नेपाल-भारत पत्रकार भेलामा ‘फरार कैदी’को खोजी

1.3K

नेपाल-भारत पत्रकार भेलामा ‘फरार कैदी’को खोजी

शिव लम्साल /

नेपालमा जेन–जी आन्दोलनको सरगर्मी बढिरहेकै बेला गत सेप्टेम्बर १८ र १९ तारिखमा नेपाल र भारतका पत्रकारहरू दक्षिण एसियाकै पत्रकारिता र पत्रकारहरूको मौजुदा अवस्थाबारे गहन छलफलमा जुटिरहेका थिए । इन्डियन जर्नालिस्ट्स युनियन (आईजेयू) को केन्द्रीय कार्यकारिणी बैठकमा नेपाल प्रेस युनियनको सभापतिको हैसियतले सहभागी हुनु र एक दिनको बैठकको अध्यक्षतासमेत गर्न पाउनु गर्वको कुरा थियो । तर, त्योभन्दा बढी उपलब्धि भनेको हामीले नेपालको पत्रकारिताको अवस्थाबारे सेयर मात्र गरेनौँ, भारतलगायत समग्र दक्षिण एसियाकै पत्रकारिताको अवस्थाबारे बुझ्यौँ, बहस-मन्थन गर्‍यौँ र साझा धारणासमेत बनायौँ ।
भारतीय पत्रकार युनियनको यस बैठकमा सहभागी हुन पाउनु मेरो लागि ठूलो सम्मान र प्रेरणाको विषय बन्यो । भारतका अनुभवी सञ्चारकर्मीहरूमाझ बस्ने अवसरले पत्रकारिताको साझा उद्देश्य र दायित्वलाई अझ नजिकबाट बुझ्ने मौका प्रदान गर्‍यो । यो भेटघाट केवल अनुभव आदान–प्रदानको अवसर मात्र थिएन, यो दक्षिण एसियाली पत्रकारिता समुदायबीचको सहकार्य र समझदारी मजबुत पार्ने एउटा सुन्दर पहल पनि बन्यो ।
बैठकका दौरान मैले नेपालको पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावनाहरूको विस्तृत जानकारी प्रस्तुत गरेँ । अभिव्यक्ति स्वतन्त्रता, तथ्यमा आधारित समाचार लेखन र डिजिटल रूपान्तरणतर्फ नेपाली पत्रकारिताको अग्रसर यात्राका बारेमा सहभागीहरूलाई अवगत गराउने अवसर पनि पाएँ । साथै, ग्रामीण र सुदूर क्षेत्रका पत्रकारहरूले सामना गरिरहेका कठिनाइ पनि मेरा लागि अनुभव आदान-प्रदानको महत्त्वपूर्ण अंश बन्यो । त्यसका समाधानका प्रयासहरू पनि अवगत गराउँदा सबैलाई प्रभाव पार्ने अवसर पाएँ ।
यस बैठकले नेपाल र भारतका पत्रकारहरूबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउनेछ भन्नेमा म विश्वस्त भएको छु । हामी सबैको साझा उद्देश्य सत्य, जिम्मेवार र जनमुखी पत्रकारिता हो भन्ने लाग्यो । पत्रकारिता मानवताको आवाज बन्न सक्छ भन्नेमा हामी सबै दृढ भयौँ । त्यसैले पनि भारतीय पत्रकार युनियन (आईजेयू) लाई यस्तो ज्ञानमूलक र प्रेरणादायी मञ्च प्रदान गरेकामा आभारी बनेको छु । भविष्यमा पनि यस्ता सहकार्यका अवसरहरू निरन्तर रहून् भन्ने छ ।
आईजेयूकी महासचिव सविना इन्द्रजित अहिले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे) को उपाध्यक्षसमेत हुन् । उत्तर प्रदेशमा क्रियाशील वर्किङ जर्नालिस्ट्स युनियन (डब्लूजेयू) स्थानीय आयोजक रहेको बैठक नेपालको लुम्बिनी र भारतको लखनउको बिचमा पर्ने सिद्धार्थनगर (नौगढ) मा आयोजना गरिएको थियो । बैठक किन पनि महत्त्वपूर्ण थियो भने त्यसमा भारतका विभिन्न प्रदेशका साथै भुटान, माल्दिभ्स, म्यानमार, नेपालसम्मका सीमावर्ती क्षेत्रका पत्रकारहरू मात्र होइन, बङ्गलादेशबाट समेत प्रतिनिधि आएका थिए ।
