बुद्धका शिक्षालाई कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

1.3K

बुद्धका शिक्षालाई कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनु भएकाे छ ।
लुम्बिनी बाैद्ध विश्वविद्यालयले आयाेजना गरेकाे ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताउनु भयाे । संगोष्ठीमा भारत, नेपाल तथा अन्य राष्ट्रहरूबाट सहभागी विभिन्न विश्वविद्यालयका उपकुलपति, कूटनीतिज्ञ, बौद्ध चिन्तक, विशिष्ट पाहुना, भिक्षु, भिक्षुणी तथा प्राज्ञिक व्यक्तिहरूको उपस्थिति रहेको छ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले उच्च शिक्षामा नैतिकको निकै महत्व रहेको भन्दै बुद्धका शिक्षाले सबैलाई त्यसतर्फ लगिरहेको बताउनु भयाे । भारतीय विद्वान प्रा. अभयकुमार सिंहले ‘कूटनीति र बुद्धका शिक्षाको मार्गदर्शन’ विषयमा धारणा राख्नुभयाे । सो अवसरमा भारत तथा नेपालका विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय बीच सम्झौता समेत गरिएको थियो ।

रजिष्ट्रार डा. तिलक आचार्यले स्वागत गर्दै बौद्ध कुटनीति बिश्वभर फैलाउन आवश्यक रहेको बताउनु भयाे । उहाँले विश्वविद्यालयले अन्तर्राष्ट्रिय सेमिनार मार्फत विश्वलाई शान्तिको सन्देश फैलाउने कार्य गरिरहेको जानकारी दिनुभयाे । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल ब्रजाचार्यको अध्यक्षता तथा डीन डा. मणिकरत्न शाक्यले धन्यवाद ज्ञापनसहित भएको कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले सहजीकरण गर्नुभएकाे थियाे । सेमिनारमा विभिन्न देशका एक दर्जन विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका सहायक निर्देशक चुरामणी पोखरेलले बताउनु भयाे । सेमिनारमा नेपाल र भारतका विश्विद्यालयका एक दर्जन उपकुलपतिहरू सहभागी रहेका छन् ।