नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसरमा बुटवलमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल तरुण दल रुपन्देही क्षेत्र नं. २ र बुटवल उपमहानगर समितिको संयुक्त आयोजनामा लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रम, बुटवल–१५ उजेलापुरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल क्षेत्रीय सभापति हसन्त लामाले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीका सभापति प्रजापाल गिरीले समाजमा सामाजिक, सांस्कृतिक र मानसिक रूपमा पछाडि परेका व्यक्तिहरूलाई सहारा प्रदान गर्नका लागि तरुण दलको स्थापना भएको बताउनुभयो । उहाँले कसैले पनि घरबास, लत्ताकपडा र खान नपाएर भोकै बस्नु पर्ने अवस्थाकाे अन्त्य हुनुपर्ने बताउनुभयो ।
उक्त अवसरमा लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रमका अध्यक्ष लिलाराम रोका मगर, नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशी, नेपाली काँग्रेस महासमिति सदस्य महेश थैव, महाधिवेशन प्रतिनिधि गोपाल पाण्डे, जिल्ला सदस्य गोविन्द खनाल, जिल्ला कोषाध्यक्ष बासु बस्याल र नेपाली काँग्रेस बुटवल नगर समितिका उपसभापति ज्योति भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत नेपाल तरुण दल बुटवल नगर सभापति सुजन पुनले गर्नुभएको थियो भने सञ्चालन विष्णुमाया गुरुङले गर्नुभएको थियो ।