आस्था, शुद्धता र समर्पणको पर्व : सूर्य षष्ठी व्रत

1.3K

आस्था, शुद्धता र समर्पणको पर्व : सूर्य षष्ठी व्रत

नारायण भट्टराई /

सूर्य षष्ठी व्रत, जसलाई “दल छठ” वा “छठ पर्व” पनि भनिन्छ, नेपालमा समेत राष्ट्रिय पर्वका रूपमा मनाइने पवित्र उत्सव हो। केही शैक्षिक संस्थाहरूले यस पर्वका अवसरमा दशैं, तिहार र छठसम्म बिदा दिने प्रचलन पनि छ। यस वर्षको छठ पर्व २०८२ साल कार्तिक महिनाको १० गते परेको छ।
यो व्रत विशेषगरी पुत्र प्राप्त भएका सद्बा महिलाहरूले गर्ने गर्छन्। पञ्चमी तिथिदेखि सप्तमी तिथि सम्म तीन दिनसम्म व्रत बस्ने परम्परा छ। यो व्रत विवाहित महिलाहरूले सन्तानको दीर्घायु, पति र परिवारको सुख–समृद्धिको कामना गर्दै गर्छन्। व्रतका क्रममा नुनरहित भोजन, निर्जल उपवास र कठोर नियमहरूको पालन गरिन्छ। साँझ अस्ताउँदो सूर्यलाई पकाइएका परिकार, फूल र प्रसाद चढाइन्छ। रातभर जाग्राम बस्ने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समाप्त गर्ने परम्परा छ।
यो व्रत पूर्वी नेपाल, मिथिला क्षेत्र, तराई र भारतका विभिन्न भागमा विशेष उत्साहका साथ मनाइन्छ। छठ पर्व सूर्य देव (भगवान सूर्य नारायण) र उनकी पत्नी उषा (छठी मइया) को आराधनामा आधारित अत्यन्त पुरानो वैदिक परम्परा हो। यस पर्वमा सूर्यको आराधना गरी स्वास्थ्य, उर्जा, सन्तान र समृद्धिको कामना गरिन्छ।
चार दिनको क्रम र विधिः
१. नहाय–खाय (चतुर्थी):
यस दिन भक्तहरूले पवित्र नदी वा पोखरीमा स्नान गरी घर सफा गर्छन् र शुद्ध भोजन (अरुवा चामल, तोरीको तेलमा बनेको दाल र लौकाको तरकारी) ग्रहण गर्छन्। यस दिनदेखि व्रतालु शुद्धता र सत्यताको पालन गर्छन्।
२. खरना (पञ्चमी):
व्रतालुले दिनभर निराहार बस्छन् र साँझ सूर्यास्तपछि दूध, गुड र चामलबाट बनेको खीर चन्द्रमा देखेपछि प्रसादस्वरूप ग्रहण गर्छन्।
३. मुख्य पूजा (षष्ठी):
यस दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। व्रतालुहरू नदीनाला वा पोखरीमा आधा शरीर पानीमा डुबाएर सूर्यदेवको पूजा गर्छन्। ठकुवा, फलफूल, उखु, केरा, दालिम आदि प्रसाद चढाइन्छ र रातभर भजन–कीर्तन गरेर जाग्राम बसिन्छ।
४. उदाउँदो सूर्यलाई अर्घ (सप्तमी बिहान):
भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिइन्छ र त्यसपछि मात्र व्रत पारण गरेर उपवास समाप्त गरिन्छ।

पर्वको महत्वः
सूर्य भगवान स्वास्थ्य, उर्जा र जीवनका स्रोत हुन् भन्ने वैदिक विश्वासमा आधारित यो पर्वमा महिलाहरूले सन्तानको दीर्घायु र परिवारको सुख–समृद्धिका लागि प्रार्थना गर्छन्। पुरुषहरूले पनि पछिल्ला वर्षहरूमा आस्था अनुसार व्रत बस्ने चलन बढ्दै गएको छ। छठ पर्व प्रकृति, जल, भूमि र सूर्यप्रतिको कृतज्ञता प्रकट गर्ने अवसर हो।
सांस्कृतिक पक्षः
मिथिला र तराई क्षेत्रमा घर–घरमा लोकगीत गाइन्छ, “छठी मइया”का गीतहरू विशेष रूपमा लोकप्रिय छन्। सामूहिक पूजा स्थलहरू सफा गरिन्छ, बत्ती बालिन्छ, ढोल–मादल बजाइन्छ। यो पर्व एकता, शुद्धता र आस्थाको प्रतीक हो।
अर्घ दिने विधिः
आवश्यक सामग्रीहरू:
ठकुवा, केरा, सुपारी, गन्ना, दालिम, सिंगारा, नारिवल, दूध, पानी, दीपक र फूल आदि।
विधिः
१. व्रतालु शुद्ध भई घाटमा पानीमा आधा शरीर डुबाउँछन्।
२. सूर्यलाई दुवै हात जोडी नमस्कार गर्छन्।
३. दूध मिसिएको जल सूर्यको दिशामा चढाइन्छ।
४. दीप प्रज्वलन गरी सूर्य र छठी मइयालाई प्रार्थना गरिन्छ।
मन्त्रहरू
सूर्य अर्घ मन्त्रः
ॐ सूर्याय नमः।
ॐ आदित्याय नमः।
ॐ भास्कराय नमः।
ॐ मित्राय नमः।
ॐ रवये नमः।
ॐ सवित्रे नमः।
ॐ अर्काय नमः।
ॐ खगाय नमः।
ॐ पूष्णे नमः।
ॐ हिरण्यगर्भाय नमः।
छठी मइया प्रार्थना मन्त्रः
ॐ षष्ठी देवि नमोऽस्तुते।
पुत्र–पौत्र–सौभाग्य–आयु–आरोग्यं देहि मे।
नमस्ते छठी मातः, सर्वमङ्गलदायिनि॥
(अर्थ — हे छठी मइया! मलाई सन्तान, सौभाग्य, दीर्घायु र स्वास्थ्य प्रदान गर।)

केलवा के पात पर उगेलन सूर्य देव,
अरघ देबई घाटे जानू हो।
छठी मइया, तोहार महिमा अपरम्पार,
सुख–सम्पत्ति देबू जननी हो॥
उठे हे सूर्य देव, छठी मइया के घाट,
अर्घ दिहे नारी सब साथ।
लाल सूरज हँसी परल जलमा,
पूरा करब जनके मनके बात॥
छठी मइया के व्रत कठिन होला,
सच्चा भक्ति जे करेला, फल पावेला।
सन्तान सुख–सम्पत्ति जे मागेला,
मइया छठी सबके वर देला॥

छठ पर्व शुद्धता, संयम र आत्मनियन्त्रणको प्रतीक हो। यो पर्वले सूर्य र जलजस्ता जीवनदायी तत्वप्रतिको कृतज्ञता जनाउँछ।
“सूर्य उदय भएजस्तै जीवनमा उज्यालो होस्” — यही यस पर्वको गहिरो सन्देश हो।
।। अस्तु।।