ओली र लेखकलाई पक्राउ गर्न सरकारमाथी दवाव : प्रहरीले माग्यो लिखित आदेश

1.3K

ओली र लेखकलाई पक्राउ गर्न सरकारमाथी दवाव : प्रहरीले माग्यो लिखित आदेश

जेन–जी समुहका अगुवाहरुले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारमाथी दवाव बढाएका छन् । जेन–जीको आन्दोलन माथि दमन गरेको आरोपमा तत्कालिन प्रधानमन्त्री ओली र तत्कालिन गृहमन्त्री लेखकलाई पक्राउ गर्न दवाव बढाएपछि प्रधानमन्त्री सुशिला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरुसंग छलफल गर्नुभएको छ ।
जेन–जी आन्दोलनलाई दमन गरेको आरोपमा तत्कालिन प्रधानमन्त्री र तत्कालिन गृहमन्त्रीलाई पक्राउ गर्न दवाव बढेपछि प्रधामन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग छलफल गर्नुभएको हो ।
तत्कालिन प्रधानमन्त्री ओली र तत्कालिन गृहमन्त्री लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै जेन–जी समुहका युवाहरुले जिल्ला प्रहरी परिषर काठमाण्डौंमा लगेको जाहेरी प्रहरीले दर्ता गरेको छैन । परिषर प्रमुख रमेश थापाले त्यसको जानकारी प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई गराउनु भएको थियो । त्यसपछि खापुङले पनि गृहमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।
गृहमन्त्री अर्यालले जाहेरी दर्ता गर्नुपर्ने धारणा राख्नुभएको थियो । तर प्रहरी अधिकारीहरुले त्यसले परिस्थितीलाई थप भड्काउने तर्फ सचेत गराएका थिए । त्यसपछि प्रधामन्त्रीसंग छलफल गरेर निर्णय लिने निश्कर्षमा पुगेर प्रधामन्त्री कार्कीलाई जानकारी गराएपछि प्रधामन्त्री कार्कीले सुरक्षा अंगका प्रमुखहरुसंग छलफल गर्नुभएको हो । छलफलको क्रममा प्रधानमन्त्री कार्कीले जेन–जी युवाहरुको मागका साथै सुरक्षा अंगका प्रमुखहरुसँग विकसित परिस्थितिलाई कसरी सम्हाल्ने भनेर राय लिनुभएको थियो ।
प्रहरी महानिरीक्षक खापुङले गृहमन्त्रीसंग राखेका कुराहरु राख्दै प्रधानमन्त्री कार्कीबाट लिखित निर्देशन प्राप्त भए सोहीअनुसार अघि बढ्न तयार भएको पनि बताउनु भएको थियो । सुरक्षा अधिकारीहरुले न्यायिक छानबिन भइरहेका बेला उजुरी लिँदा र पक्राउ गर्दा मुठभेड हुनसक्ने धारणा राखेका थिए ।