साेमबारदेखि देशव्यापी रूपमा सुरु भएकाे आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति बुटवल उद्योग वाणिज्य संघले गहिरो दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा सुशासन, पारदर्शिता र सामाजिक न्यायको मागसहित भएका शान्तिपूर्ण आन्दोलनहरूमा भएको हिंसा र क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ ।
संघले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, उनीहरूको उपचारमा सरकारले तुरुन्त र प्रभावकारी कदम चाल्न आग्रह समेत गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “अब कसैले पनि एक थोपा रगत बगाउनु नपर्ने अवस्था निर्माण गर्नु सबैको दायित्व हो ।” संघले पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक अस्थिरता, सुशासनको अभाव, बेरोजगारी, भ्रष्टाचार र अर्थतन्त्रमा आएको शिथिलताप्रति युवा पुस्ताले देखाएको चासोप्रति सम्मान व्यक्त गर्दै सरकार र राजनीतिक दलहरूलाई गम्भीर रूपमा ध्यान दिन आग्रह गरिएको छ।
संघले देशका विभिन्न स्थानहरूमा आन्दोलनरत पक्ष र सुरक्षाकर्मीबीच भएको झडपले जनधनमा ठूलो क्षति पुर्याउनुका साथै अर्थतन्त्रमा समेत दीर्घकालीन नकारात्मक असर पार्ने चेतावनी दिएको छ । यस कारण, सबै सरोकारवाला पक्षबीच संवाद र समन्वयमार्फत शीघ्र राजनीतिक समाधान निकाल्न अपिल गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “युवाहरूको चाहनाअनुसार सरकारी सेवा, पारदर्शिता, सामाजिक न्याय, पेशा तथा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेछ । साथै, लगानी र रोजगारी प्रवर्द्धनका लागि अनुकूल वातावरण तयार पार्दै आमूल सुधारको मार्ग पहिल्याउन आग्रह गर्दछौं ।”
संघले लोकतान्त्रिक अभ्यास र नागरिकको मौलिक हक सुनिश्चित गर्न सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिएको छ ।
