जिल्लामा उद्योग तथा व्यापार, व्यवसाय सञ्चालन गर्ने विषमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले चासो व्यक्त गर्नु भएको छ । जेन–जी सुमहका युवा विद्यार्थीको आन्दोलनका क्रममा सरकारी सहित निजी क्षेत्रमाथी भएको तोडफोड र आगजनीबाट डराएका उद्योगी व्यवसायीसंग वातावरण शान्त हुन थालेपछि त्यस विषयमा चासो व्यक्त गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालय भैरहवामा निजी क्षेत्रका संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुसंग छलफल गरिएको थियो । उक्त छलफलमा निजी क्षेत्रका संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुले शान्ति सुरक्षा रिक्तताको स्थितीमा पुगेको बताउँदै निजी क्षेत्रलाई शान्ति सुरक्षाका हिसावले आश्वस्त हुने वातावरण तयार गर्न आग्रह गरेका थिए ।
‘हामीहरुले शान्ति सुरक्षा रिक्तताको स्थितीमा भएको कुरा सुनायौं ।’ बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भन्नुभयो–‘हामीहरुले भनेका छौं–शान्ति सुरक्षाका हिसाले आश्वस्त हुने वातावरण बन्नुपर्यो ।’
उक्त छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल सहित यस क्षेत्रका उद्योग वाणिज्य संघ, व्यापार संघ, उद्योग संघ लगायतका व्यवसायिक संघसंस्थाका प्रतिनीधिहरु थिए ।
आन्दोलनमा राष्ट्रिय सम्पदा, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीका घटना भएको र यसकै आडमा चोरी–लुटपाटजस्ता आपराधिक गतिविधि बढेको बताउँदै सर्वसाधारण आम नागरिकले सुरक्षित भएको अनुभूति गर्नेगरी शान्ति सुरक्षाको प्रवन्ध मिलाउन समेत आग्रह गरिएको थियो ।
निजी क्षेत्रलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले शान्ति सुरक्षालाई चुस्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आन्दोलनका क्रममा पूर्ण रुपमा शान्ति सुरक्षा प्रदान गर्न नसकिएको बताउँदै अवको दिनमा सुधार हुनेमा ढुक्क हुन पनि उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।