्लेख गर्नुभयो । आइतबार नवलपरासीको कावासोतीमा नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको ‘सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रममा बोल्दै काँग्रेस नेता पौडेलले नेताहरुले हात मिलाउँदैमा पार्टी एकता नहुने र पार्टीलाई मजबुद बनाउनकालागि एकताको विकल्प पनि नभएको उल्लेख गर्नुभयो ।

    उहाँले पार्टीमा एकताकालागि विषयगत एजेण्डामा कुरा मिल्नुपर्ने बताउँदै पार्टी भित्र एकताको साँचो सभापति शेरबहादुर देउवाको हातमा रहेको उल्लेख गर्नुभयो । उहाँले केन्द्रमा शिर्ष नेतामात्रै मिलेर नहुने बताउँदै जिल्ला तथा तल्लो तहसम्म एकता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय महासमितिबाटै काँग्रेस सक्किने भयो भनेर मौका पर्खेर बसेपनि महासमितिबाट कार्यकर्तामा समेत उत्साह थपिएको दावी गर्नुभयो ।

    त्यस अवसरमा ‘सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट चार जना पत्रकारलाई सम्मान गरिएको छ । उक्त पुरस्कारबाट पत्रकारहरु पोषण केसी, बसन्तप्रकाश उपाध्याय, पुरुषोत्तम सुवेदी र गणशेखर शर्मालाई सम्मान गरिएको हो ।

    प्रजातन्त्र सेनानी, नेपाल किसान संघका संस्थापक अध्यक्ष एवं नवलपुरका अग्रज राजनीतिज्ञ सूर्यभक्त अधिकारीको स्मृतिमा छोरा मदनभक्त अधिकारीको सहयोगमा ‘सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’को अक्षयकोष स्थापना गरिएको थियो ।

    सोही अक्षयकोषबाट प्रत्येक वर्ष नेपाल प्रेस युनियन नवलपुरले नगद, ताम्रपत्र सहित दोसल्ला ओढाएर पत्रकारलाई सम्मान गर्दै आएको छ । कार्यक्रम नेपाल प्रेस युनियन नवलपुरका सभापति बिरेन्द्र पराजुलीको सभापतित्वमा भएको थियो ।