पश्चिम नेपालबाट यो वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौषम विज्ञान विभाग, मौषम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो मनसुन बहिरगमनसम्बन्धि विशेष बुलेटिन जारी गरी नेपालका पश्चिमी भू–भागबाट यो वर्षको मनसुन बाहिरिएको जानकारी गराएको हो ।
महाशाखाका अनुसार आज असोज २० गते यस वर्षको मनसुन सुदूरपश्चिम, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बाहिरिएको छ । त्यस्तै मनसुनी वायू कमजोर हुदै गईरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ । नेपालमा जुन, जुलाई, अगस्ट र सेप्टेम्बरलाई मनसुनी अवधि मानिन्छ ।
यो वर्ष सरदर मिति भन्दा १५ दिन अगावै अंग्रेजी मे महिनाको अन्तिममा नेपालमा मनसुन भित्रिएको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यो मनसुनी अवधिमा देशका अधिकाँस स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको थियो ।