शुक्रबार राती पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ ।
बुटवलको सुप्रिम सहकारीको वचत अपचलन प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राखेर मुद्धा चलाउने आदेश गरेसंगै लामिछानेलाई प्रहरीले काठमाण्डौबाट शुक्रबार राती पक्रा गरेर शनिबार रुपन्देही ल्याएको थियो ।
सोमबार बिहान अदालती प्रकृया पुरा गरेर भैरहवा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपि रञ्जितसिंह राठौरले बताउनु भयो । सोमबार कारागार लैजाँदै गर्दा लामिछानेले अदालतको आदेश प्रति सम्मान व्यक्त गर्नुभयो । अदालतप्रति तपाईको प्रतिक्रिया केही छ भन्ने पत्रकारहरुको जिज्ञाशामा उहाँले भन्नुभयो–‘छैन, छैन, केही छैन, अदालतप्रति सम्मान छ ।’
लामिछानेलाई कारागार प्रशासनले ४ नम्बर ब्लक राखेको छ । भैरहवा कारागारमा ४ वटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अन्य कैदी तथा थुनुवाहरू छन् । ३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो । उक्त कारागारमा यसअघि सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।