गहन छलफलमा उनीहरूले जुन धारणा राखे, त्यो हाम्रो पत्रकारिताका लागि समेत उपयोगी रहे । हुन त नेपाल र भारतका पत्रकारबीच सुरुमा कार्यक्रमको ढाँचा (मोडालिटी) नै फरक थियो । यो बैठकलाई नेपाल र भारतबीचको पत्रकारिताबारे छलफल गर्ने बृहत् सम्मेलनकै रूप दिने सल्लाह भएको थियो । नेपालको लुम्बिनीमा औपचारिक रूपमै सम्मेलनको आयोजना गर्ने र विचार-मन्थन गर्ने सोचसहित पूर्वतयारीसमेत गरिएको थियो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका, पाल्पाको तानसेन नगरपालिका, रामपुर नगरपालिकाका नगरप्रमुखसँगको भेटघाटका साथै पर्यटकीय स्थलहरूमा पुग्ने योजनासमेत बनेको थियो । त्यसका लागि पूर्वतयारीसमेत गरिएको थियो, जुन साकार हुन पाएन । ठीक त्यसैबेला नेपालमा चर्किएको जेन–जी आन्दोलन (भदौ २३ र २४) ले परिस्थिति बदल्यो । जेन–जी आन्दोलनकै बीच भारतका पत्रकारहरूलाई नेपालमा ल्याएर छलफल गराउँदा त्यसले कतै ‘सकारात्मक पहलको नकारात्मक अर्थ’ लगाइने त होइन भन्ने हामीलाई आशङ्का भयो ।
अतः भारतीय पत्रकारलाई नेपाल ल्याउने कार्यक्रम अनौपचारिक ढङ्गले अघि बढाइयो । आईजेयूको दुईदिने बैठकको पहिलो दिन सिद्धार्थनगर (अम्बेडकर सभागार, नौगढ) मै आयोजना गरियो । दोस्रो दिनको बैठक भने स्थानीय होटल ह्वाइट प्यालेसमा राखियो । हुन त लुम्बिनी प्रदेशको बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाल–भारत जर्नालिस्ट समिट गर्ने गरी केही साथीहरूलाई मैले पहिलेदेखि नै सक्रिय गराएको थिएँ । औपचारिक सम्मेलन नहुने भएपछि हामी भारत, उत्तरप्रदेशको नौगढ बैठकतर्फ प्रस्थान गर्‍यौँ । नेपाली टोलीमा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधवप्रसाद अर्याल, युनियनकै लुम्बिनी प्रदेश कोषाध्यक्ष सीपी खनाल, रुपन्देही जिल्ला सभापति कविन्द्र नेपाल र नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी थियौँ ।
म दक्षिण एसियाली पत्रकार महासङ्घको वरिष्ठ उपाध्यक्ष र आईजेयूको कार्यकारिणी बैठकको अध्यक्षता गीतार्थ पाठकले गरेकाले हामीले नेपाल र भारत मात्र नभई दक्षिण एसियाकै पत्रकारिताका बारेमा छलफल गर्ने तय गरेका थियौँ । तैपनि नेपाल र भारतबीचको पत्रकारिताको स्तर, स्ट्यान्डर्ड, हामीबीचको सम्बन्ध, हामीले गर्नुपर्ने कुराहरूबारे खुलस्त छलफल हुन सकेन । जम्मू र कश्मीरमा प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको पेन्सन, पत्रकार सुरक्षा खातिर बलियो कानुन कार्यान्वयन, मान्यता प्राप्त पत्रकारहरूका लागि ५० प्रतिशत भाडा छुट र ज्येष्ठ नागरिकहरूका लागि ४० प्रतिशत छुटका कुराहरू उठेका थिए ।
भारतीय पत्रकारहरूले निवृत्त पत्रकारहरूले सामना गरिरहेको आर्थिक जोखिम कम गर्न देशभर एकरूप पेन्सन नीति लागू गर्न माग गरेका थिए । मासिक २५,००० पेन्सन र कम्तीमा १० वर्षको व्यावसायिक सेवाको मानक योग्यता मापदण्ड प्रस्ताव गरिएको थियो । सबैको भावना समेट्दै अन्ततः बैठकमा ‘आईजेयू’ नेतृत्वले केन्द्रलाई पत्रकार सुरक्षा कानुन बनाउन र पत्रकारहरूका लागि एकरूपतामा आधारित पेन्सन योजना लागू गर्न माग गरेको थियो । प्रेस स्वतन्त्रताका लागि खतरा निम्त्याउने दमनकारी डिजिटल कानुनहरू संशोधन गर्न पनि सो बैठकमा आग्रह गरिएको थियो, जुन हामी नेपाली मिडियाकर्मीको पनि सरोकारको एजेन्डाको विषय हो । यसैगरी, हामीले अघि सारेको मिडिया काउन्सिल विधेयकको विषयलाई पनि सहभागीहरूले सकारात्मक रूपमा लिएका थिए ।

