कसले चुम्ला मिस लुम्बिनीको उपाधि ?

1.2K

कसले चुम्ला मिस लुम्बिनीको उपाधि ?

टोपराज शर्मा
बुटवल । १६ वर्षदेखि २४ वर्षसम्मका युवतीहरुबीचको सौन्दर्य प्रतियोगिता ‘मिस लुम्बिनी–२०१७’ को फाइनलमा २० जना छनौट भई उपाधि जित्ने दौडमा तल्लीन छन् । लुम्बिनी अञ्चलका विभिन्न जिल्लाबाट २ सय भन्दा बढीले भाग लिएको  प्रतियोगिताबाट फाइनलका लागि अन्तिम २० जना छनौट भएका हुन् ।

२० जना फाइनलिस्टहरुमा बुटवल १३ की सविना श्रेष्ठ एक हुन् । उनी चितवनको रामपुर कृषि क्याम्पसमा कृषि तथा वन विज्ञानमा स्नातक गर्दैछिन् । अर्की हुन्–बुटवलकी सुमी थापा, जो अक्सफोर्ड कलेज बुटवलमा कक्षा ११ मा अध्ययनरत छिन् । यस्तै बुटवल १३ कै मनिषा महत पनि मिस लुम्बिनीको फाइनलमा भिड्दै छिन् । उनी बीबीए तेस्रो वर्षकी विद्यार्थी हुन् ।

बुटवल नेपालगंजरोडकी शुभेच्छा श्रेष्ठ मिस लुम्बिनीकी अर्की प्रतियोगी हुन् । उनी अक्सफोर्ड कलेजमा प्लस टु पढ्दै छिन् । बुटवल सुख्खानगरकै सुस्मिता कार्की पनि मिस लुम्बिनी बन्न चाहन्छिन् । उनी न्यू होराइजन कलेजमा कक्षा ११ पढ्दै छिन् । रुपन्देहीकै संगीता क्षेत्री जो प्लस टु अध्ययनरत छिन्, उनलाई पनि मिस लुम्बिनी बन्ने धोको छ ।  स्नातक तहमा अध्ययनरत बुटवल–३ की रशु श्रेष्ठ पनि मिस लुम्बिनीकी फाइनलिस्ट मध्ये एक हुन् ।

यस्तै देवदह ६ खैरेनी घर भई अक्सफोर्ड कलेजमा प्लस टु पढ्ने प्रकृति थापा, चिल्हिया ७ रुपन्देही घर भई मणिमुकुन्द कलेजबाट बीबीएस उत्तिर्ण पद्मा अधिकारी, गुल्मी बिरबासकी सुस्मिता क्षेत्री, गुल्मी बलिथुमकै सविता मल्ल पनि मिस लुम्बिनीको उपाधि चुम्न लालायित छन् । बुटवल पुष्पलालपार्क घर भई काठमाडौं इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत पूजा प्रधान, भैरहवाकी एलिना केसी, रुपन्देही मंगलापुर घर भई एभरेष्ट कलेज बुटवलकी कक्षा ११ की विद्यार्थी अञ्जली राना पनि मिस लुम्बिनीका फाइनलिस्ट हुन् ।

यस्तै क्षितिज इन्टरनेसनल कलेजमा स्नातक तह पढ्दै गरेकी रुपन्देही करहियाकी मनिषा श्रीस मगर, एभरेष्ट कलेजकी कक्षा ११ की छात्रा बुटवल सुख्खानगरकी प्रशंसा शाक्य, सिद्धार्थ इन्टरनेसनल कलेज बुटवलमा बीबीए तेस्रो वर्ष अध्ययनरत बुटवल कालिकानगरकी विद्या न्यौपाने र अक्सफोर्ड कलेज बुटवलमा स्नातक पढ्दै गरेकी कपिलवस्तु तिलौराकोटकी अनिता गिरी पनि मिस लुम्बिनी बन्ने दौडमा प्रतिस्पर्धा गर्दैछन् ।

ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्टले आयोजना गरेको सौन्दर्य संगै वौद्धिक क्षमता प्रदर्शन गर्ने यो प्रतियोगिताको फाइनल फागुन १५ गते आइतबार राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिमाझ बुटवल उद्योग वाणिज्य संघको हलमा हुंदै छ । फाइनल प्रतिस्पर्धीलाई कोरियोग्राफर प्रज्ञा तिवारीले प्रशिक्षण दिएकी छन् । फाइनलमा प्रस्तुत हुने प्रतियोगीहरु योङगेस्ट डिजाइनरको उपाधि प्राप्त बुटवल निवासी इन्टरनेसनल फेसन डिजाइनर अनुष्का सैंजूले डिजाइन गरेका पहिरनमा प्रस्तुत हुनेछन् ।

नयां पुस्ताका युवतीहरुलाई नेपाली मौलिक संस्कृति, व्यक्तित्व विकास र सिर्जनात्मक गतिविधि सहित सामाजिक कार्यमा सहभागिताको वातावरण सिर्जना गर्नु प्रतियोगिताको उद्देश्य रहेको मिस लुम्बिनी प्रतियोगिताका संयोजक सुमोदमान सैंजुले जानकारी गराए । प्रतियोगितमा उत्कृष्ट हुनेले उपाधिसँगै नगद ५० हजार, आकर्षक उपहार र मिस नेपाल एशियाको अन्तिम २० जनामा सिधै प्रवेश पाउने आयोजक संस्थाका प्रकाश दर्लामी मगरले बताए ।

विगतमा बुटवलमा हुने सौन्दर्य प्रतियोगिताहरु भन्दा यसपटकको यो प्रतियोगिता धेरै हिसाबले उत्कृष्ट र भब्य हुने आयोजकको दावी छ ।