सूचना प्रविधिको क्षेत्रमा क्रियाशील सि.एस.आई.टी. एशोसियसन अफ नेपाल रुपन्देहीले विद्यार्थीको सीप अभिवृद्धि र व्यवसायिक विकासलाई लक्षित गरेर तीन दिने ‘सि.एस.आई.टी.ए.एन. नेटवर्किङ बुट क्याम्प’ गर्न लागेको छ ।
यहि साउनको २५ देखि २७ गतेसम्म रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राईभरटोलस्थित होराइजन जी.बी.एस कलेजमा सञ्चालन हुने कार्यक्रममा आईटी क्षेत्रमा आवद्ध विद्यार्थी, नेटवर्किङमा रुचि राख्ने युवा तथा व्यवसायिलाई लक्षित गरिएको छ । कार्यक्रममा नेटवर्किङका आधारभूत ज्ञानदेखि व्यावसायिक पक्षसम्मका विषयमा प्रशिक्षण गरिने छ । तीनदिनसम्म सञ्चालन गरिने कार्यक्रममा विषयगत सत्रहरूमा सहभागीले व्यवहारिक रूपमा सिक्न पाउनेछन् ।
कार्यक्रमका प्रमुख प्रशिक्षकको रूपमा नेटवर्किङ तथा साइबर सुरक्षा क्षेत्रमा अनुभवी सि.एस.आई.टी. एशोसियसन अफ नेपालका उपाध्यक्ष आयुष चापागाईं रहनुहुनेछ । नेटवर्किङ संरचना, ट्राबलशुटिङ, आई.पि. व्यवस्थापन, साइबर सुरक्षा, सिस्को उपकरणहरूको प्रयोग, फायरवाल कन्फिगरेसन, नेटवर्क टोपोलोजी, स्विचिङ तथा राउटिङ अवधारणाहरू, भि.एल.ए.एन. कन्फिगरेसन, आई.पि.भि ४ एड्रेसिङ र सबनेटिङ, प्याकेट ट्रयाकर प्रयोग, करियर गाइड तथा सर्टिफिकेसन अवलोकन लगायतका व्यवहारिक तथा सैद्धान्तिक पक्षहरूमा प्रशिक्षण गर्नुहुनेछ । प्रशिक्षण शैली प्रयोगात्मक अभ्यास र समूहगत कार्यमा आधारित हुने सि.एस.आई.टी. एशोसियसन अफ नेपाल रुपन्देहीका अध्यक्ष माधव पौडेलले जानकारी गराउनु भयो ।
यो कार्यक्रममा सि.आई.एस.सि.ओ प्याकेट ट्रयाकर, ईभ–एन.जी, सि.आई.एस.सि.ओ. राउटर्स, हब्स, स्वीचेज जस्ता उपकरणहरू प्रयोग गरिने प्रशिक्षक चापागाईं बताउनु हुन्छ । कार्यक्रममा अध्यापन गराइने विस्तृत पाठ्यक्रम सस्थाको आधिकारिक फेसबुक पेजमा अपलोड गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रमले विद्यार्थीलाई रोजगारीको दृष्टिकोणले सक्षम बनाउने, व्यवहारिक सीप विकास र नेटवर्किङ प्रविधिको वर्तमान ट्रेन्डमा अपडेट गराउने अध्यक्ष पौडेलले बताउनु भयो । ‘हामीले यो बुटक्याम्प विद्यार्थीको क्षमता अभिवृद्धिका लागि आयोजना गरेका हौं, आ.टि.लाई केवल किताबी ज्ञानमा सीमित नभई प्रयोगात्मक रुपमा पनि सक्षम बनाउने हाम्रो उद्देश्य हो ।’ उहाँले भन्नुभयो–‘यो बुटक्याम्पमा सहभागीका लागि करियर गाइडेंस सेसन, प्रशिक्षकसँगको प्रत्यक्ष अन्तक्र्रिया, तथा नेटवर्किङ सम्बन्धी समस्या समाधानका अभ्यासहरू पनि समावेश गराईने छ ।’