पूर्वमुख्यमन्त्री तथा सांसद पालको ‘प्यार’

आईजेयूको सिद्धार्थनगर बैठकको उद्घाटन सत्रको प्रमुख आतिथ्यता उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री तथा वर्तमान भाजपा सांसद सदस्य जगदम्बिका पालले गरेका थिए । हामीकहाँ तीनमहिने प्रधानमन्त्रीका रूपमा नगेन्द्रप्रसाद रिजाल चिनिए झैँ भारतीय राजनीतिमा पालको पहिचान ‘एकदिने मुख्यमन्त्री’ पनि हो । हिन्दी सिनेमा ‘नायक’ का हिरो अनिल कपुरझैँ सन् १९९८ मा उत्तर प्रदेशका राज्यपाल रोमेश भण्डारीले तत्कालीन मुख्यमन्त्री कल्याण सिंहको सरकार बर्खास्त गरेर पाललाई मुख्यमन्त्री घोषित गरेका थिए । तर, यो निर्णय अवैध भएको भन्दै उच्च अदालतमा मुद्दा हालियो र अदालतको फैसलाका कारण पालले ३१ घण्टाभित्र पद त्याग्नुपरेको थियो; यो जगजाहेर तथ्यका बारेमा यो आलेखमा थप चर्चा नगरौँ ।
पत्रकारहरूको बैठकमा नेपाली पत्रकारहरूप्रति सांसद पालको व्यवहार हार्दिक मात्र थिएन, स्नेही र आत्मीय पनि रह्यो । उनले मञ्चबाटै घोषणा गरेर ‘म नेपाली पत्रकारहरूसँग बेग्लै फोटो खिच्छु’ भनेर फोटो मात्र खिचाएनन्, नेपाली पत्रकारिताबारे चासोसमेत राखेका थिए । ‘नेपाल र भारतको सम्बन्ध अत्यन्त राम्रो होस् भन्ने हामी चाहन्छौँ । दुई देशबीचको सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक, पौराणिक, आत्मिक अनि रोटी-बेटीको सम्बन्ध अटुट रहेको छ । त्यसैले नेपाललाई दुख्दा हामीलाई पनि दुख्छ । अहिले नेपालमा जे जति क्षति भयो, त्यो देखेर हामीलाई पनि दुःख लागेको छ,’ पालले नेपाली पत्रकार टोलीसँग भनेका थिए ।
सांसद पालले बैठकको निर्णयको स्वामित्व (ओनरसिप) समेत लिए । उनले भने, ‘मेरो प्रदेशमा आएर तपाईंहरूले जुन कार्यक्रम गर्नुभयो, अब तपाईंहरूको मुद्दा मेरो मुद्दा हो, जुन मुद्दा म संसद्मा उठाउनेछु ।’ भाजपाका ती वरिष्ठ नेताले एउटा हार्दिक संस्कार पनि देखाएका थिए । हामीकहाँ कुनै ‘सत्तरी प्लस’ का नेताहरू कार्यक्रममा आएपछि सरासर मञ्चमा गएर गजक्क परेर बस्ने चलन छ । भाजपा सांसद पालको छेउछाउ पनि स्वचालित हतियार बोकेका सुरक्षाकर्मी मात्र थिएनन्, गाडीहरूको लस्करसमेत थियो । तर, कार्यक्रम हलभित्र छिरेपछि पालले कुर्सीमा बसेका सबैसँग हात मिलाए ।
नमस्कार गरे, हरेक पत्रकारको नाम सोधे । बरु उनले मञ्चमा बस्नेहरूलाई समयको ख्याल गर्न दबाब दिए, छोटो बोल्न भने, तर भेटघाट र अन्तर्घुलनलाई बढावा दिए । हरेक सहभागीलाई व्यक्तिगत रूपमै भेटे । म मञ्चमा थिएँ, मेरा साथीहरू अडियन्समा । ‘नेपालीहरू त माथि अगाडि बस्नुपर्छ’ भनेर उनले गरेको सम्मानबाट हामी प्रभावित भयौँ । बैठकमा ‘आईजेयू’ का अध्यक्ष गीतार्थ पाठकले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र सङ्घलाई बलियो बनाउन नयाँ सङ्कल्पका लागि आह्वान गरेको प्रसङ्ग यहाँ उल्लेखनीय छ ।
अध्यक्षको दृढता थियो, ‘पक्कै पनि भारतमा पत्रकारिता घेराबन्दीमा परिरहेको छ । यद्यपि, पत्रकारहरूलाई चुप लगाउन सकिँदैन । सत्य, लोकतन्त्र र न्यायप्रतिको हाम्रो प्रतिबद्धता हामीले सामना गर्ने दबाबभन्दा बलियो हुनुपर्छ । पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सङ्घलाई बलियो बनाउन मात्र होइन, समग्र पत्रकारहरूको आवाज र लोकतन्त्रको विवेक बन्ने हाम्रो कोसिस जारी रहनेछ ।’ ‘आईजेयू’ की महासचिव सविनाको अभिव्यक्ति पनि घतलाग्दो थियो । उनले भनिन्, ‘हामीले भारतको मात्र होइन, विश्वभरि रहेका पत्रकारहरूको पक्षमा आवाज उठाउनुपर्छ । खासगरी विश्वमा भइरहेका युद्ध र पत्रकारहरूविरुद्ध भइरहेका अत्याचारविरुद्ध हामी सक्रिय हुनुपर्छ । भारतमा सत्तारूढ दल र सरकारको आलोचना गर्ने पत्रकारहरूमाथि भइरहेको बढ्दो आक्रमण पनि सह्य हुँदैन ।’

