चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा सुन आयातमा उल्लेखनीय बृद्धि भएको छ । साउनदेखि असोजसम्मको तीन महिनामा ६ सय ६ किलो सुन आयात भएको भन्सार विभागले जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै पाँच गुणा बढी हो ।
गत आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा १ सय १३.५ किलो सुन आयात भएको थियो । तर चालु आ.व.मा ६ सय १ किलो काँचो सुन र करिब ५ किलो सुनका गरगहना आयात भएका छन् ।
सुनको मूल्य बढेपछि लगानीकर्ताले सुनमा रुचि बढाएका कारण माग वृद्धि भएको बताइन्छ । बजारमा सुनको आपूर्ति कम र माग बढी भएपछि सरकारले सुन आयात कोटा पनि दैनिक २० किलोबाट २५ किलो पु¥याएको छ ।
भन्सार विभागका अनुसार चालु आ.व.को पहिलो तीन महिनामा १० अर्ब २५ करोड रुपैयाँ बराबरको काँचो सुन आयात भएको छ । उक्त सुन आयातबाट सरकारले १ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, ७ करोड १५ लाख रुपैयाँ बराबरका सुन गरगहना आयात भएका छन् । सुनका गरगहना आयातबाट सरकारले करिब ३४ लाख रुपैयाँ कर संकलन गरेको छ ।
अर्थविश्लेषकहरूका अनुसार विदेशी मुद्रा सञ्चितिमा आएको सुधार र सुनको मूल्यमा देखिएको स्थिरताले लगानीकर्तालाई आकर्षित गरेको हो ।