रुपन्देहीमा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्थामाथि प्रशासनको कडाई

1.3K

रुपन्देहीमा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्थामाथि प्रशासनको कडाई

रुपन्देही जिल्लामा सञ्चालन भइरहेका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्थाहरुले अब अनिवार्यरूपमा तोकिएका मापदण्ड पुरा गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गत शुक्रबार एक सूचना जारी गर्दै यस्ता संस्था सञ्चालन गर्न सरकारले तोकेको कानुन र प्रक्रिया पालना नगर्ने संस्थालाई तुरुन्त कारबाही गर्ने चेतावनी दिएको हो ।
सूचनामा परामर्श र भाषा प्रशिक्षण सञ्चालन गर्ने संस्थाले शिक्षाविज्ञान तथा प्रविधि मन्त्रालय वा प्रदेश सरकारको अनुमति पत्र, उद्योग वाणिज्य दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर वा मूल्य अभिबृद्धि करमा दर्ता प्रमाण, प्रशिक्षकको शैक्षिक योग्यता, तालिम सञ्चालन स्थलको विवरण, आर्थिक कारोबारसम्बन्धी विवरण लगायत सम्पूर्ण आवश्यक कागजात पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ- “विदेशी रोजगारमा जानुपर्ने बाध्यता भएका युवालाई सहज र पारदर्शी सेवा उपलब्ध गराउन, विद्यार्थी तथा अभिभावकलाई भ्रमित हुन नदिन, र अनियमितता नियन्त्रण गर्न यस्ता मापदण्ड लागू गरिएको हो ।”
कार्यालयले जव ग्यारेन्टी, ट्राभल एजेन्सी जस्ता नाम प्रयोग गरेर परामर्श व्यवसाय गर्ने, वा अनुमतिबिनै भाषा तालिम सञ्चालन गर्ने संस्था गैरकानुनी भएको स्पष्ट पारेको छ । त्यस्ता संस्थाविरुद्ध कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
जिल्ला प्रशासनले तोकेको सूचीअनुसार संस्थाले अनिवार्यरूपमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वा प्रदेश सरकारबाट प्राप्त अनुमति पत्र, उद्योग वाणिज्य दर्ता प्रमाणपत्र, प्रशिक्षकको उलेखित शैक्षिक योग्यताका प्रमाणपत्र, भवन र कक्षा संचालन विवरण, प्यान, भ्याट दर्ता प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयमा दर्ता विवरण, भाषा कक्षा तालिका र शुल्क विवरण, विदेशी प्रशिक्षण/शैक्षिक संस्था सँगको सम्झौता वा स्वीकृति पत्र अनिवार्य हुनुपर्नेछ ।
नेपाल शैक्षिक परामर्श केन्द्र रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेका अनुसार रुपनेदेहीमा करिव ३ सयकाे संख्यामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्था छन् । त्यसमध्य ३० काे हाराहारीमा मात्रै दर्ता भएकाे उहाले बताउनु भयाे ।

(तस्वीर : ए.आई.)