‘फरार कैदी’ को खोजी

आईजेयूको बैठकमा सार्थक छलफल गरेर बेलुका खाना खान होटलमा जम्मा भएकै समयमा उत्तरप्रदेश (यूपी) का अध्यक्ष शिवकुमार गौडले एकान्तमा बोलाएर भने, ‘यहाँ एउटा समस्या परेको छ । सुरक्षाकर्मीले चेतावनी दिएका छन्, तपाईंहरूले आज यो होटलमा बस्न नमिल्ने भयो । तपाईंहरूलाई विकास नियोगको गेस्ट हाउसमा राख्छौँ ।’
‘आयोजकलाई समस्या हुन्छ भने जहाँ पनि बस्न तयार छौँ’, मैले भनेँ । भारतमा पर्यटक राख्न पनि होटलले लाइसेन्स लिनुपर्छ । भर्खर निर्माणाधीन अवस्थामै रहेको त्यो ह्वाइट प्यालेस नामको होटलले पर्यटक राख्ने लाइसेन्स लिएको रहेनछ । प्रहरीले होटलवालासँग ‘नेपालीहरू बसेका त छैनन् ?’ भनेर सोधेका रहेछन् ।
नेपाली बसेको भनेपछि हामी सबैको सूची प्रहरीलाई बुझाइएको रहेछ । खास कारण बुझ्दै जाँदा के खुल्यो भने नेपालको जेन–जी आन्दोलनका क्रममा नख्खु लगायत मुलुकभरका कारागारबाट भागेका कैदीहरूलाई रेकी गर्न सायद नेपाल सरकारले भारत सरकारलाई आग्रह गरेको रहेछ । हामी पनि कतै ‘फरार कैदी’ त होइनौँ ? त्यस आधारमा सोधखोज गरिएको रहेछ । हामी गएको दिनमा त केही भएन, तर भोलिपल्ट प्रहरी आएर होटलमा केरकार, खोजीनीति गरेछ । हामीलाई त केही भनेनन्, तर होटल साहुसँग बुझबुझारथ गरेका रहेछन् । जे होस्, नेपाल र भारतबीच अप्ठेरा-सप्ठेरामा सहयोग गर्ने खालको यत्तिको ‘म्युचुअल अन्डरस्ट्यान्डिङ’ र गाढा सम्बन्ध रहेछ भन्ने लाग्यो ।
राति ११ बजेतिर हामी गेस्ट हाउसमा बस्न गयौँ । नेपालमा पहिला-पहिला गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग विभिन्न जिल्ला भ्रमणमा जाँदा राष्ट्र बैङ्कको गेस्ट हाउसमा बसेको सम्झना भयो । राष्ट्र बैङ्कको गेस्ट हाउस अपेक्षाकृत राम्रो मानिन्थ्यो । हामीलाई सिद्धार्थनगरमा राखिएको विकास नियोगको गेस्ट हाउस त झन् राष्ट्र बैङ्कको भन्दा धेरै राम्रो थियो । हामी बसेको कक्षमा (भीभीआईपी) लेखिएको थियो । आरामसँग बसेपछि भोलिपल्ट पुनः बैठकमा सहभागिता जनाइयो ।

