वित्तिय प्रणालीमा लगानीयोग्य तरलता १० खर्ब पुगेको छ । अर्थतन्त्रमा पर्याप्त लगानी हुन नसक्दा, अधिक तरलता र न्यून ब्याजदर हुँदा पनि कर्जा लगानी विस्तार सुस्त भएपछि लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिएको हो ।
पछिल्ला गतिविधिहरूले बैंक तथा वित्तीय संस्थामा सुस्त रहेको कर्जाको माग सुधार आउने संकेत देखिएको छ । आन्दोलनको कारण भएको तोडफोड र आगजनीबाट भएको क्षति पुनर्निर्माण गर्दा कर्जाको माग बढ्ने अनुमान गर्न सकिन्छ ।
बैंक तथा वित्तीय संस्थामा पछिल्लो केही वर्ष देखि कर्जा लगानी सुस्त छ । कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै आएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन र ब्याजदर अस्वभाविक घटबढ हुन नदिन अर्बौं रुपैयाँ खर्चनु परेको छ ।
निजी क्षेत्रको मात्रै हालसम्म आएको बीमा दाबीका आधारमा करिब ३० अर्बको नोक्सानी देखिएको छ । बीमा प्राधिकरणका अनुसार यो दावी आगामी दिन अझै बढ्न सक्नेछ । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा हाल १० खर्ब रुपैयाँ कर्जा लगानी योग्य रकम छ । अहिले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने कानुनी व्यवस्था छ ।
चालु आर्थिक वर्षको हालसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३४ अर्ब रुपैयाँ बढेको छ । गत आर्थिक वर्षको असारसम्ममा ५५ खर्ब ९३ अर्ब रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भदौ मसान्तसम्ममा ५६ खर्ब २७ अर्बको पुगेको छ । यो अवधिमा वित्तीय प्रणालीमा १९ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ ।
वित्तीय प्रणालीमा अधिक तरलताको कारण ब्याजदर निकै न्यून अवस्थामा छ । यस्तो अवस्थामा सरकारले न्यून लागतमा बैंकिङ प्रणालीको स्रोतलाई पुनर्निर्माण तथा विकासमा परिचालन गर्न सक्ने पनि अवस्था छ ।