लुम्बिनीमा सार्थक भेला

केन्द्रीय समितिको बैठक समापनपछि हामीले भारतका विभिन्न प्रदेशबाट सहभागी केही भारतीय पत्रकारलाई नेपालको बुद्ध जन्मस्थल लुम्बिनी ल्यायौँ, जहाँ नेपाली पत्रकारहरूले खादा र पाल्पाली ढाकाटोपीले स्वागत गर्दा भारतीय पत्रकारहरू निकै प्रफुल्लित थिए । नेपाल र भारतको पत्रकारिताका समस्याबारे संयुक्त भावका साथ छलफल भयो । दुवै देशमा प्रेस काउन्सिल बलियो हुनुपर्छ भन्ने हाम्रो सोच मिल्यो; यो राज्यले ठाडो हस्तक्षेप गर्ने खालको नभई स्वायत्त संस्थाको अर्धन्यायिक संस्था बनोस्, जसले पीडक र पीडित दुवैलाई समन्वय, मिलापत्र, सहजीकरण गरोस् । तर, काउन्सिलले न्याय दिने गरी कैद तोक्ने, दण्ड-सजाय गर्ने काम नगरोस् भन्ने विषयमा गहन छलफल भयो । प्रेस र पत्रकारिताका मुद्दा अदालतमै चल्नुपर्छ भन्नेमा सबैको एकमत रह्यो ।
यसैगरी, नेपाल र भारतका पत्रकारहरूबीच अध्ययन भ्रमण आदान-प्रदानको सल्लाह पनि भयो । हामी सबै उत्साहित भयौँ । भारतीय पत्रकार मित्रहरूमध्ये धेरैजसो नेपाल घुम्न लालायीत थिए । त्यसैले हामीले त्यसतर्फ कदम चाल्ने सोच बनाइरहेका पनि छौँ । नेपाल–भारतबीच पर्यटन प्रवर्द्धनका विषयमा छलफल भयो । लुम्बिनी प्रदेशका साथीहरूले उठाएको एउटा कुरा यहाँनेर मननीय छ । म आफू गण्डकी प्रदेशको भएकाले त्रिवेणी, देवघाट, राम्दी, रिडी, शालिग्राम हुँदै मुक्तिनाथको एउटा रुटको कुरा गरिरहेको थिएँ ।
लुम्बिनी प्रदेशका साथीहरूले लुम्बिनी आएका भारतीय पर्यटकलाई लुम्बिनीबाट सिद्धबाबा धाम, रिडी हुँदै मुक्तिनाथ लैजाने रुट प्रस्ताव गरे । अन्ततः दुवै रुट उचित हुने ठहर भयो । यसरी नेपाली पत्रकारिताकै इतिहासमा भारतीय पत्रकार सङ्घको केन्द्रीय कार्यकारिणी बैठक चेयर गर्ने अवसर पाइयो । त्यो गर्वको कुरा त थियो नै, त्योभन्दा ठूलो कुरा समग्र दक्षिण एसियाकै पत्रकारिता क्षेत्रको अवस्थालाई बुझेर पत्रकारहरूका साझा समस्यामाथि मिलेर अघि बढ्न समेत प्रेरणा मिल्यो । आगामी दिनमा पत्रकारका हरेक मुद्दामा नेपाल र भारतका पत्रकारहरूबीच सहकार्य हुने सार्थक वातावरण निर्माण भयो ।

धन्यवाद !